कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हरेक पार्टीभित्रै प्रतिपक्षी

उम्मेदवार छनोटमा सही व्यवस्थापन गर्न नसक्दा जिल्लाका ठूला दलभित्र नेता, कार्यकर्ताबीच असन्तुष्टिका चाङ । जनभावना अनुसार उम्मेदवार नउठाएमा जुनसुकै दललाई गाह्रो
आनन्द गौतम

ताप्लेजुङ — सरकारले प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेपछि कांग्रेस सभापति गजेन्द्रप्रसाद तुम्याहाङ समूहका सबै पदाधिकारी लिएर काठमाडौं पुगे । नेता भेट्न गएका उनको मुख्य उद्देश्य आफूइतर समूहकालाई गरिएको भनिएको कारबाहीको पुष्टि र कार्यान्वयन गराउनु हो । राजधानीमा उनले सभापति शेरबहादुर देउवादेखि सिट बाँडफाँट समितिका संयोजक कृष्ण सिटौलासम्मलाई भेटे ।

हरेक पार्टीभित्रै प्रतिपक्षी

स्थानीय तहको निर्वाचनमा संस्थापनले इतर समूहलाई बेवास्ता गर्दै एकलौटी टिकट वितरण गरेपछि जिल्लामा विवाद बढ्यो । आफ्ना समूहका नेताले पार्टी छोड्ने भएपछि निवर्तमान सभापति लीलादेवी बोखिम, केशवप्रसाद दाहाल, सभापति पदका प्रतिस्पर्धी छविरमण गुरुङलगायतले पत्रकार सम्मेलन नै गरे । उनीहरूले पार्टीभित्रै बसेर अन्तरसंघर्ष गर्न नेता, कार्यकर्तालाई आग्रह गरे ।

एकलौटी पेलेर जाने योजना नबनाउन संस्थापन समूहलाई अनुरोध पनि गरे । तर पनि निवर्तमान जिल्ला उपसभापति मणि लाबुङ, फक्ताङलुङ गाउँपालिका सभापति भद्र बोखिमलगायतले कांग्रेस छोडेर एमालेमा लागे । त्यही सम्मेलनलाई आधार बनाएर तुम्याहाङले बोखिम, दाहाललगायतका नेतालाई स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने रणनीति बनाएका छन् । त्यसलाई प्रदेश र केन्द्रबाट अनुमोदन गराउने र उनीहरूलाई यो चुनावमा छेक्ने संस्थापन समूहको मुख्य ध्येय छ ।

एमालेमा पनि दुई समूह छ । जिल्ला इन्चार्ज तिलकुमार मेन्याङ्वोले वर्तमान प्रतिनिधिसभा सांसद योगेश भट्टराईलाई छेकेर आफूले टिकट ल्याउन सक्ने प्रयासमा दौडधुप गरिरहेका छन् । साउन २५ मा जिल्लामा प्रशिक्षण कार्यक्रम हुने भएपछि फर्किएका उनी लामो समय काठमाडौं बसेका थिए । अध्यक्ष भूपेन्द्र थेबे र उनीसँग प्रतिस्पर्धा गरेका निवर्तमान अध्यक्ष बलबहादुर साम्सोहाङले नेतृत्व गरेका दुई समूहबीचको अन्तरसम्बन्ध मिलेको छैन ।

स्थानीय तहको निर्वाचनमा सर्वसम्मत भएका बाहेकका पालिकामा टिकट वितरणमा थेबे समूह हाबी भएको थियो । तर २०७४ को निर्वाचनमा क्लिन स्विप गरेको मैवाखोला गुमाउनुपर्दा र पहिलाको तुलनामा पालिकाको परिणाम घटेपछि साम्सोहाङ समूहले भूपेन्द्र समूहलाई कमजोर ठान्दै आएको छ । मेन्याङवो यही समूहमा छन् ।

माओवादीभित्रको विवाद पनि उस्तै छ । आन्तरिक विवादकै कारण आफ्नो भागमा परेको जिल्ला समन्वय समिति (जिसस) माओवादीले गुमायो । प्रदेश कमिटीले मिङमाडन्डु शेर्पालाई जिसस प्रमुखको उम्मेदवार बनाउने निर्णय गरे पनि गंगा शंकरले स्थानीय तह चुनावमा दिइएको पार्टीको सिफारिस प्रयोग गरी डन्डुभन्दा अगाडि मनोनयन दर्ता गराए ।

गठबन्धनले उनलाई अस्वीकार्दा नेकपा एसका छिरिङ लामा प्रमुखमा निर्वाचित भए । यो पार्टीमा अहिले पनि एकअर्कामा पानी बाराबारको अवस्था छ । एक नगरपालिका र आठ गाउँपालिका रहेको ताप्लेजुङमा कांग्रेसले नगरपालिकासहित चार प्रमुख र दुई उपाध्यक्ष गरी ६, माओवादीले दुई अध्यक्ष र तीन उपाध्यक्ष गरी ५ र नेकपा एसले एक उपाध्यक्ष गरी गठबन्धनले ६ सिटमा प्रमुख र ६ सिटमा उपप्रमुखमा जितेको छ ।

एमालेले अध्यक्ष र उपाध्यक्ष गरी ६ सिटमा जितेको छ । प्रदेशमा दुई र प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको जिल्लामा उम्मेदवारका आकांक्षी अधिक छन् । गठबन्धनका तर्फबाट कांग्रेस र माओवादीबीच सिट बाँडफाँड हुने नेताहरू बताउँछन् । ‘हामीले आधाआधा हुनुपर्छ भनेका छौं,’ माओवादी इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री पराग भन्छन्, ‘संघ या प्रदेशमध्ये केमा पर्छ ।’ कांग्रेसको संघमा परे प्रदेशमा दुईमध्ये एक कांग्रेस र एक माओवादीको हुने जिल्ला नेताको बुझाइ छ ।

माओवादी छोडेर प्रवेश गरेका टंक आङवोहाङ समेतलाई व्यवस्थापन गर्नुपर्ने भएकाले एमालेलाई पनि उम्मेदवार ब्यवस्थापन चुनौतीपूर्ण रहेको स्वयं दलका नेता बताउँछन् । पार्टीका अग्रज, पदाधिकारी र युवा पुस्ताका समेत आइसकेकाले सबैलाई सम्बोधन गर्ने गरिएको मापदण्ड बन्ने एमाले सचिवालय सदस्य सन्तोष प्रसाईं बताउँछन् । तर सबैलाई आफ्नो पार्टी व्यवस्थापन मुख्य चुनौती छ ।

पाथीभरा बहुमुखी क्याम्पसका सहप्राध्यापक सजन पौडेल हरेक पार्टीभित्रै प्रतिपक्षीजस्तो रहेको बताउँछन् । ‘स्थानीय तहको निर्वाचनमा उम्मेदवार धेरै थिए, कसैले असहयोग वा कुनै गतिविधि गरे तत्काल खबरदारी हुन्थ्यो,’ पौडेलले भने, ‘अहिले सीमित उम्मेदवार हुँदा र नेताहरूमा पार्टीभित्रको सन्तुष्टि नभए परिणाम वडाध्यक्षको भोटलाई गनेजस्तो हुँदैन ।’ मतदाताको पछिल्लो गतिविधि हेर्दा पार्टीको नियन्त्रण, निगरानीमा मतदाता नरहेको र पहिलाजस्तो नेताले भनेको मान्नुपर्छ भन्ने भावना नदेखिएको पौडेल बताउँछन् । पालिकाबाट निर्वाचित अध्यक्ष, उपाध्यक्षजस्तो जिम्मेवार पदका ब्यक्तिले समेत समन्वय समितिको मतदानमा फ्लोर क्रस गरेकाले हामीले चाहिँ किन मान्ने भन्ने भावना मतदातामा भएको बुझाइ पौडेलमा छ । समन्वय समितिको मतदानमा गठबन्धनका दुई जनाले एमालेका उम्मेदवारलाई भोट दिएका थिए ।

‘कतिपय त पार्टीको निर्देशन मान्नुपर्छ भन्नेमै हुनुहुन्छ,’ एमालेका प्रसाईं भन्छन्, ‘अब जनभावनाअनुसारको उम्मेदवार दिन नसके जुनसुकै दललाई गाह्रो अवस्था छ ।’ स्थानीय तहको निर्वाचनमा स्वतन्त्र, पार्टीमा असन्तुष्टिले एकबाट अर्को पार्टीमा गएर उम्मेदवार बनेकाले समेत जितेकाले मतदाताको भावना बिलकुल फरक रहेको पौडेल बताउँछन् ।

नेताले चाहेकोभन्दा जनताले चाहेको उम्मेदवार बनाउनुपर्ने कांग्रेसका युवापुस्ताका कार्यकर्ताको भनाइ छ । स्थानीय नरेन्द्र कटुवाल जनभावनालाई बुझ्न नसके गठबन्धन भनेर मात्रै नहुने बताउँछन् । जिल्ला जिल्लामा गुटको राजनीति मौलाएको र एकले अर्को समूहलाई पाखा लगाउन खोजेकाले हरेक पार्टीमा समस्या रहेको उनको बुझाइ छ ।

पौडेलले ठट्टा गर्दै भने, ‘सन्तुष्ट/सन्तुष्टलाई एकातिर र असन्तुष्ट/असन्तुष्टलाई एकातिर पारेर पार्टी बनाउनुपर्नेजस्तो छ ।’ पार्टीप्रति निराशा भए पनि भोट हाल्ने र हराउने–जिताउनेमा मतदाता उत्साही छन् । सिदिङवा गाउँपालिका–५, साब्लाखुका उदय खुदाङले पार्टीको निर्देशन मान्नु धिक्कार भइसकेको बताउँछन् । ‘जोस, जाँगर र क्षमता भएको व्यक्तिले निकै काम गर्दो रहेछ,’ उनले भने, ‘अब पार्टी रुँघेका र कार्यकर्तामा नभिजेकालाई पुरस्कृत गरेर हुँदैन ।’

निर्वाचन कार्यालयको तथ्यांकअनुसार स्थानीय तहको निर्वाचनपछिको अवधिमा जिल्लामा एक हजार मतदाता थपिएका छन । ५ सय ४३ निर्वाचन कार्यालयमा रुजु भइसकेका मतदाता हुन् । बाँकी जिल्ला प्रशासन कार्यालयमा नागरिकता, राष्ट्रिय परिचयपत्र बनाउन आएकाले नामावलीमा नाम दर्ता गराएका हुन् । जिल्लामा मतदाताको संख्या ८० हजार पुगेको छ ।

प्रकाशित : श्रावण २८, २०७९ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?