३४ वर्षपछि ब्युँत्याइयो हाट- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३४ वर्षपछि ब्युँत्याइयो हाट

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको सबैभन्दा पुरानो बजार जोरसालमा ३४ वर्ष अगाडि बन्द भएको औंशी पूर्णिमा हाट पुनः सुरु गरिएको छ ।

घरेलु र कृषि उपजसहित रैथाने उत्पादनहरुको किनबेच हुने उक्त हाट स्थानीय निकाय र व्यवसायीहरुको अगुवाइमा सञ्चालन गरिएको हो ।

पाँचथरलाई यातायात सञ्जालले नजोडुन्जेलसम्म पाँचथरको फिदिम, भारपा, चोकमागु, लुम्फावुङ र नवमीडाँडासहित तेह्रथुमको आठराइ र ताप्लेजुङका अधिकांश स्थानका बासिन्दा घरेलु र कृषि उपज सँगै लत्ता कपडा र उपभोग्य वस्तु किनबेच गर्न यो हाटमा आउने गर्थे ।

३४ वर्ष अगाडिसम्म पाक्षिक रुपमा दिनभर लाग्दै आएको यो हाट स्थानीयहरूबीच भएको बेमेलका कारण २०४५ सालपछि बन्द भएको स्थानीय अग्रज काजिमान श्रेष्ठ बताँउछन् ।

यो हाट बजार अब तिथिका आधारमा प्रत्येक महिनाको औंशी र पुर्णिमामा लगाइने वडाध्यक्ष उपेन्द्र लावतीले जानकारी दिए ।

हाट बजार उद्घाटनका क्रममा स्थानीय उपजका स्टलसँगै स्थानीय संस्कृतिमा आधारित झाँकी र लोक नृत्यहरु प्रदर्शन गरिएको थियो । उद्घाटनका अवसरमा स्थानीय कृषि उपजसँगै डोको नाम्लो, डालो, लाहा, फलफूल र कन्दमुल बिक्रीका लागि राखिएका थिए ।

हाट बजारको उद्घाटन गर्दै फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले बजारमा ल्याइने कृषि र घरेलु उपजमा कुनै किसिमको कर नलिने प्रतिवद्धता जनाए । नगरपालिकाले यस वर्षदेखि नगर क्षेत्रमा लाग्ने सबैखाले हाट बजारमा बिक्री गरिने कृषि र घरेलु उपजमा कर लिन छाडेको छ ।

प्रकाशित : श्रावण २७, २०७९ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्

मनाइयो संस्कृत दिवस

कान्तिपुर संवाददाता

काठमाडौँ — विश्वको सबैभन्दा समृद्ध संस्कृत साहित्यलाई नेपाली भाषामा अनुवादसहित यसको विस्तारलाई प्राथमिकता दिनुपर्ने विज्ञले बताएका छन् । नेपाल शिक्षण परिषद्, पद्मकन्या क्याम्पस र स्वामि विवेकानन्द सांस्कृतिक केन्द्रको संयुक्त आयोजनामा ५१औं संस्कृत दिवसमा उक्त विचार व्यक्त गरेका हुन् । 

संस्कृतका विद्वान योगी नरहरिनाथ, नयराज पन्तलगायतले यो दिवस मनाउने परम्पराको थालनी गरेका थिए । शताब्दीऔंदेखि विकसित संस्कृत साहित्यको अध्ययन, अध्यापन, अनुसन्धान, प्रकाशन कार्यलाई निरन्तर राख्न राज्यको पहल आवश्यक रहेको समेत बताए ।

भारतीय दूतावासअन्तर्गत स्वामि विवेकानन्द सांस्कृतिक केन्द्रकी निर्देशक आशावरी वापटले संस्कृतलाई जीवित राख्न संस्कृत साहित्यको पठनपाठन महत्वपूर्ण हुने बताइन् । ‘मुलुकका जुनसुकै भाषाको संरक्षण र व्यवस्थापनका निम्ति सकारात्मक सोंचको जरुरी हुन्छ,’ निर्देशक वापटले भनिन्, ‘विश्व साहित्यमा सर्वोत्कृष्ट संस्कृत साहित्यलाई पठनपाठन महत्वपूर्ण छ ।’

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष रामकृष्ण तिमल्सेनाले संस्कृत साहित्य नेपाली समाजबाट टुट्न दिन नहुने बताए । ‘संस्कृतलाई कर्मकाण्डमा सीमित गरियो,’ संस्कृत अनुवाद र पुन:रावृत्तिले मात्र नहुने उल्लेख गर्दै उनले भने, ‘खस–आर्य बाहेककालाई संस्कृत ज्ञान लिनबाट बन्चित गरिएकाले यसको लोकप्रियतामाथि आँच आएको हो । संस्कृतमा भएका उत्कृष्ट ज्ञानलाई पहिल्याउन जरुरी छ । नयाँ साहित्य सिर्जना हुन जरुरी छ ।’

प्राध्यापक काशीनाथ न्यौपानेले संस्कृत लोकभाषा, जनभाषाका रूपमा समृद्ध रहेको विश्वमा यसको महत्व अतुलनीय रहेको उल्लेख गरे । ‘पूर्वी दर्शनलाई लिएर युरोप, अमेरिकाका विश्वविद्यालयमा संस्कृतको अध्ययन अनुसन्धान हुन्छ,’ उनले भने, ‘तर हाम्रो मुलुकले प्राथमिकता दिन नसक्नु कमजोरी हो ।’

वासुदेवकृष्ण शास्त्रीले संस्कृत अध्ययनमा पुन:जागरण ल्याउन अब ‘संस्कृत आन्दोलन’ सुरु हुनुपर्ने बताए । त्यसैगरी पद्मकन्या क्याम्पस संस्कृत विभागीय प्रमुख ज्ञाननिष्ठ ज्ञवाली, संस्कृत अध्ययनरत जापानी अध्यता योसिको, पोल्याण्डका छात्र टम हेनरीलगायतले संस्कृत शिक्षा र श्लोकको चर्चा गरेका थिए ।

प्रकाशित : श्रावण २७, २०७९ १८:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×