२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

धरानमा मेयर साम्पाङविरुद्ध प्रदर्शन, कार्यालय तोडफोड गर्ने पक्राउ

पूर्वउपप्रमुख मन्जु भण्डारीले पनि साम्पाङविरूद्ध उजुरी दिएकी छन् ।
प्रदीप मेन्याङ्बो

सुनसरी — धरानस्थित बराह ऋण तथा सहकारी संस्थाका पीडितहरूले धरान उपमहनगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो गुनासो बेवास्ता गरेको भन्दै उनीविरुद्ध प्रदर्शन गरेका छन् ।

धरानमा मेयर साम्पाङविरुद्ध प्रदर्शन, कार्यालय तोडफोड गर्ने पक्राउ

धरानका १३ हजार उपभोक्ताको निक्षेप फिर्ता गर्न नसकेर समस्यामा परेको बराह ऋण तथा सहकारी संस्थाले आफूमाथि ठगेको भन्दै मेयर साम्पाङ समक्ष पुगेका पीडितहरूले मेयरबाट आश्वासन पनि नपाउँदा रुष्ट बनेका थिए ।

यससँगै उनीहरूले उपमहानगरको कार्यालयमै पुगेर ‘हर्क साम्पाङ मुर्दावाद’ नारा लगाउन थालेका हुन् । साम्पाङका प्रसंसकहरूले उनलाई धरानको ‘मुक्ति दाता’ को रुपमा व्याख्या गरिरहेका बेला अचानक विरोध प्रदर्शन हुँदा साम्पाङलाई पनि केही दिनयता दबाब बढेको छ । यस क्रममा प्रदर्शनकारीहरूले साम्पाङको कार्यालयको सीसा पनि तोडफोड गरेका छन् ।

पूर्वउपप्रमुख भण्डारीसँग बढ्दै तिक्तता

पीडितहरूको आन्दोलनसँगै साम्पाङ र पूर्वउपप्रमुख मन्जु भण्डारीबीचको विवादले थप उग्र रुप लिँदै गएको छ । पीडितहरूको आन्दोलनको नेतृत्व गर्ने खगेन्द्र नेपाली पूर्वउपप्रधुम भण्डारीको चुनावी प्रचार अभियन्ता पनि थिए ।

उनै नेपालीले नेतृत्व गरेको आन्दोलनमा सहभागीहरूले साम्पाङको झ्यालको सीसा नै तोडपोड गरेपछि मेयर साम्पाङले नेपालीविरुद्ध गत सोमबार किटानी जाहेरी दिएका थिए । सोही आधारमा प्रहरीले नेपाली र प्रदीप बास्तोलालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानको टोलीले नेपालीलाई भानुचोकस्थित बसपार्क क्षेत्रबाट आइतबार पक्राउ गरेको हो।

यस्तैमा साम्पाङ र भण्डारीबीच सामाजिक सञ्जालमार्फत् पनि आरोप प्रत्यारोपको क्रम जारी छ । यसै क्रममा भण्डारीले पनि साम्पाङविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।

साम्पाङसँग विवाद चर्किँदै गर्दा नेकपा एमालेकी केन्द्रीय कमिटी सदस्यसमेत रहेकी मञ्जु भण्डारी सुवेदीले साम्पाङविरुद्ध साइबर ब्युरो भोटाहिटी, काठमाडौंमा साइबर अपराध सम्बन्धी उजुरी दर्ता गरेकी हुन्।

उनले धरानका नगरप्रमुख हर्क साम्पाङले अनलाइन एप्लिकेसनको प्रयोग गरेर फेक आइडी खोली त्यसको तस्बिर सिर्जना गरेर जातीय र साम्प्रदायिक हिंसा भड्काउने , जातीय उत्तेजनात्मक अभिव्यक्ति सहितको फोटो सामग्री उत्पादन गरी चरित्र हत्या तथा कुप्रचार गरेको भन्दै उजुरी दिइएको बताइन् ।

साम्पाङको 'हर्क साम्पाङ अ रिभोलुसन' नामक फेसबुक पेजबाट यस्तो सामग्री सार्वजनिक गरिएकोले तुरुन्त कारबाहीको माग गर्दै साइबर अपराध सम्बन्धी उजुरी दिइएको भण्डारीले बताइन् ।

यसैबीच प्रहरीका अनुसार साम्पाङको कार्यालयमा तोडफोड गर्नेहरूविरुद्ध सार्वजनिक शान्ति सुरक्षाविरुद्धको जाहेरी परेपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी समेत ल्याएको थियो ।

बास्तोलालाई ७ दिनको म्याद थपसमेत भएर अनुसन्धान भइरहेको छ । संयोजक नेपाली भने सम्पर्कविहीन थिए । पक्राउ परेका नेपालीलाई म्याद थप अनुमतिको लागि इनरुवास्थित जिल्ला अदालतमा पठाइसकेको डिएसपी बुद्ध श्रेष्ठले बताए । साउन १५ गते बराह पीडित सङ्घर्ष समितिले धरान उपमहानगरपालिका घेराउ गर्नेक्रममा प्रमुख साम्पाङको कार्यकक्षको झ्यालको सिसा तोडफोड गरेका थिए ।

बराहको अपिल

बराह ग्रुप अफ कम्पनी र बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भने संयुक्त अपिल जारी गर्दै आगामी भदौ १६ सम्ममा समस्या समाधान गर्ने दाबी गरेको छ । यसअघि आफ्नो १२ औं वार्षिक साधारण सभामा ३ करोड खुद मुनाफा गरेको भनेर हिसाब देखाएको थियो ।

बराह ग्रुप आफ कम्पनी अन्तर्गतको बराह सहकारी हो । धरानमा बराहले बराह इण्डिस्ट्रिज प्रालि अन्तर्गत भानुचोकमा र धनकुटे रोडमा करोडौंको सपिङ कम्पलेक्स छ ।

प्रकाशित : श्रावण २२, २०७९ १९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?