बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी- प्रदेश १ - कान्तिपुर समाचार

बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नहुँदा बाटोमै सुत्केरी

कुम्भराज राई

ओखलढुंगा — सुनकोसी गाउँपालिका ९ कटुन्जे स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा नर्सिङ स्टाफ नहुँदा एक महिलाले बाटोमै बच्चा जन्माउनु परेको छ । सोही वडाकी लालीमाया खत्री रापचाले आइतबार घरदेखि स्वास्थ्यचौकी ल्याउने क्रममा बाटोमै बच्चा जन्माएकी हुन् ।

उनीहरूले केही दिनअघिदेखि स्वास्थ्य चौकीमा नर्सिङ स्टाफ भए/नभएको बारेमा सोधेका थिए । स्वास्थ्य चौकी प्रमुख भानुभक्त बास्तोलाले नर्सिङ स्टाफ नभएकोले अस्पताल लैजान सुझाव दिएका थिए ।

आइतबार सुत्केरी ब्यथा लागेपछि स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै उनले छोरा जन्माएकी हुन् । सुत्केरी गराउने काममा स्वास्थ्य स्वयंसेविका मुना श्रेष्ठले सहयोग गरिन् ।

स्वास्थ्य चौकी प्रमुख भानुभक्त बास्तोलाले दुई जना नर्सिङ स्टाफको दरबन्दी भएकोमा एक जना सुत्केरी विदामा घर बसेको र अर्को एक जनालाई गाउँपालिकाले काजमा सरुवा गरी गाउँपालिका केन्द्र रहेको स्थान मुलखर्क स्वास्थ्य चौकीमा पठाएको बताए ।

‘उहाँहरूले बाटोमै सुत्केरी गराएर आमा र बच्चा लिएर स्वास्थ्य चौकी ल्याउनु भएको छ,’ प्रमुख बास्तोलाले भने, ‘अहिले बच्चा र आमा दुवैको स्वास्थ्य सामान्य छ । हामीले सक्ने व्यवस्थापन गरिदिएका छौं । नर्सिङ स्टाफ नहुँदा समस्या चाहिँ भएकै हो ।’

सोही वडाका अध्यक्ष हितराज कार्कीले स्वास्थ्य व्यवस्थापन समिति मार्फत निर्णय गरेरै दरबन्दी अनुसारको नर्सिङ स्टाफ पूर्ति गर्न माग गरे पनि पालिकाले उल्टै काजमा लगेको बताए ।

स्थानीयले भने यसबाट परेको असुविधा र असरप्रति पालिका जिम्मेवार बन्नुपर्ने बताउँदै आएका छन् । नर्सिङ स्टाफ विहीन बनाएर कुनै पनि स्वास्थ्य चौकी राख्दा अकालमा सुत्केरी र अन्य बिरामीको ज्यान जानसक्ने भन्दै स्थानीय अगुवाहरूले गुनासो गरेका छन् । गरिबी र चेतनाको कमीले गर्दा महिलाहरूलाई अझै घरमै सुत्केरी गराउने क्रम रोकिएको छैन ।

प्रकाशित : श्रावण २२, २०७९ १३:४४
प्रतिक्रिया
पठाउनुहोस्

कोरोनासँगै डेंगुको संक्रमण पनि उकालो लाग्दै

डा‍‌‍‌. शेरबहादुर पुन

काठमाडौँ — टाउको र शरीरका मांशपेशीका दुख्ने, वाकवाक लाग्ने/बान्ता हुने, आँखाको गेडी दुख्ने समस्या देखिएसँगै एक बिरामीले मसँग परामर्श गरेर परीक्षण गर्दा डेंगु पुष्टि भयो । लक्षण तथा मौसमको आधारमा डेंगु पुष्टि हुनसक्ने अनुमानित नै थियो तर पुष्टि हुन परीक्षण अनिवार्य हुन्छ ।

माथि उल्लेखित लक्षणहरू भएकाहरुले परामर्श लिनेको संख्या दिनानुदिन बढ्दै गैरहेको छ। पछिल्लो एक महिनामा डेंगु संक्रमितको संख्या ह्वात्तै बढेको तथ्यांकले देखाउँछ । पछिल्लो केहि दिनयता कोरोना संक्रमितको बढिरहेको ग्राफमा डेंगु पनि सामेल भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) का अनुसार ५९ जिल्लामा ६०४ वटा डेंगुका केसहरू भेटिएका छन् । जनवरीदेखि अगस्ट ४ गतेसम्मको तथ्यांकअनुसार सबैभन्दा बढी केस रुपन्देहीमा पाइएको छ । रुपन्देहीमा १ सय २३ जना डेंगुका बिरामीहरू पाइएको छ भने धादिङमा ५५, संखुवासभामा ३२, बर्दियामा २१ जना बिरामी देखिएका छन् । गत साल यही अवधिमा ५ सयको हाराहारीमा डेंगु संक्रमण पुष्टि भएका थिए । यसपटक सबैभन्दा बढी डेंगुका बिरामीहरू गएको ३० दिनयता देखिएका छन् । यो महिनामा ३९८ जनामा डेंगु पुष्टि भएको छ ।

सन् २००४ मा डेंगु नेपालमा पहिलो पटक पुष्टि भएको थियो भने सन् २०१९ मा नेपालको इतिहासमै सबैभन्दा लामो अवधि देखिएको, धेरै जिल्लाहरुमा फैलिएर र हजारौं मानिस संक्रमित भएका थिए । डेंगु नेपालमा सामान्यतया मनसुन र अझ विशेषत: पोस्ट मनसुनमा देखिने भए पनि सन् २०१९ मा भने प्रि-मनसुनमा नै देखिएको थियो ।

त्यसबेला काठमाडौंमा सबैभन्दा पहिले खुसिबू क्षेत्र (नयाँ बजार) मा डेंगु व्यापक फैलिएको देखिएको थियो । झन्डै एक महिनासम्म सयौंको संख्यामा देखिएको संक्रमितलाई अस्पतालको बहिरंग विभागमार्फत उपचार गरेपछि मात्र सम्बन्धित निकायले पनि डेंगु फैलिएको विषयलाई गम्भीरताका साथ लिएको थियो ।

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा पहिलो पटक डेंगु महामारीलाई लक्षित गरी 'फिभर क्लिनिक' को स्थापना गरिएको थियो‚ जसको बागडोर मैले नै सम्हालेको थिएँ । कोरोनाको महामारी सबैभन्दा उच्च विन्दुमा रहेको अवधिमा डेंगु उल्लेखनीय रुपमा फैलिएको भने देखिएन । डेंगु सामान्यतया ३ देखि ५ वर्षको अन्तरालमा प्रकोप/महामारीको रुपमा आउने गर्दछ ।

डेंगु संक्रमण किटजन्य रोगअन्तर्गत पर्दछ । एडिस जातको लामखुट्टेमार्फत डेंगु भाइरस फैलने गर्दछ । एडिस लामखुट्टे विशेषतः बिहान र बेलुकी सूर्यास्त हुनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला संक्रमण बढी सार्ने गर्दछ । सन् २०१९ को डेंगु महामारीमा समयमा अधिकांश संक्रमितहरू आफ्नो कार्य स्थानबाट डेंगुबाट संक्रमित भएको पाइएको थियो । अर्थात् रातमा होइन‚ दिनमा लामखुट्टेको टोकाइबाट संक्रमित भएको स्पष्ट देखिन्छ । जनचेतनामूलक कार्यक्रमहरूमा आफू बस्ने घर वरिपरी पानी जम्न नदिने वा सरसफाइमा ध्यान दिने भन्ने गरिए पनि कार्यस्थानमा भने धेरैले ध्यान दिएको देखिँदैन ।

डेंगु भाइरसलाई ‘१’, ‘२’, ‘३’ र ‘४’ गरी चार सेरोटाइपमा वर्गीकरण गरिएको छ । यीमध्ये कुनै एक सेरोटाइपले संक्रमण गरिसकेको अवस्थामा अर्कोपटक अर्को सेरोटाइपले संक्रमण गरे संक्रमितमा थप स्वास्थ्य जटिलता देखिन सक्ने हुन्छ । जस्तै, डेंगु सेरोटाइप '१' ले संक्रमण गरिसकेको थियो र दोस्रोपटक सेरोटाइप '२', वा '३' वा '४' ले संक्रमण गरे सो संक्रमितमा जटिलता देखिन सक्दछ ।

सन् २०१९ को डेंगु महामारीमा सेरोटाइप '२' ले सबैभन्दा धेरैलाई संक्रमण गरेको पुष्टि अनुसन्धानले देखाउँदछ । अबको दिनमा सेरोटाइप '१', वा '३' वा '४ ' ले संक्रमण गरे पहिले संक्रमित भइसकेकामा (सेरोटाइप '२' संक्रमितमा) स्वास्थ्य जटिलता आउन सक्ने सम्भावना बढी हुनेछ । अर्को शब्दमा भन्नु पर्दा डेंगुको निरन्तर उपस्थिति हुनु भनेको डेंगुको संक्रमण बर्सेनि बढ्दै जानु हो । डेंगुको सेरोटाइप सामान्य किटको परीक्षणबाट हुँदैन । पीसीआर प्रविधिको सहयोगबाट सेरोटाइप थाहा पाउन सकिन्छ । हाल पीसीआर प्रविधि कोरोना पत्ता लगाउन धेरै ठाउँहरूमा उपलब्ध छ । तर‚ डेंगुको नियमित परीक्षणमा यसको प्रयोग भने हालसम्म गर्ने गरिएको छैन । डेंगुमा प्रयोग हुने रिएजेन्ट र सामान्य प्रशिक्षण पछि डेंगुको सेरोटाइप पीसीआर प्रविधिबाट सहजै पत्ता लगाउन भने सकिन्छ ।

ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा स-साना बिमिराहरु देखिने, आँखाको सेतो भाग रातो देखिने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाक-वाक/बान्ता हुनेजस्ता लक्षणहरु डेंगु संक्रमणका सुरुवाती अवस्थामा देखिने गर्दछ । तर‚ औसतमा ३ दिनपछि ज्वरो कम भएर जाने गर्दछ । यो समयमा बिरामीले आफू स्वस्थ भइसकेको अनुमान गर्ने गर्दछ । तर‚ कतिपयमा भने ज्वरो घट्ने बित्तिकै डेंगुको 'क्रिटिकल फेज' अर्थात् जटिल अवस्था शुरु हुने गर्दछ । यो २४ देखि ४८ घण्टा अवधिको हुने गर्दछ । यो समय पार गरेपछि भने 'रिकभरी फेज' अथवा बिरामी सुधारउन्मुख अवस्थामा प्रवेश गर्दछ । यो समयमा फेरि शरीरमा स-साना बिबिरा देखिने, हत्केला र पैतालामा चिलाउने, खानामा रुचि नहुने आदि हुने गर्दछ ।

डेंगुको प्रकोप/महामारी फैलिएको समयमा ब्रुफेन, फ्लेक्सोन, एस्पिरिनजस्ता दुखाइ कम गर्ने औषधिहरूको प्रयोग झुक्किएर पनि गर्नु हुँदैन । यस्ता औषधिको प्रयोगले संक्रमितमा रक्तश्राप (अन्तरिक/बाहिरी) गराउने सम्भावना बढी हुने गर्दछ । तर‚ नेपालमा आफैं औषधि पसलमा जाने र ब्रुफेनजस्ता दुखाइ कम गर्ने औषधिको प्रयोग आफूखुसी गर्ने हुँदा त्यो घातक सिद्ध हुनसक्दछ ।

डेंगुका सामान्य लक्षणहरुमा बिरामीले घरमा नै बसेर स्वास्थ लाभ गर्न पनि सक्दछ । तर अत्यधिक पेट दुखेमा, तारन्तार बान्ता भएमा, अलश्य भएमा, रक्तश्राव भएमा र रगत परीक्षण गर्दा प्लेटलेट्सको संख्या तीव्र गतिमा घटेको र हेमाटोक्रिट बढ्दै गएमा तुरुन्त चिकित्सकको सम्पर्कमा जानु पर्दछ । जाँच गर्दा पेटमा पानी जमेको, कलेजोको सुजन देखिए त्यो कडा डेंगुको संकेत मानिन्छ । यस्तो अवस्थामा भर्ना हुनुपर्ने पनि हुनसक्दछ; यसको विशेषतः एन्टी भाइरल औषधि भने हुँदैन ।

सारांशमा भन्नुपर्दा, हाल कोरोनाको मात्र चर्चा बढी हुने गरेकोमा डेंगुको ग्राफ पनि उक्लदै गैरहेको देखिन्छ । एडिस जातको लामखुट्टे विशेषतः बिहान र सूर्यास्त हुनुभन्दा अगाडि सक्रिय हुने र यहि बेला डेंगु संक्रमण बढी हुने भएकाले विशेष सजगता अपनाउनु पर्दछ । ज्वरो आउने र शरीर असाध्य दुख्नेबित्तिकै ब्रुफेनजस्ता औषधि आफूखुसी प्रयोग गर्नाले संक्रमितमा थप जटिलता देखिन सक्ने भएकाले औषधि वितरक र संक्रमित स्वयंले पनि सचेत हुन जरुरी हुन्छ ।

लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुन् ।

प्रकाशित : श्रावण २२, २०७९ १३:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×