सामुदायिकका प्रधानाध्यापकको निजीमा लगानी


काँकडभिट्टा — विद्यालय अनियमिततामा अनुसन्धानको घेरामा रहेका अर्जुनधारा–८ शनिश्चरे माविका प्रधानाध्यापक चेतामणि खनालले सरकारी सेवा सुविधा उपभोग गरेर निजी स्कुलमा ठूलो लगानी गरेको खुलेको छ ।

उनले गत असार २७ मा स्थानीय ब्राइटर इंलिस स्कुलको नयाँ भर्नासम्बन्धी सूचना आफ्नो फेसबुक वालमा सेयर गरेका थिए । अभिभावकका अनुसार निजी स्कुलमा प्रअ खनालको ठूलो लगानी रहेको देखिएको छ ।
सरकारी तलबभत्ता बुझने अनि सबै ध्यान चाहिँ निजी स्कुल प्रवर्द्धनमा लगाउँदै आएको आरोप अभिभावकको छ । उक्त स्कुलका प्रबन्ध निर्देशक लेखनाथ भट्टराईले खनालकी श्रीमती चाहिँ स्कुलको सेयर होल्डर रहेको जानकारी दिए । प्रधानाध्यापक खनालले अनियमितता गरेको समाचार बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले अनुसन्धान प्रक्रिया थालेको छ ।
अख्तियार कार्यालय इटहरीका प्रमुख तीर्थ चिलवालले अनियमितताको प्रमाण जुटाउने काम सुरु गरिएको जनाए । उनले भने, ‘अनुसन्धान सुरु गरिसकेका छौं ।’ प्रअ खनालले अनियमितता गरेको विषयमा शिक्षक–अभिभावक संघले सामाजिक परीक्षण प्रतिवेदन अध्ययन उपसमिति बनाएर गहिरो अध्ययन गरेको थियो । प्रअ खनालले अनियमितता गरेको प्रतिवेदनमा पुष्टि गरिएको छ । उनले अध्यापन नै नगरी तलबभत्ता बुझेको देखि रकम उल्लेख नगरी भर्पाइ बनाएको समेत प्रतिवेदनमा उल्लेख गरिएको छ । खनालले २०७८ मा ११ र १२ कक्षामा एकै पिरियड पनि नपढाएको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
शैक्षिक सत्र २०७८ मा कक्षा ११ र १२ को प्रअद्वारा नै बनाइएको दैनिक अध्यापन तालिकामा एउटै पिरियड ‘तेस्रो’ मा कक्षा ११ र १२ दुवै विषयमा प्रअले आफ्नो नाम राखेको पाइएको छ । खनालले प्रअ भएयता शैक्षिक सत्र २०७६ देखि दुई पिरियड नपढाईकन मासिक तलब, भत्तासमेत गरी २ लाख ६१ हजार ६ सय र २०७८ मा ४ लाख रुपैयाँ बुझेको पाइएको छ ।
खनालले भने यदाकदा अनियमितता हुनु सामान्य विषय भएको बताएका छन् । केही विद्यार्थीले स्वास्थ्य शिक्षाको भाग आफैं पढ्ने र शारीरिक शिक्षाको अंश विद्यालयले मद्दत गरिदिनुपर्ने अनुरोध गरेकाले कक्षा १२ मात्र सञ्चालन गरी बन्द गरिएको र शारीरिक शिक्षा खण्डमा उनीहरूको कक्षा लिएको दाबी गरे । आम विद्यार्थीले अध्ययन नगर्ने यस किसिमका विषयहरूमा विद्यार्थी संख्या कम भएकाले यदाकदा अनियमितता हुनुलाई खनालले सामान्य ठानेका छन् ।
प्रकाशित : श्रावण २१, २०७९ १२:०५