कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४५

एउटै योजनामा दोहोरो भुक्तानी

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाडाँस्थित खानेपानी योजनामा प्रदेश सरकार र नगरपालिकाबाट बेग्लाबेग्लै रकम भुक्तानी बुझेर अनियमितता भएको खुलेको छ ।

एउटै योजनामा दोहोरो भुक्तानी

सर्वेधारा खानेपानी योजनामा प्रदेश १ अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र उक्त नगरपालिकाको बजेट परेको हो । प्रदेश सरकारको ३ लाख ४४ हजार रुपैयाँको लागतमा इन्टेक निर्माण र ७ सय मिटर पाइप लाइन बिस्तार गरिएको डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर मोहन महासेठले बताए ।

यसैलाई देखाएर नगरपालिकाबाट पनि ५ लाख ७ हजार भूक्तानी गरिएको उजूरी आए पछि छानबिन सुरु गरिएको उपप्रमुख विशन राईले बताए । ‘एउटै योजनामा दुई तिरबाट बजेट भुक्तानी भएको भन्ने उजुरी आएको छ,’ उनले भने, ‘संलग्नलाई कारबाही गर्छौं ।’

महासेठका अनुसार आव २०७७/७८ मा डीपीआर तयार गरिएको र आव २०७८/७९ को बजेटबाट योजना सम्पन्न गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष जीवन ढकाल र डिभिजन प्रमुख इन्जिनियर धर्मेन्द्रकुमार केशरीबीच २०७८ पुस २८ मा सम्झौता भई काम थालिएको थियो । काम सकिएपछि २०७८ चैत २३ मा भुक्तानी भएको महासेठको भनाइ छ ।

आव २०७८/७९ को बजेटअन्तर्गत नगरपालिकाबाट विनियोजित ६ लाख रुपैयाँको लागतमा पाँच धारा, एउटा रिजर्भ ट्यांकी सक्ने गरी २०७८ चैत २३ मा सम्झौता गरिएको स्थानीय शिक्षक तथा उपभोक्ता समितिका सदस्य चिरञ्जीवी ढकालले बताए । पूरै काम नसकिएकाले ५ लाख ७ हजार रुपैयाँ मात्र भुक्तानी भएको उनको भनाइ छ । बाँकी काम यसै साता सक्ने ढकालले बताए ।

प्रदेश र नगरको बजेटमा योजना डुब्लिकेसन भएको भन्ने बारे प्रश्न गर्दा आफूहरूलाई थाहा नभएको उनले बताए । वडाअध्यक्ष हरिप्रसाद चौलागाईँले भने काम गरेको देखिएकाले रकम निकासाका लागि सिफारिस गरिदिएको बताए । उनले भने, ‘तर यस्तो हुन्छ भनेर सोचेको थिइन ।’

प्रकाशित : श्रावण ७, २०७९ १०:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×