कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानको करोडौं रुपैयाँ ठगेर व्यवसायी फरार

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फिदिम नगरपालिकाका किसानको करोडौं रकम ठगेर दुग्ध व्यवसाय सञ्चालन गर्दै आएका एक व्यवसायी फरार भएका छन् ।

किसानको करोडौं रुपैयाँ ठगेर व्यवसायी फरार

जुम्लाको कनकासुन्दरी गाउँपालिकाबाट आएर फिदिम-३ लालिखर्क कनकासुन्दरी नमक दुग्ध डेरी सञ्चालन गर्दै आएका महेन्द्र हमाल साउन ४ गते फरार भएका हुन् ।

करिब ६ महिनाअघि जुम्लाबाट पाँचथर आएका हमाल फिदिम नगरपालिका २, ३, ७, ८, १४ सँगै फाल्गुनन्द गाउँपालिका ३ र ४ का १ हजारभन्दा धेरै किसानले उत्पादन गरेको दूध खरिद गर्दै दुग्धजन्य वस्तु उत्पादन गर्दै आएका थिए ।

पछिल्लो समय फिदिमस्थित करदाता सेवा कार्यालयबाट कनकासुन्दरी डेरी उद्योगका नाममा ८१७८३१४८४ नम्बरको प्यान लिएर कारोबार गर्दै आएका उनी साउन ४ गते बिहान ११ बजे छोरी र श्रीमतीसहित सदरमुकाम जाने बहानामा फरार भएको भन्दै किसानहरूले जिल्ला प्रहरी कार्यालय पाँचथरमा निवेदन दर्ता गराएका छन् ।

हमालले सञ्चालन गर्दै आएको डेरीका कर्मचारी सुरेन्द्र राईका अनुसार असार महिनामा हमालले यस क्षेत्रका किसानबाट ६५ लाख रुपैयाँको दूध खरिद गरेका थिए । उनले खरिद गरेको दूधबाट उत्पादन गरेको घ्यु र छुर्पीसहितका दुग्ध उत्पादन फिदिममा सञ्चालित सिदिन डेरीमा बिक्री गर्ने गर्थे ।

फिदिम क्षेत्रका किसानलाई भुक्तानी गर्न बाँकी रहेको ६५ लाख, सिदिन डेरी उद्योगको १६ लाख, राँकेका दुग्ध व्यवसायी वाङगेल तामाङको ५ लाख, फिक्कलका कुमार ढुंगेलको ५ लाख रुपैयाँ ठगेर हमाल फरार भएको किसानहरूले प्रहरीमा दर्ता गराएको निवेदनमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) राकेश थापाले व्यवसायी र किसानले दर्ता गराएको निवेदनका आधारमा घटनाको अनुसन्धान र अभियुक्तको खोजी कार्य सुरु भएको बताँउछन् ।

प्रकाशित : श्रावण ६, २०७९ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?