कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चारकोसे क्षेत्रमा सडक निर्माण सुस्त

खराब सडकले स्थानीय समयमै अस्पताल, कार्यालय र शिक्षण संस्था पुग्न सक्दैनन् 
सुम्निमा चाम्लिङ

इटहरी — विराटनगरको रानीदेखि धरानसम्म ६ लेनको सडकअन्तर्गत चारकोसे झाडीको सडक धुलाम्मे र खाल्डाखुल्डीमय भएकाले आवागमनमा यात्रुले सास्ती भोग्नुपरेको छ । सवारीसाधन बिग्रने र सडक किनारमा राखिएको निर्माण सामग्रीको कारण दुर्घटनाको जोखिम उस्तै छ । खराब सडकले स्थानीय समयमै अस्पताल, कार्यालय र शिक्षण संस्था लगायतका गन्तव्यमा पुग्न सक्दैनन् । 

चारकोसे क्षेत्रमा सडक निर्माण सुस्त

पानीपियादेखि तीनकुनेसम्मको सडक खण्डलाई विस्तार गर्ने भन्दै २०७७ देखि निर्माण प्रक्रिया सुरु भएको थियो । जंगलमा नाला र फुटपाथ बनाउन नपर्ने भएको हुँदा ४ लेनको सडक बन्ने भएको हो । निर्माण ठेक्का सम्झौता म्याद सकिन एक वर्ष अझै छ । तर सुस्त निर्माणले म्यादभित्रै सकिने संभावना कम छ । सबैभन्दा बढी मारमा दैनिक ओहोरदोहोर गर्नेछन् ।

धरानका आकाश मगर दिनहुँ मोटरसाइकलमा इटहरी धाउँथे । उनी तीन महिनादेखि बसमा यात्रा गर्न थालेका छन् । उनले भने, ‘घरबाट इटहरीसम्म आइपुग्दा धुलोले पुरिन्थेँ, कार्यालय प्रवेश गर्न अप्ठेरो लाग्थ्यो, त्यसैले सार्वजनिक यातायातको प्रयोग गर्न थालेको छु ।’ स्थानीय रणजित राई कुनै समय चारकोसे जंगलको यात्रा भन्ने बित्तिकै शीतल महसुस गर्थे । अचेल ने उनलाई यात्रामा सकस भएको छ । ‘धुलोले गर्दा जंगलको बाटो हिंड्न नपरोस् लाग्छ तर बाध्यता छ,’ राईले भने ।

तरहरादेखि धरानसम्म १० किलोमिटर सडक २ वटा प्याकेजमा ठेक्का लगाइएको छ । पानीपियादेखि सेउती पुलसम्मको प्याकेज ५ दशमलव ५ किलोमिटर सडक बनाउने ठेक्का हिम धुङ पेसेफिक जेभीले लिएको छ । २०७७ असार ५ मा ठेक्का सम्झौता भएको सडक खण्ड २०८० असार ५ सम्म बनाइसक्नुपर्ने छ ।

हाल २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । सडक निर्माणको वित्तीय प्रगति भने २४ प्रतिशत छ । भ्याटसहित ५० करोड ३७ लाख २५ हजार ५ सय ४६ रुपैयाँमा ठेक्का लागेको थियो । हालसम्म कम्पनीले १२ करोड १६ लाख ८ हजार ४ सय ३२ रुपैयाँ बुझिसकेको छ । दोस्रो प्याकेज सेउती पुलदेखि तीनकुनेसम्म ४ दशमलव ५ किलोमिटरको छ । रौताहा कन्स्ट्रक्सनले २०७७ असार ५ मा ठेक्का सम्झौता गरी निर्माण गर्ने जिम्मेवारी पाएको थियो ।

३९ करोड ५९ लाख ७३ हजार ६ सय ९३ रुपैयामा ठेक्का लगाइएको थियो । हालसम्म रौताहले ३५ प्रतिशत काम सकाएको छ । सडक निर्माणको वित्तीय प्रगति ३१ प्रतिशत छ । कम्पनीले १२ करोड ५३ लाख ६६ हजार ७ सय ४४ रुपैयाँ भुक्तानी पाइसकेको छ ।

६ लेन सडक आयोजनाको अनुसार विस्तारको काम अन्तिम चरणमा पुगिसकेको छ । बर्खाको समय भएकाले काम अघि बढ्न नसकेको बताउँदै आयोजना प्रमुख बद्रीप्रसाद शर्माले भने, ‘सडक कालोपत्र गर्न आवश्यक फाउन्डेसन तयार भइसक्यो, आउँदो भदौबाट कालोपत्र सुरु हुन्छ ।’

भौतिक प्रगति अनुसार निर्माण कम्पनीले समयमा काम सक्ने आयोजनाको दाबी छ । सामग्रीमा अत्यधिक मूल्य वृद्धि भएको भन्दै निर्माण व्यवसायीले होलिडे घोषणा गरेको कारण कामको गति कम भएको आयोजना प्रमुख शर्माले बताए । उनले भने, ‘आन्दोलनको कारण चैत र बैशाखमा काम सुस्त भयो, पछिल्लो समय काम गर्न खोजे पनि बर्खाले अगाडि बढाउन सकिएन ।’

प्रकाशित : श्रावण ४, २०७९ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?