फस्टाउँदै सुपारी खेती

विप्लव भट्टराईं

इलाम — मेची राजमार्गको किटेनी खण्डबाट करिब ५ किलोमिटर पश्चिम छिरेपछि हराभरा कालीटार पुगिन्छ । अन्य क्षेत्रबाट खासै नदेखिने रोङ गाउँपालिका–४ को कालीटार क्षेत्रलाई हराभरा बनाउने मुख्य खेती हो सुपारी ।


आसपासको बाक्लो सखुवाघारी छिचोलेर कालीटार पुग्दा आँखाले भ्याएसम्मको क्षेत्र सुपारी बगानले भरिएको छ । बगानभित्रकै घरमा भेटिएकी विष्णुमाया तामाङ सिंगो गाउँ नै सुपारीको उत्पादनले धानेको बताउँछिन् ।

रोङ–२ बदामटारका सन्तबहादुर तामाङको मुख्य आम्दानीको स्रोत सुपारी हो । एक पटक रोपेपछि सामान्य गोडमेल मात्र गर्नुपर्ने र बजारको पनि चिन्ता नभएकाले उनले सुपारी खेती गरेका छन् । वार्षिक ५ लाख रुपैयाँसम्मको सुपारी बिक्री गर्ने उनी झापाको सुपारी खेती देखेर प्रभावित भएका थिए । झापा सीमावर्ती क्षेत्रमा सुपारीबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्ने उल्लेख्य छन् । अहिले घरघरै सुपारी रोपेर आम्दानी लिने क्रम बढेको छ । रोङ–२ बरफल्याङका रघुनाथ ढुंगेलको आर्थिक भरोसा पनि सुपारी नै रहेको छ । बोट हुर्किएपछि कम मिहिनेत र लगानीमा निरन्तर आम्दानी हुने भएकै कारण उनको रोजाइमा पनि सुपारी खेती परेको हो ।

इलामको रोड, चुलाचुली, र माङसेवुङ गाउँपालिकाको तल्लो क्षेत्र तथा माई नगरपालिकाका किसानले सुपारी खेती विस्तार गरी आम्दानी बढाएका छन् । समतल टारवारी र पाखा भित्तामा पनि सुपारी बगान विस्तार हुने क्रममा छ । सम्बन्धित पालिकाले खेती प्रवर्द्धनका लागि बिरुवासमेत सहुलियतमा दिन थालेपछि कृषकको उत्साह थप बढेको हो । बहुवर्षे बालीका रूपमा सुपारी खेती गरेर एकै बोटबाट ५० केजीसम्म उत्पादन गर्न सकिने किसानको अनुभव छ । सुपारी खेतीले तरकारी र अन्य बालीलाई क्षति नपुर्‍याउने र छहारीको काम गर्ने भएपछि पनि गतिलो आम्दानीको स्रोतका रूपमा सुपारी खेतीमा कृषकको रुचि बढेको हो ।

सुपारी बिक्रीका लागि बजार चाहर्नुपर्ने झन्झट छैन । झापाबाट व्यापारीहरू बगानमा नै आइपुग्छन् । ‘सुपारीको आन्तरिक बजार नै पर्याप्त छ,’ व्यवसायी रामप्यारा गुप्ताले भने । बोटबाटै काँचो सुपारी बिक्री हुने भएकाले यसको प्रशोधन गरेर थप मूल्य लिन सकिने सम्भावना प्रशस्तै छ । तर कृषकले प्रशोधन उद्योग भने खोल्न सकेका छैनन् । सुपारीको खपटाबाट टपारा निर्माण हुन्छ । झापामा खोलिएका यस्ता उद्योगमा उत्पादित टपराको माग बढ्दो छ । सुपारीको बगान बर्सेनि बढ्दै गएकाले रोङ गाउँपालिकाले खपटा बनाउने उद्योग सञ्चालनको तयारी गरेको अध्यक्ष मणिकुमार (सुवास) श्याङवोले बताए । वैदेशिक रोजगारप्रतिको आकर्षणलगायत कारणले हरेक क्षेत्रमा श्रमिक पाउन समस्या छ । धान मकैलगायत खेतीमा श्रमिक धेरै लाग्ने र खर्चिलो पनि बन्दै गएको अवस्थामा जिल्लाको दक्षिणी क्षेत्रका कृषकले विकल्पका रूपमा सुपारीलाई लिएका हुन् ।

प्रकाशित : श्रावण १, २०७९ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्

हतियारको पैसा विकासमा लगाऊ

झमक घिमिरे

हाम्रो देशले २०५२ देखि २०६२ सालसम्म सशस्त्र द्वन्द्व भोग्यो । त्यसबाट कैयौं निर्दोष मान्छे मारिए, कैयौं घरबार विहीन भए, कैयौं अपांग भए अनि कैयौंको कोख र काख रित्तियो । युद्ध सानो होस् यो ठूलो, छोटो अवधिका लागि होस् या लामो त्यसले दिने परिणाम जहिल्यै घातकै हुन्छ ।

त्यसका घाउहरू अझै बिर्सिन सकेका छैनन् मानिसहरूले । कैयौंले अझै त्यसको पीडा भोगिरहेका छन्, यो घाउलाई बिर्सन सकून् पनि कसरी ? जनतामा द्वन्द्व अवधिमा जुन उत्साह थियो, लडाइँको नेतृत्व गर्नेहरूले जुन सपनाहरू देखाएका थिए अहिले ती सबै बिलाए । नेपाली र नेपालले भोगेको जनयुद्ध भनिएको सशस्त्र द्वन्द्वले मान्छेलाई दिएको शारीरिक, मानसिक पीडा अझै निको भएको छैन ।

कैयौंको जिन्दगी अधकल्चो भएको छ । न बाँच्नु, न मर्नुको दोसाँधमा छन् । उफ् ! सशस्त्र युद्ध भनौं या जे भनौं युद्धले कसैको भलो गर्दैन । यसले दिने भनेको आर्तनाद नै हो । जसलाई भोग्न जोसुकैलाई पनि गाह्रो हुन्छ । पक्तिकारले आजको तनावग्रस्त विश्वलाई नियालिरहेको छ । अनि प्रश्न उठ्छन्— ‘आखिर केका लागि मान्छे मारिएका छन् ?’ युद्ध गनेहरूले मानिसको आँसु किन पुछ्न सकिरहेका छैनन् ? त्यसो त नन्दप्रसाद अधिकारीले आफ्नो जवान छोरा बेपत्ता हुँदा न्याय माग्दामाग्दै आमरण अनशनमै मृत्युवरण गर्नुपर्‍यो । हुन त, युद्धका घाउहरू कहिल्यै पुरिन सक्दैनन् । अहिले युद्धग्रस्त मुलुकहरूका नागरिकका दुःख, पीडा, आँसु हेर्दा स्तब्ध भइन्छ । युद्ध गर्नेहरूले आफूलाई सर्वेसर्वा ठान्दा हुन् तर शान्तिकामी मान्छेको मन साह्रो दुख्छ ।

समय आफ्नै गतिमा चलिरहन्छ । युद्ध भोग्ने विश्वका अन्य मुलुकका नागरिकहरूका पीडा देखेर मन रुन्छ । आखिर यो युद्ध केका लागि ? अहिले नेपालमा पनि हतियार भित्र्याइँदै छ, किनिँदै छ भन्ने खबर सुनिँदै छ । ती हतियार के गर्नका लागि भित्र्याइँदै छ ? यो वाहियात सामान किन्ने पैसा देशको विकास निर्माणमा लगाए कस्तो गजब हुन्थ्यो । हाम्रा श्रम–सीपका पैसा हातहतियार खरिद गर्न खर्च हुँदै छ भने त्यसको के काम ? जब सीप र सृजनामा खर्च हुनुपर्ने पैसा धमाधम हातहतियार र विस्फोटक पदार्थ किन्नमा लगाइन्छ भने स्वाभाविक रूपमा प्रश्न उठ्छ, के देशले फेरि रक्तपात खेप्नुपर्ने त होइन ? अबको रक्तपात केका लागि ? कसका लागि ? जिम्मेवार मान्छेहरू खबरदार । तिमीहरूले युवाहरूको सृजनशील दिमागलाई फेरि कुनै खालको युद्धमा धकेल्यौ भने त्यसको सिकार आफैं बन्न बेर छैन ।

कैयौं बेरोजगार युवालाई विदेशतिर खेदेर उनीहरूको श्रम, पसिना त्यही भूमिमा बगाएर, त्यहाँबाट पठाएको अलिकति पैसाले देशको प्राण धान्न खोज्ने यो कस्तो नीति हो तिम्रो ? साँच्चै देशको हित चिताउने हो भने युवा जनशक्तिलाई यहीं रोकेर तिनको श्रम, शक्तिलाई यही भूमिमा प्रयोग गर्ने वातावरणको निर्माण गर्नुपर्छ । अनि मात्र देश बन्छ । मुखले स्विट्जरल्यान्ड बनाएर हुँदैन । युवा जनशक्तिलाई विदेशमा राखेर देश बनाउने सपना नदेखे हुन्छ । अनि यही भएका युवा शक्तिलाई फेरि पनि दुरुपयोग गरेर बन्दुक–बारुद बोक्न लगाइयो भने त्योभन्दा दुर्भाग्य अर्को केही हुँदैन । विश्व शान्तिका दूत गौतम बुद्ध जन्मेको भूमिमा अब कुनै खालका द्वन्द्वको बीजारोपण नगरियोस्, नहोस् ।

प्रकाशित : श्रावण १, २०७९ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×