कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

विपन्नलाई उपचारमै सकस 

काँकडभिट्टा — झापा, मेचीनगर १२ का १९वर्षीय राजकुमार विश्वकर्मा विगत तीन वर्षदेखि बोनम्यारो (ब्लड क्यान्सर) सँग जुधिरहेका छन् । तीन वर्षअघि एसईई दिएर बसेका राजकुमारलाई अचानक हात खुट्टा गल्ने, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउने समस्या देखियो ।

विपन्नलाई उपचारमै सकस 

अस्पताल गएर जचाउँदा ब्लड क्यान्सर पुष्टि भयो । त्यसयता निरन्तर उपचार गराइरहेका उनको ४० लाख रुपैयाँभन्दा बढी खर्च भइसक्यो तर रोग भने उस्तै छ ।

दाजु रञ्जीतका अनुसार तीन वर्षदेखि ऋण र चन्दाबाट उपचार भइरहेको छ । ‘४० लाखभन्दा ज्यादा सकियो,’ रञ्जीतले भने, ‘भाइको रोग निको पार्न सकिएन ।’ उनको बोनम्यारो प्रत्यारोपण गर्नु पर्ने चिकित्सकले जनाएका छन् । जसका लागि अझै ३० लाख रुपैयाँ जति खर्च लाग्ने छ । ‘त्यत्रो रकम कहाँबाट ल्याउने हो‚ थाहा छैन,’ रञ्जीतले भने, ‘भएभरको जायजेथा उपचारमै सक्किसक्यो ।’

मुढा बुनेर जीविकोपार्जन गर्दै आएको यो दलित परिवारका लागि छोराको उपचार खर्च जोहो गर्न ज्यादै समस्या भइरहेको छ । बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार गराइरहेका राजकुमारले भने, ‘जसरी हुन्छ बचाइदिनुस्, बाँच्न मन छ मलाई ।’

राजकुमारको जस्तै कथा छ, मेचीनगर ६ मेचीडाँडाकी ४५ वर्षीय लक्ष्मी खनालको पनि । उनी पनि विगत ५ वर्षदेखि मुटुरोगबाट थलिएकी छन् । सामान्य हिँड्डुल गर्न पनि सक्दिनन् । मदजुरबाट जीविका चलाउने यो परिवारले पनि लक्ष्मीको उपचारमा लाखौं खर्च गरिसकेको छ । श्रीमान् कृष्णले खर्च अभावले श्रीमतीको समयमै उपचार हुन नसक्दा रोग छिप्पिएको बताए । ‘उपचारका लागि ऋणपान गरेर धेरै अस्पताल पुर्‍याइयो,’ कृष्णले भने, ‘तर, खर्च अपुग भएर पूर्ण रुपमा उपचार हुनै पाएन । बरु ऋणको भार थपियो ।’

नाजुक आर्थिक अवस्थाका कारण समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनेहरूको संख्या झापामा कम छैन । कतिपय भने सहयोगको अपेक्षा गरेर जिउने आशामा बाँचिरहेका छन् । मेचीनगर-६ का होटल व्यवसायी युवा सजीत तामाङ र बिमला तामाङले २३औं वैवाहिक वर्षगाँठको सन्दर्भ जोडेर आइतबार विश्वकर्मा र खनाललाई उपचार खर्चबापत ७५/७५ हजार रुपैयाँ प्रदान गरे ।

लायन्स क्लब मेचीनगरका सेक्रेटरीसमेत रहेका तामाङले क्लबका अग्रजहरूको उपस्थितिमा बिरामीको घरै पुगेर रकम हस्तान्तरण गरेका थिए । ‘बिरामीलाई सहयोग गर्न पाउँदाभित्रैबाट आनन्द महसुस भएको छ,’ तामाङले भने ।

प्रकाशित : असार २७, २०७९ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?