कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

धमाधम मर्न थाले हात्ती

पर्वत पोर्तेल

झापा — एक साता नबित्दै झापामा अर्को जंगली हात्ती मृत फेला परेपछि संरक्षणकर्मीहरु चिन्तित बनेका छन् । गत शुक्रबार बुद्धशान्ति ५ पाँचपोखरी वन क्षेत्रमा एउटा हात्ती मृत भेटिएको थियो । जिल्लामा लगातार हात्ती मारिन थालेपछि संरक्षणकर्मीहरु चिन्तित बनेका हुन् । झापाको अर्जुनधारा नगरपालिका ४ दहिझोडा जंगल क्षेत्र नजिकै बुधबार बिहान झन्डै ३० वर्षको हात्ती मृत फेला परेको थियो । 

धमाधम मर्न थाले हात्ती

पूर्व–पश्चिम राजमार्गको दुर्गापुरदेखि करिब ४ किलोमिटर उत्तरको जंगलमा रैथाने हात्तीको ठूलै झुन्ड बस्दै आएको छ । जंगल नजिकै खेतमा हात्ती मृत भेटिएको रेन्जर राजेश घिमिरेले जानकारी दिए । उनका अनुसार राति ३ वटा गाउँ छिरेको थियो । दुई हात्ती बिहानै जंगल फर्किएको र एउटा चाहिँ खेतमा लडेको अवस्थामा फेला परेको थियो । ‘रन्फनिएर हात्ती लडेको स्थानीयले देखेका रहेछन्’, घिमिरेले भने, ‘शरीरमा घाउ तथा चोटपटक केही नभएकाले हात्तीको मृत्युको कारण अनुमान गर्न सकिएको छैन ।’

जंगल क्षेत्र नजिकैको बस्तीका बासिन्दाले बालीनाली जोगाउन करेन्ट छाड्ने गर्छन् । त्यही करेन्ट लागेर हात्ती मरेको अनुमान संरक्षणकर्मी शंकर लुइँटेलको छ । स्थलगत निरीक्षण पछि फर्किएका उनले भने, ‘हात्ती मरेको स्थान आसपास विद्युतीय तारहरु छरपष्ट भेटिएका कारण विद्युतीय झट्काकै कारण हात्ती मरेको अनुमान गर्न गाह्रो छैन ।’ उनका अनुसार अघिल्लो हात्तीको मृत्युको कारण पनि विद्युतीय झट्का नै हो ।

तर, डिभिजन वन कार्यालयले भने पोष्टमार्टम रिपोर्ट नआएसम्म अनुमान गर्न नसकिने जनाएको छ । निमित्त डिजिभन वन प्रमुख राजकुमार खत्रीले भने, ‘अघिल्लो हात्तीको पोष्टमार्टम रिपोर्ट आएको छैन, बुधबार मरेकाको पनि अंग पठाएका छौं, रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन गर्न सकिन्छ ।’

यो बर्खायाममा साँझ परेपछि मेची तरेर बाहुनडाँगीको विद्युतीय तारबार समेत नाघेर हात्तीका हुल गाउँ पस्छ । बाहुनडाँगीबाट पसेको हात्ती सिंगो झापा चरन गरी भारततिरै फर्किन्छन्। जिल्लामा दर्जन जति रैथाने हात्तीहरु पनि छन्। बुधबार मारिएको हात्ती रैथाने नभएर भारतबाटै आएर बसेको दाबी संरक्षणकर्मी शंकर लुइँटेलको छ ।

हात्तीविज्ञ डा. नरेन्द्र प्रधानले झापामा मानव र हात्तीबीचको द्वन्द्व लामो समयदेखि जारी रहेको बताउँदै समयमै समाधानको बाटो नखोजिए समस्या अझ जटिल भएर जाने चेतावनी दिन्छन् । हात्तीको पनि मान्छेको जत्तिकै बाँच्न पाउने अधिकार रहेको बताउँदै उनी भन्छन्, ‘हात्तीको पनि हामी मान्छेको जस्तै बाँच्न पाउने अधिकार छ । यसलाई कसैले नजरअन्दाज गर्न मिल्दैन ।’

हात्तीमा पनि मानिसमा जस्तै बुझ्ने क्षमता र संवेदनशिलता रहेको बताउँदै उनले विद्युतीय झट्का लगायतका यातना दिएर हात्ती मारिनु गम्भीर कुरा रहेको जनाए । ‘घोच्ने, कुट्ने, हिर्काउने गर्नै हुँदैन । हात्तीलाई घाउ चोट पुर्‍याउने गरी कुट्नु पिट्नु हुँदैन’, प्रधान थप्छन्,‘तर, करेन्ट नै लगाउन थालिएको कुरा चाहिँ अलि बढी गम्भीर हो ।’

भारतबाट आएका हात्तीले झापामा वर्षौंदेखि आतंक मच्चाइरहेका छन् । भारततिर हात्तीको संख्या प्रत्येक वर्ष बढ्दो छ । भारतमा हात्ती बढ्नु नेपालतिर बर्सेनि क्षति बढ्नु हो । दिनभरि भारतका जंगलमा बस्ने हात्ती साँझ परेपछि नेपालतिर छिर्छ । अनि सुरु हुन्छ उसको बिझ्याई । भारतबाट आउने हात्ती रोक्न भारतीय सहयोग आवश्यक पर्छ । उनीहरुसँग मिलेर काम गर्नुको विकल्प छैन । हात्ती नियन्त्रणका लागि विभिन्न उपायहरु अबलम्वन गरिसकिएको छ । तर, समस्या उही छ ।

‘यसलाई हाम्रो समस्या ठानेर व्यवहार परिवर्तन नगरेसम्म हात्ती र मान्छेबीचको लडाइँ अझै धेरै वर्षसम्म चल्न सक्छ’, प्रधान थप्छन्, ‘यो द्वन्द्व कम गर्ने दायित्व हात्तीको हातमा हैन, हाम्रो हातमा छ । हामीले व्यवहार र आचरण नबदलेसम्म द्वन्द्व कम हुने हैन, बरु अझै बढ्दै जाने पक्का छ ।’

वन्यजन्तु तथा वातावरण संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आईयुसीएन) ले हात्तीलाई मार्न त परको कुरा कुनै किसिमको अवरोध गर्न समेत बर्जित गरेको छ । तर हात्ती प्रकोप भएका क्षेत्रमा अन्तर्राष्ट्रिय कानुन मान्ने पक्षमा कोही छैनन् । हात्ती आतंक बढ्दा सर्वसाधारण यति आक्रामक बन्छन् कि हात्तीलाई गोली ठोक्नेसम्मको चेतावनी दिन्छन् । ‘मान्छे मारेर हात्ती बचाउने कस्तो कानुन हो यो ,’ एक स्थानीय आक्रोश पोख्छन् ।

मान्छे जोगाउने कि हात्ती भन्ने मुद्दा पेचिलो बनेका कारण पनि जंगली हात्तीको मृत्युलाई सम्बद्ध निकाय र आम सर्वसाधारणले खासै गम्भीर रुपमा लिएको पाइँदैन । तर, संरक्षणकर्मी डा. शान्ताराज ज्ञवाली भने हात्तीको मृत्युलाई पनि मान्छेको मृत्युलाईझैं गम्भीर भएर सोच्नु पर्ने बताउँछन् । भन्छन्,‘हात्तीको पनि हाम्रोझैं बाँच्न पाउने अधिकार छ ।’

प्रकाशित : असार २४, २०७९ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?