तेह्रथुम 'ढाकाको राजधानी'- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तेह्रथुम 'ढाकाको राजधानी'

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । हाते तानबाट ढाकाका कपडा उत्पादन गर्ने तेह्रथुमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार ढाका कपडाको राजधानी घोषणा गरेको हो।

ढाका कपडा बुन्ने सीप र कलालाई विश्वभर प्रचारप्रसार गर्न, व्यवसायीकरण र विविधीकरणका लागि सरकारले ढाका कपडाको राजधानी घोषणा गरेको जनाएको छ।

म्याङलुङ नगरपालिकाले अयोजना गरेको कार्यक्रममा मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले तेह्रथुमलाई ढाका कपडा राजधानीको जिल्ला घोषणा गरेका हुन् ।

‘तेह्रथुमको ढाका कपडा गुणस्तरीय र प्रसिद्ध पनि छ । तर कपडाको बजारीकरणमा सरकारको ध्यान पुगेको पाइएन,’ मन्त्रालयका सचिव पोखरेलले भने, ‘घोषणापछि भने सीप विकास, प्रविधिको बढावा र बजारीकरणमा पनि अगाडि बढाउनुपर्छ भनेर नै मन्त्रालयको चाहना अनुसार राजधानी घोषणा गरिएको हो।’

यसअघि मन्त्रालयले पाल्पालाई पनि ढाका कपडाको जिल्ला घोषणा गरेको थियो । मन्त्रालयले पाल्पा र तेह्रथुमलाई ढाका कपडा राजधानी घोषणा गर्ने कार्यक्रम चालु आर्थिक वर्षको कार्यक्रममा राखेको थियो। ढाका कपडालाई निर्यातयोग्य वस्तुका रूपमा अघि बढाएर लैजाने कार्यक्रम राखिएको सचिव पोखरेलको भनाइ छ । तेह्रथुमको ढाका कपडाको अनुसन्धान गर्न चाहनेहरूका लागि दातृ संस्था मार्फत् परिचालन गर्ने योजना पनि मन्त्रालयको छ । राजधानी घोषणापछि आगामी दिनमा मन्त्रालय वा अन्य दातृ निकायबाट कार्यक्रम गर्न पनि सहज हुने म्याङलुङ नगरपालिकाका प्रमुख संजय कुमार तुम्बाहाङफेले बताए।

पछिल्लो समय तेह्रथुमे ढाका कपडाको उत्पादन र बजारीकरणमा व्यवसायी र साना उद्यमीसमेत सक्रिय भएर लागेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत कृष्णप्रसाद पोखरेलले बताए । ढाकाको राजधानी घोषणा कार्यक्रम म्याङलुङ नगरपालिकाले समन्वय गरेको थियो। ‘जिल्लाको आर्थिक अवस्था सुधारका लागि ढाका कपडा माद्यम हुने नगर प्रमुख तुम्बाहाङफेको भनाइ छ । राजधानी घोषणापछि हरेक हिसाबले कार्यक्रम गर्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई कार्यक्रम गर्न दबाब पर्ने उनको भनाइ छ ।

तेह्रथुम हाते तानबाट बुनिने ढाका कपडाको लागि प्रसिद्ध मानिन्छ । ढाकाको प्रवर्द्धनका लागि यस अघिदेखि नै म्याङलुङ नगरपालिकाले सहयोग गरिरहेको प्रमुख प्रशासकीय अधिकृत गिरीराज भटराईले बताए । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा १ सय ४५ वटा ढाका कपडा उद्योग दर्ता भएर सञ्चालनमा रहेका छन् ।

तर १ हजारभन्दा बढी उद्योग दर्ता बिना नै सञ्चालनमा रहेको हुनसक्ने कार्यालयको अनुमान छ । यी उद्योगमा करिब १ अर्बभन्दा बढी रुपैयाँ लगानी रहेको कार्यालयको अनुमान छ । जिल्लाको ढाका उद्योगमा ५ हजार बढी जनशक्तिले रोजगारी पाएको कार्यालय प्रमुख उद्योग अधिकृत पोखरेलले जानकारी दिए । यस्तै ढाका कपडा बुनाइ सम्बन्धी तालिम लिनेको संख्या १० हजार भन्दा बढी छ ।

घोषणापछि राष्ट्रियस्तरको मात्र नभइ अन्तर्राष्ट्रिय बजारमा पनि ढाका कपडाको पहिचान पुर्‍याउन अझ बढी सहयोग पुग्ने प्रदेश सांसद लक्ष्मण तिवारीले बताए । ‘ढाका कपडालाई टोपी र चोली, पछ्यौरी र साडी मात्र नभइ उत्पादनका अन्य विविधीकरणमा पनि लैजानुपर्ने सांसद तिवारीले औंल्याए ।

तेह्रथुमका गाउँगाउँमा ढाकाको कपडा उत्पादन कहिलेबाट सुरु गरिएको भनेर यकिन गर्न नसकिए पनि बेलायती नागरिक सुसी डान्स्मोरले सन् १९८३ मा लगातार तीन वर्ष लगाएर तेह्रथुममा उत्पादन हुने ढाकाका कपडाको अध्ययन तथा अनुसन्धान गरेर ढाका कपडा बुन्दा प्रयोगमा ल्याइने धागोको रंगको छनोट गरिदिएपछि ढाका कपडा उद्योगले व्यावसायिकता पाएको उद्योगी रामसिंह आलेले बताए । उनै विदेशी महिलाले लामो समय लगाएर छनोट गरिदिएको रंग र धागो प्रयोग गरेर जिल्लावासीले गाउँगाउँमा उत्पादन गरेका ढाका कपडाले ३९ वर्षपछि राजधानीको स्वरुप पाएको हो ।

प्रकाशित : असार २०, २०७९ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्

बझाङका किशोर बुटवलमा अलपत्र

वसन्तप्रताप सिंह

बझाङ — बझाङका एक १३ वर्षीय किशोर रुपन्देही जिल्लाको बुटवल महानगरपालिकामा अलपत्र अवस्थामा भेटिएका छन् । जयपृथ्वी नगरपालिका वडा नं ७, सुवेडा घर बताउने आकाश सार्की नाम गरेका बालक बुटवलको बसपार्कमा अलपत्र अवस्थामा फेला परेका हुन् ।

उनलाई बुटबलमै अध्ययनरत एक जना विद्यार्थी वासुदेव भुसालले आफूसँगै राखेको र उनको उद्धार गरिदिन अनुरोध गरेका छन् । ‘निकै दयनीय अवस्थामा बालकलाई भेटेपछि मैले तीन दिनदेखि आफूसँग राखेको छु,’ उनले भने ‘म पनि विद्यार्थी मान्छे धेरै दिन उनलाई पाल्न सक्दिनँ । कसैले उद्धार गरिदिए हुने थियो ।’

आकाशले आफ्नो आमा नभएको र बाबुले रक्सी खाएर पिट्ने गरेको हुँदा भागेर आएको बताउने गरेको भुसालले बताए । बालक डराउने र बेलाबेला तर्सिने गरेको भुसाल बताउँछन् ।

बालक अलपत्र परेको विषयमा जानकारी आएको भन्दै उनको अवस्थाबारे बुझ्ने काम भएको र उद्धारको लागि के गर्न सकिन्छ भनेर समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी ज्ञानबहादुर विष्टले बताए ।

सुवेडाका स्थानीयका अनुसार उनको आमाको मृत्यु भएको र बुवा मदिराको लतमा रहेको बुझिएको छ । बझाङ छँदा पनि आकाश घरमा नबस्ने र सडकमा मागेर खाने, पार्किङ गरिएका गाडी तथा सार्वनजिक स्थानमा सुत्ने गरेका थिए ।

प्रकाशित : असार २०, २०७९ १७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×