कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

अवैध उत्खनन गरिरहेका ९ वटा टिपर, जेसीभी र ट्याक्टर नियन्त्रणमा

विनोद भण्डारी

विराटनगर — मोरङका विभिन्न खोलामा आइतबार राति अवैध रुपमा उत्खनन गर्दै गरेको अवस्थामा प्रहरीले ९ वटा टिपर, ट्याक्टर र जेसीभीसहित चालकलाई नियन्त्रणमा लिएको छ । 

अवैध उत्खनन गरिरहेका ९ वटा टिपर, जेसीभी र ट्याक्टर नियन्त्रणमा

केराबारी गाउँपालिकामा पर्ने खदम र मुगु खोला, सुन्दरहरैचा नगरपालिकामा पर्ने बुढी खोला र बेलवारी नगरपालिकामा पर्ने लोहन्द्र खोलामा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गरेको अवस्थामा ती साधन नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

स्थानीय प्रशासनले असार १ गतेदेखि सबै खोलामा उत्खनन गर्न रोक लगाएको थियो । को १ ख ५८६२ नम्बरको टिपर र चालक अशोक कटुवाल, को १ ख १४९१ नम्बरको जेसीभी र चालक राज लिम्बु, को १ ख ७२५१ नम्बरको टिपर र चालक जयराम उराँव, ना ८ ख ४२६७ नम्बरको टिपर र चालक अनील चौधरी, प्रदेश १-०२-००१ ख ९३८७ नम्बरको टिपर र चालक दिनेश उराँव, को १ त ६८६४ नम्बरको ट्याक्टर र चालक काशिनाथ ऋषिदेव, को २ त ५५६४ नम्बरको ट्याक्टर र चालक उज्जवल पौडेल, अन टेस्ट ट्याक्टर चालक शम्भु मग्राती र प्रदेश १–०२–००३ त १४०१ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त टिपर, जेसीभी र ट्याक्टर क्रसर व्यवसायी देवराज तामाङ र चन्द्र लिम्बुको भएको बताइएको भए पनि कोही पनि दाबी गर्न नआएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमलाले बताए ।

नियन्त्रणमा लिइएका ती टिपर, जेसीभी र ट्याक्टरलाई सम्बन्धित स्थानीय निकायलाई प्रहरीले बुझाएको छ । सुन्दरहरैँचा, बेलबारी, लेटाङ, पथरी शनिश्चरे, उर्लाबारी नगरपालिकासहित केराबारी, कानेपोखरी, मिक्लाजुङ, बुढीगंगा र ग्रामथान गाउँपालिका मोरङका विभिन्न खोलाका गिटी र बालुवा उत्खननका लागि खोला ठेक्कामा लगाउँदै आएका छन् ।

प्रहरी स्रोतका अनुसार स्थानीय निकायका जनप्रतिनिधि र क्रसर व्यवसायीको मिलोमतोमा खोलाको अवैध उत्खनन हुँदै आएको छ । कारबाहीका लागि प्रहरीले अवैध उत्खनन गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिएका उपकरण सम्बन्धित पालिकालाई बुझाए पनि मिलोमतोमा नाम मात्रको कारबाही गरेर सहजै छुट्ने गरेको प्रहरी स्रोतको भनाइ छ ।

प्रकाशित : असार २०, २०७९ १५:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?