भत्किएको एक वर्षसम्म पुल बनेन- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भत्किएको एक वर्षसम्म पुल बनेन

डिल्लीराम खतिवडा

उदयपुर — भत्किएको एक वर्ष पुग्दा पनि त्रियुगा नदीको पक्की पुल पुनर्निर्माण हुन सकेको छैन । चौदण्डीगढी नगरपालिका– ५ सिवाईघाटमा निर्माण सम्पन्न हुनै लाग्दा पुल भत्किएको थियो । यो विषयमा गरिएको अध्यययन प्रतिवेदन अझै नआउँदा निर्माणमा अन्योल भएको हो ।

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईघाटस्थित त्रियुगा नदीमा गत वर्ष १९ असारमा बाढीले बगाएको पक्की पुल । तस्बिर : डिल्लीराम/कान्तिपुर

बाढीले २०७८ असारमा निर्माणको अन्तिम चरणमा रहेको उक्त पुल भत्काइदिएको थियो । बाढीले सञ्चालन गर्ने तयारीमा रहेको पुलको दुई स्पान (३ स्लाब) भत्काएर पानीमा झरेको र एउटा बगाएको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, क्षेत्रीय सडक डिभिजनलगायतका टोलीले अनुगमन/निरीक्षण गरेका थिए । अनुगमनपछि पुल्चोक इन्जिनियरिङ कलेजलाई अध्यययन गरी प्रतिवेदन तयार पार्ने जिम्मा दिइएको थियो । तर एक वर्ष बित्दा पनि उक्त प्रतिवेदन आएको छैन । त्यसैले पुन ः निर्माण वा अन्य विकल्प के गर्ने अन्योल झएको गाईघाट दित्तेल सडक आयोजना प्रमुख इन्जिनियर गोपाल खकुरेलले वताए । उनले भने,‘मन्त्रालय, विभाग, क्षेत्रीय सडक कतैबाट पनि अहिलेसम्म स्पष्ट निर्देशन नहुँदा केही गर्न सकिएन ।’ बाढीले भत्काउनु एक साता अघि पुलबाट सर्वसाधारणलाई पैदल यात्राको अनुमति दिइएको थियो ।

पक्की पुलबाट नदी वारपार गर्ने धोको यो वर्षामा पनि सम्भव नभएको स्थानीय धमीनीथान सामुदायी वन उपभोक्ता समिति अध्यक्ष शान्ता हमालले बताइन् । हिउँदमा वारपार गर्न सकिने त्रियुगा नदी वर्षामा तर्न सकिँदैन । डुंगाकै भर पर्नुपर्ने हुन्छ । झन्डै १२ वर्ष लगाएर पुल निर्माण गरिएको थियो । पुल नहुँदा चौदण्डीगढी नगरपालिका ५, ९ र १० का स्थानीय वर्षाका ३ महिना डुंगाबाटै नदी तर्न बाध्य छन् । नगरपालिकाको केन्द्र बेल्टार बजारसम्म पुग्न यी वडावासी डुंगाको विकल्पमा सप्तरीको फत्तेपुर वा सदरमुकाम गाईघाट हुँदै आइजाइ गर्नुपर्ने हुन्छ । घुमेर बेल्टार बजार आउनेजाने गर्दा समय र लागतसमेत बढ्ने चौदण्डीगढी नगरपालिका– ५ सुन्दरपुरका वडाध्यक्ष तुलसीराम ढकालले बताए । उदयपुरको सबैभन्दा ठूलो नदी त्रियुगा हो । पुल नहुँदा उदयपुरको मुख्य व्यापारी केन्द्रमध्ये पर्ने बेल्टार बजार ओझेलमा छ । बजारसँग जोडिएको दक्षिण खोटाङका चिसापानी, सिमपानी र खोटाङ बजारलाई समेत असर परेको छ । पुल निर्माणसँगै यी बजारहरू पूर्वपश्चिमा महेन्द्र राजर्माग भएर राष्ट्रिय सडक सञ्जालमा आवद्ध हुन्छ ।

बाढीले क्षति पुगेको पुलमा २५/ २५ मिटरका १२ स्पान छन् । पुल ३ सय ७ मिटर लम्बाइ र ५ मिटर चौडाइ छ । पुलको निर्माण महालक्ष्मी/लोकप्रिय जेभी कन्स्ट्रक्सन कलाकी काठमाडौंले गरेको हो । पुलको डिजाइन र माटोको परीक्षण काठमाडौं बालाजुस्थित स्वाइल कन्सल्टेन्सी कम्पनीले गरेको थियो । ९ करोड ७६ लाख रुपैयाँको लागतमा सुरु गरिएको पुल पुनर्मूल्यांकन गर्दा भत्किँदाको समय ११ करोड २७ लाख रुपैयाँ पुगेको आयोजनाले जनाएको छ ।

प्रकाशित : असार १९, २०७९ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्

क्याम्पस प्रमुख नियुक्तिमा मनोमानी

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस प्रमुख नियुक्तिमा आफ्नालाई जिम्मेवारी दिन सिफारिस समिति र त्रिवि पदाधिकारीले मापदण्ड, विधि, प्रक्रियालाई बेवास्ता गरेको पाइएको छ । पछिल्लो समय पद्मकन्या क्याम्पसको प्रमुख नियुक्तिमा मनोमानी भएको हो । गत जेठ ९ मा क्याम्पस प्रमुख धनप्रसाद पण्डितको कार्यकाल सकिएपछि त्रिवि कार्यकारी परिषद्ले राजु मल्ललाई निमित्त जिम्मेवारी दिएको छ । 

आफूले रोजेकालाई नियुक्ति दिन सिफारिस समितिदेखि त्रिवि पदाधिकारीसम्मले ‘बदनियत’ राखेको प्राध्यापक र कर्मचारीको गुनासो छ । पद्मकन्या स्वायत्त क्याम्पस भएकाले सञ्चालक समितिको सिफारिसमा त्रिविले प्रमुख नियुक्ति गर्नुपर्ने हुन्छ । वरिष्ठताका आधारमा प्राध्यापक, सहप्राध्यापक हुँदाहुँदै सिफारिस समितिले उपप्राध्यापकलाई मात्रै क्याम्पस प्रमुखमा सिफारिस गरेर मनोमानी गरेको छ भने त्रिविले सिफारिस भएकामध्येबाट क्याम्पस प्रमुख नियुक्ति गर्न नसकेर निमित्तको जिम्मेवारी थुपारिदिएको छ । चार वर्षअघि पण्डितलाई क्याम्पस प्रमुख बनाउँदा पनि सिफारिस र नियुक्ति मापदण्डबारे प्रश्न उठेको थियो । समितिले वरिष्ठ प्राध्यापक, सहप्राध्यापक हुँदाहुँदै उपप्राध्यापकबाट मात्रै सिफारिस गरेकाले पहिलेका सहायक क्याम्पस प्रमुखलाई निमित्तको जिम्मेवारी दिइएको त्रिविका रेक्टर शिवलाल भुसालले जनाए । ‘क्याम्पसमा धेरै जना प्राध्यापक र सहप्राध्यापक छन्, किन उपप्राध्यापकको मात्रै सिफारिस भयो ?’ उनले भने, ‘सिफारिसमा अरू प्रक्रिया पनि मिलेको देखिँदैन, समितिको गठनकै पनि प्रक्रिया पुगेजस्तो छैन । क्याम्पसलाई मिलाएर पठाउन भनेका छौं ।’

पद्मकन्या क्याम्पसकै अध्यापकहरू सञ्चालक समिति र सिफारिस समितिले स्वायत्तताको दुरुपयोग गरेको आरोप लगाउँछन् भने कांग्रेसनिकट केही प्राध्यापकहरू त्रिवि पदाधिकारीले क्याम्पसको स्वायत्तता खोसेको गुनासो गर्छन् । ३० जनाभन्दा बढी प्राध्यापक–सहप्राध्यापक त्यहाँ कार्यरत छन् ।

प्रकाशित : असार १९, २०७९ ०८:०३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×