कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

९० परिवार टुकीकै भरमा 

धनकुटा — धनकुटा नगरपालिका–८ पेलामस्वारिवाकी श्यामकुमारी आठपहरिया राईको उज्यालोको विकल्प अझै पनि टुकी नै छ । अझ बेलुकी घामको उज्यालोमै खाएर सुत्ने तर्खर गर्छिन् । घरमा विद्युत् जडान नहुनु यसको मुख्य कारण हो । 

९० परिवार टुकीकै भरमा 

सदमुकामबाट मुस्किलले चार किमि दूरीको आठपहरिया जातिको मुख्य बस्तीका ९० परिवार श्यामकुमारीकै अवस्था झेलिरहेका छन् । उनीहरू अझै विद्युत् सेवाबाट वञ्चित छन् । २०३५ मा तत्कालीन नगर पञ्चायत घोषणा भएको थियो । २०४६ पछि नगरपालिका रहेको धनकुटा सदरमुकाम क्षेत्रमा पाँच दशक पहिले नै विद्युत् सेवा विस्तार भएको थियो । तर, अझै पनि बिजुली बाल्नबाट वञ्चित हुनेहरू छन् ।

अल्पसंख्यक तथा सीमान्तकृत आठपहरिया जाति मुलुकभरमै धनकुटा नगर क्षेत्रमा बसोबास गर्दै आएका छन् । उक्त जातिको मुख्य बसोबास धनकुटा–८ स्थित पेलामस्वारिवा, पेलेकपाङ, जयदेवी टोल, मार्गा टोल, सान्ताङलगायत टोलमा विकासका पूर्वाधारको स्थिति दयनीय छ । ती बस्तीमा विद्युत् लाइन विस्तार भएको विद्युत् प्राधिकरणले जनाएको छ । तर, पुस्तौंपुस्ता बिताइसकेका ९० परिवार भने अझै विद्युत् सेवाबाट वञ्चित छन् ।

पेलेकपाङकी आशा आठपहरिया राईले बिजुली बाल्न विद्युत् प्राधिकरणमा निवेदन दिएको वर्षौं भएको बताइन् । तर, ताकेता गर्दा पनि सफल नभएको गुनासो पोखिन् । उनले वडा कार्यालयमार्फत बिजुलीका लागि पहल गर्न निवेदन दिएकी छन् । पुर्ख्यौली थातथलो रहेका उनीहरूको घरजग्गा छ । तर, बिजुली बाल्न नपाउनुमा अधिकांसका जग्गा वर्षौंदेखि धितो बन्धकमा साहुकोमा धनीपुर्जा भएकोले समस्या छ ।

स्थानीय मुसेमान आठपहरिया राईले बुबाबाजेको पालादेखि आफूले टुकीकै भरमा बिताएको बताउँछन् । उनी भन्छन्, ‘वारिपारि सबैतिर झिलीमिली छ, हाम्रै घरआँगन अझै अँधेरै छ ।’

प्रकाशित : असार १८, २०७९ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?