कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोजपुरका पाँच स्थानीय तहमा यातायात अवरुद्ध

रासस

भोजपुर — वर्षातका कारण भोजपुरका पाँच स्थानीय तहको यातायात सेवा अवरुद्ध भएको छ । वर्षाले ग्रामीण भेगका कच्ची सडक हिलाम्य भएका छन् । यातायात बन्द हुँदा स्थानीयलाई आवतजावतसँगै दैनिक उपभोग्य वस्तु ढुवानी गर्न समस्या भएको छ ।

दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातयात सेवा बन्द छ । सडक हिलाम्य बन्दा आवतजावत बन्द भएको हो । सडक हिलाम्य भएपछि कृषकले उत्पादन गरेका कृषिउपजसँगै दूध संकलनमा समस्या भएको छ । मर्मतमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने स्थानीयको माग छ ।

गणेशस्थान दुग्ध उद्योगका सञ्चालक रमेश कार्की दुग्धजन्य पदार्थ सङ्कलनमा समस्या भएको बताए । 'कष्टपूर्ण यात्रा गरेर कृषिउपज बजारसम्म लैजानु पर्छ', उनले भने । सडक अवरुद्ध भएपछि सुत्केरी र बिरामीलाई समस्या भएको छ । दैनिक उपभोग्य वस्तु ढुवानी गर्न कठिनाइ भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका सन्तोष विष्टले बताए ।

सदरमुकामबाट खोटाङको पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द छ । भोजपुर–लेगुवा (६६ किलोमिटर) सडक र भोजपुर–चखेवा (४२ किलोमिटर) सडक भने सञ्चालनमा छ ।

प्रकाशित : असार १६, २०७९ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?