कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानलाई परिचयपत्र

तेह्रथुम — असार १० मा नीति तथा कार्यक्रममा कृषि क्षेत्र लक्षित बजेट प्रस्तुत गरेको छथर गाउँपालिकाले पाँच दिनपछि बुधबारबाट किसान परिचयपत्र वितरण सुरु गरेको छ । खेतीयोग्य जमिन बाँझो छाड्न नपाइने नियम बनाएको गाउँपालिकाले सुविधा र सहुलियत दिनकै लागि प्रदेश १ मै पहिलो पटक किसान परिचयपत्र वितरण सुरु गरेको अध्यक्ष सन्तविर लिम्बूले दाबी गरेका छन् ।

किसानलाई परिचयपत्र

गाउँपालिकाले धान दिवसमा वडा १ र २ का किसानलाई पहिलो चरणमा परिचयपत्र वितरण गर्यो । किसानका घरघरमै पुगेर लगत संकलन गरी डिजिटल प्रविधिको परिचयपत्र वितरण गरिएको प्रवक्ता राजन नेपालीले जानकारी दिए । गाउँपालिका क्षेत्रभित्र ३ हजार ६ सय घरधुरीको बसोबास छ । यीमध्ये २ हजार ७ सय १८ घरधुरी कृषि पेसामा आबद्ध रहेको गाउँपालिकाले जनाएको छ ।

‘गाउँपालिकाले अब कृषि क्षेत्रमा लगानी केन्द्रित गर्छ,’ अध्यक्ष लिम्बूले भने, ‘त्यसकै लागि किसान पहिचानका लागि परिचयपत्र वितरण गरिएको हो ।’

परिचयपत्रले वास्तविक किसानलाई स्थानीयसँगै माथिल्लो तहको सरकारसँग जोड्ने गाउँपालिकाको विश्वास छ । उनले स्थानीय स्तरमा उत्पादित कृषि उपजको बजारीकरण गर्न सहयोग गर्ने बताए । परिचयपत्र पाएपछि किसान पनि खुसी छन् । छथर–१ आङदिमका युवा किसान लक्ष्मण भटराईले कृषि पेसामा लागेको लामो समय पछि भए पनि परिचयपत्र पाउँदा गर्व लागेको बताए । गाउँपालिकाको १३ हजार ३ सय हेक्टर जमिनमध्ये ६ हजार हेक्टर खेतीयोग्य छ । यो सबै जमिनमा हरित खेती अभियान नै सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ । स्थानीय किसानले अब खेतीयोग्य जमिन बाँझो राख्न पाउने छैनन् । आफू खेती गर्न नसक्ने भए जग्गाधनी किसानले त्यस्तो जमिन गाउँपालिकालाई लिजमा सम्झौता गरी दिनुपर्ने छ ।

प्रकाशित : असार १६, २०७९ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?