कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनसरीका ६ स्थानीय तहका बस्ती डुबानमा

सप्तकोसीमा पानीको बहाब बढ्नेक्रम जारी
प्रदीप मेन्याङ्बो

सुनसरी — अविरल वर्षाका कारण सुनसरीका आधादर्जन बढी स्थानीय तहका बस्तीहरु डुबानमा परेका छन् । हालसम्म मानवीय क्षति नभएपनि डुबानका कारण दर्जनौं घर परिवार विस्थापित भएका छन् ।  

सुनसरीका ६ स्थानीय तहका बस्ती डुबानमा

जिल्ला प्रशासन कार्यालयकाअनुसार दुइदिनदेखि परेको वर्षाका कारण खोला नदीमा आएको बाढीले सुनसरीका धेरै बस्ती डुबानको चपेटामा परेका छन् । बाढी र डुबानबाट सुनसरीका ६ पालिका प्रभावित भएका छन् ।

तीमध्ये सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ र ७ वडाका सयौं घर सुनसरी खोलाको बाढीले डुबान परेका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भोक्राहा नरसिंह–७ का १ सय ५० घर पूर्णरुपमा डुबानमा परेको र १ सय ८८ घर आंशिक डुबानमा परेको बताए ।

भोक्राहा नरसिंह गाउँपालिका–५ मा ३० घरपरिवार विस्थापित भएका छन् । तीमध्ये १६ घरका ९० जना त्रिपाल टाँगेर बसेका छन् भने १४ घरका ८० जना छरछिमेकको घर टहरामा आश्रय लिएर बसेका छन् ।

यादवले भने, ‘डुबानको कारण सुनसरीमा २ सय ३९ जनाभन्दा बढी मानिस विस्थापित हुन पुगेका छन् । सुनसरीका भोक्राहा नरसिंह गाउँपालिका, इटहरी उपमहानगरपालिका, बर्जु गाउँपालिका सबैभन्दा बढी बाढीको चपेटामा परेको छ ।’

जिल्ला प्रशासन कार्यालयले दिएको जानकारीअनुसार बर्जु गाउँपालिका–६ चिमडीमा ३० देखि ४० घर परिवारका सयजना विस्थापित भएर डुबान नभएको उच्च स्थानमा पाल टाँगेर बसेका छन् । यसैगरी बर्जु–५ मा ट्याङ्ग्रा खोलामा आएको बाढीले पण्डित टोलमा ६ परिवार, गुरुङ टोलमा ८ परिवार पनि विस्थापित भएका छन् । प्रजिअ यादवका अनुसार विस्थापित ८ घरका ३२ जनालाई मुसहर भवन र ७ घरका २९ जनालाई रामजानकी प्राविमा स्थानान्तरण गरेर राखिएको छ ।

दुहबी नगरपालिका– ४ ढकिबुन्ना टोलमा बुढी खोलामा आएको बाढीले कटान गर्दा शोभा चौधरी र विकास विकको घर भत्किँदा ९ जना विस्थापित भएका छन् । उनीहरुलाई उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ ।

सुनसरी खोलामा आएको बाढीले इनरुवा नगरपालिका– ८ उराव टोलका २० घर डुबानमा परेको छ । हरिनगर गाउपालिका –५ स्थित वसन्तपुरमा केही घर विस्थापित हुने अवस्थामा रहेको प्रशासनले जनाएको छ ।

इटहरी उपमहानगरपालिका–५ स्थित सिमरवनामा सिकुमारी खोलामा आएको बाढीले रामवृक्ष चौधरीको २ तले घर कटान भएर भत्किएको छ भने घरको सबै सामग्री बगाएको प्रशासनले जनाएको छ । चौधरीका ८ जना परिवार हाल छिमेकीको घरमा शरण लिएर बसेका छन् । बराहक्षेत्र नगरपालिका –१ चतराको भित्रि सडक खण्डमा आएको पहिरोले १० मिटर सडक पुरिएको छ । उक्त सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रशासनले जनाएको छ ।

सप्तकोसीमा पानीको बहाब निरन्तर बढ्दै

सप्तकोसीमा पानीको बहाब बढ्ने क्रम जारी रहेको छ । बुधबार अपरान्ह ४ बजेसम्ममा १ लाख ८१ हजार ९५ क्युसेक प्रतिसेकेण्ड पानीको बहाब रहेको छ । बुधबार बिहान १० बजे कोसी ब्यारेजमा १ लाख ५८ हजार क्युसेक पानी मापन गरिएकोमा मध्यान्हमा १ लाख ६६ हजार ६ सय २० क्युसेक प्रतिसेकेण्ड पानीको बहाब रहेको थियो ।

यसअघि मंगलबार साँझमा १ लाख ३१ हजार ३० क्युसेक प्रतिसेकेण्ड पानीको वहाव रहेको थियो । कोसीमा दुईलाख क्युसेक प्रतिसेकण्ड पानीको बहाब भएमा खतराको संकेत मानिने गरिएको छ ।

प्रकाशित : असार १५, २०७९ २०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?