बलात्कार मुद्दाका अभियुक्त 'सिद्धबाबा'ले दुईवटा नागरिकता लिएको खुलासा- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार मुद्दाका अभियुक्त 'सिद्धबाबा'ले दुईवटा नागरिकता लिएको खुलासा

प्रदीप मेन्याङ्बो

सुनसरी — बलात्कार मुद्दाका अभियुक्त सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले फरक मितिमा दुई वटा नागरिकता लिएको पाइएको छ । ती नागरिकतामा जन्ममिति पनि फरक रहेको पाइएको छ ।

गिरीले ०४८ फागुन १२ गते बंशजको आधारमा सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयबाट छविलाल गिरीको छोरा कृष्ण बहादुर गिरी भएको पहिलो नागरिकता लिएका छन् । त्यहाँ उनको ठेगाना जुवु– १ र जन्म मिति २०३० मंसिर १० गते उल्लेख छ । नागरिकता प्रमाणपत्र नम्बर २२२७/५९५ रहेको छ ।

बनस्पती द्रव्यगुणमा जर्मनीको पेन्सिलभेनिया विश्वविद्यालयबाट विद्यावारिधि गरेको भन्दै आएका उनले दोश्रो नागरिकता जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ०६५ पुस १७ गते लिएका छन् । बंशजकै आधारमा निकालेका उक्त नागरिकतामा भने उनको नाम श्रीवैषणव कृष्णदास रहेको छ । दोश्रो नागरिकतामा जन्मस्थान ठेगाना जुवु, बाबु छविलाल गिरी, स्थायी बासस्थान बराहक्षेत्र १, जन्ममिति २०३१ साल फागुन १९ गते उल्लेख रहेको छ । पहिलो नागरिकतामा सोलुका तात्कालीन प्रशासकीय अधिकृत भीमशेर रुम्दालीले प्रमाणित गरिदिएका छन् भने दोश्रो नागरिकता सुनसरीका तात्कालीन प्रशासकीय अधिकृत बेदनिधि खनालले प्रमाणित गरिदिएका छन् ।

व्यक्ति एउटै, नागरिकता लिएको जिल्ला बेग्लाबेग्लै र जन्ममिति समेत फरक देखिएको उक्त नागरिकतामध्ये पहिलो नागरिकता १८ वर्ष पुगेपछि लिएको देखिन्छ भने दोश्रो नागरिकता ३४ वर्षको उमेरमा लिएको देखिन्छन् ।

कृष्णदासले विज्ञानको केमिस्ट्रीमा एमएस्सी, बनस्पति द्रब्यगुणमा जर्मनीको पेन्सिलभेनी युनिभर्सिटीबाट पिएचडी, चेन्नाईको सेन्ट जोसेफबाट मेट्रिक, बनारसको सम्पुर्णानन्द संस्कृत विश्वविद्यालयबाट व्याकरणमा आचार्य, आयुर्वेद विद्यामा आचार्य, ज्योतिष विद्यामा आचार्य, योग विद्यामा आचार्य, गरेको बताउँदै आएका छन् ।

कतिपयलाई बोटानिकल साइन्स पनि पढेको भन्ने गरेका छन् । उनले ०६५ सालदेखि आफ्नो नामको अगाडि विद्यावारिधिको डा. लेख्दै आएपछि पछिल्लो समयमा बलात्कार काण्डमा मुछिएपछि डाक्टर लेख्न भने छाडेका छन् ।

बलात्कार मुद्दामा अभियुक्त गिरीलाई सफाइ दिँदै जिल्ला अदालत सुनसरीले गरेको फैसलालाई उच्च अदालत विराटनगरले बदर गरिदिएको छ ।

बलात्कार मुद्दामा 'सिद्धबाबा'लाई सफाइ दिने सुनसरी अदालतको फैसला बदर

प्रकाशित : असार १३, २०७९ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्

लिफ्ट मागेर कर्मचारीलाई लुटपाट गर्ने तीन जना भारतीय पक्राउ

चित्रांग थापा

धनगढी — कैलालीको गोदावरीमा सोमबार डडेलधुराको आलीताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्र भण्डारी कुटपिट गर्ने  ३ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

तस्बिर : प्रकाश पार्कीको फेसबुकबाट

कैलाली जिल्ला प्रहरी कार्यालयका डीएसपी वेद जोशीका अनुसार नेपाली कर्मचारीलाई कुटपिट गरी उनको कारसमेत लुटेर फरार भएका भारतको हरियाणा राज्यका २१ वर्षीय भगत सिंह, २० वर्षीय सन्नी जाट र १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु तीनै जनालाई स्थानीयवासीको सूचनाको आधारमा कैलालीको गोदावरी नगरपालिका–१ को एैश्वर्य सामुदायिक वनमा लुकेर बसेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको डीएसपी जोशीले बताए ।

धनगढी–अत्तरिया सडकखण्डनजिक रैकवार विचवाको शान्तिपुर जाने भित्री मार्गमा लुटिएको प्रदेश ३—०१—२३ च ८७२१ नम्बरको कारसमेत फेला परेको डीएसपी जोशीले जानकारी दिए । उक्त कार कम्प्युटर अपरेटर भण्डारीको हो । आफै कार चलाएर गन्तव्यतर्फ गइरहेका बेला उनी लुटिएका हुन् ।

गोदावरीनजिक रोकेर तेल हालिदिने सर्तमा उनीहरूले केही माथिसम्म लगि लिफ्ट मागेको भण्डारीले जानकारी दिएका छन् । डीएसपी जोशीका अनुसार गोदावरीमाथि पुगेपछि उनीहरुले फोटो खिच्ने बहानामा गाडी रोकाएर राजमार्गभन्दा ५० मिटर तल झाडीमा लगेर भण्डारीमाथि कुटपिट र गाडीसमेत लुटेर लगेका थिए ।

उनीहरूले भण्डारीलाई गम्छाले मुख बाँधेर, हातखुट्टासमेत बाँधेर कुटपिट गरेका थिए । ढुंगा प्रहारबाट उनको टाउकोमा चोटसमेत लागेको छ । भण्डारीसँग रहेको केही नगद र एटीएम कार्डसमेत लुटिएको थियो । उनको कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ ।

घटनाको प्रारम्भिक अनुसन्धान सुरु भएको र लुटेराहरुसँग बयान र सोधपुछपछि घटनाबारे थप जानकारी हुने डीएसपी जोशीले बताए ।

प्रकाशित : असार १३, २०७९ १९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×