ताप्लेजुङमा पहिरोले घर बगायो

विद्युत्, सञ्चार अवरुद्ध
आनन्द गौतम

ताप्लेजुङ — अविरल वर्षा सँगैको पहिरोले शनिबार बिहान फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम चाकुका जीवन बाराकोटीको घर बगाएको छ । प्रहरी नायब उपरीक्षक कैलाश राईले मानवीय क्षति नभएको, तर भैंसी, बाख्रालगायतका पशुचौपाया बगाएको जानकारी दिए । पहिरो जान थालेपछि मानिसहरु भागेका थिए ।

ताप्लेजुङमा पहिरोले घर बगायो

यहाँका करिब २५ घर पहिरोको जोखिममा परेको स्थानिय जगन पौडेलले बताए । पानी परिरहेको खण्डमा बस्ने अवस्था नहुने उनले बताए । विस्थापित परिवारलाई स्थानीय विद्यालयमा राख्ने विषयमा छलफल भइरहेको वडाध्यक्ष भूपेन्द्र चौलागाईं बताउँछन् ।

फक्ताङलुङ गाउँपालिका–१ सावादिन तेम्रुङमा सिरानघरे कान्छा भनेर चिनिने टेकबहादुर श्रेष्ठको भैंसी, बाख्रा लगायतका पशु चौपाया बगाएको स्थानीय भक्तबहादुर सावदिनले जानकारी दिएका छन् । यहाँका पनि केही घर जोखिममा रहेको उनले बताए ।


ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा गएको पहिरो । तस्बिर सौजन्य : भक्तबहादुर कटवाल

सिरिजंगा गाउँपालिका ७ खेवाङका विस्थापित परिवार सुरक्षित घर र भवन पहिचान गरी सेल्टर बनाएर बसेका छन् । स्थानीय गणेश माविका शिक्षक विनम मावोका अनुसार पहिरोको जोखिम कायमै रहेकाले मानिसहरु घर फर्कन सकेका छैनन् । सञ्चार सम्पर्क हुन नसकेका कारण समस्या भएको छ । पहिरो प्रभावित क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध भएको विनमले बताए ।


प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलका अनुसार सिरिजंगा १ सिनाममा रहेको सशस्त्र प्रहरीको टोली खेवाङतर्फ पठाइएको छ । जताततै पहिरो चलेकाले टोलीलाई पुग्न समय लाग्न सक्ने पोख्रेलले बताएका छन् । खेवाङ प्रहरी चौकीको टोली परिचालन गरिएको राई बताउँछन् ।


बिहीबार बेलुकाको पहिरोमा परी ज्यान गुमाएका सासु तुलसा र बुहारी यशोदा अधिकारीको अन्त्येष्टि कावेली नदीमा शनिबार बिहान भएको छ । सदरमुकाम फुङलिङमा पोष्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको र ससुरा उद्योग अधिकारीले जिम्मा लिई अन्त्येष्टि गरेको स्थानीय प्रशासनले जनाएको छ । पहिरोमा परी घाइते भएका विष्णु अधिकारीको स्वास्थ्यमा सुधार आएको उनका मावली वसन्त दाहालले जानकारी दिए । घाइतेको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । नेपाली सेनाको हेलिकोप्टरले मृतकलाई पोष्टमाटर्मका लागि सदरमुकाम फुङलिङ ल्याइ घाइतेलाई कोशी अस्पताल पुर्‍याएको हो ।

पहिरोले फक्ताङलुङ २ खेजेनिम चाखुमा दुई वटा खानेपानीको मुहान बगाउँदा ४५ परिवार खानेपानीवाट बञ्चित भएका छन् । मेथेम खोला पावर हाउसको ३० मिटर पाइप बगाउँदा सात सय परिवार विद्युत् सेवावाट बञ्चित भएका छन् । गाउँपालिका जोड्ने सडक अवरुद्ध भएको छ । सिरिजंगा गाउँपालिकाको मामांखे, पेदाङ र खेवाङ विद्युत तथा सञ्चारविहीन भएका छन् । ७० किलोवाटको खाक्सेखोला लघु जलविद्युत् बगाउँदा विद्युत्‌विहीन भएको र मोबाइल चार्ज गर्नसम्म नपाएको स्थानीयले बताएका छन् ।

प्रकाशित : असार ४, २०७९ १३:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?