कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तमोरमा जल सतहले सर्तकता तह पार गर्‍यो

पहिरोको जोखिम बढेपछि ९ परिवार विस्थापित
लक्ष्मी गौतम

पाँचथर — पाँचथर र तेह्रथुमलाई सिमाना छुट्याएर बग्ने तमोर नदीको जल सतहले सतर्कता तह पार गरेको छ । बिहीबार साँझदेखि बाढीसँगै सतर्कता तह पार गरेपछि जिल्लाको हिलिहाङ गाउँपालिका र फिदिम नगरपालिकामा पर्ने तमोर तटीय क्षेत्रका सर्वसाधारण त्रसित भएका छन् ।

तमोरमा जल सतहले सर्तकता तह पार गर्‍यो

तमोर नदीले हिलिहाङ ७ को माझी बस्तीतर्फ कटान सुरु गरेको स्थानीय जसबहादुर माझीले जानकारी दिए । उनका अनुसार बस्ती रहेका पाँचथर क्षेत्रतर्फ तमोरले कटान गरिरहेको छ । फिदिम र हिलिहाङको तमोर तटीय क्षेत्रमा माझी र तामाङ समुदायका डेढ दर्जन घर छन् ।

तमोरमा जल सतह बढेसँगै हिलिहाङ, फिदिम, र कुम्मायक गाउँपालिकामा पर्ने माझी बस्ती जोखिममा पर्न सक्ने भन्दै शुक्रबार बिहानै जल तथा मौसम विज्ञान विभागले समेत सतर्क रहन भनेको छ । यस्तै ताप्लेजुङ र पाँचथरलाई सिमाना छुट्याएर बग्ने काबेली नदीले पनि जल सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यद्यपि स्थानीय प्रशासनले भने सो विषयमा अनभिज्ञता प्रकट गरेको छ ।

‘अहिलेसम्म हामीले सोबारे केही जानकारी पाएका छैनौं, अब बुझ्छौं ।’निमित्त प्रमुख जिल्ला अधिकारी तिर्थराज पौडेलले भने ।

पहिरोको जोखिम बढेपछि ९ परिवार विस्थापित

पहिरोको जोखिम बढेपछि ९ परिवार विस्थापित भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–५, प्राङबुङका ९ परिवार विस्थापित भएका छन् । बस्ती माथिबाट खनिएको सडकसँगै जमिन भासिँदै पहिरोको रुप लिएपछि सिरिसे टोलका ९ परिवार विस्तापित भएका हुन् ।

एक सातायता नियमित वर्षा हुनका साथै पहिरो जान थालेपछि स्थानीय उक्तलाल ज्ञाङमी, नोर्बु मगर,जसमान दर्लामी,पदम आले कृष्णबहादुर दर्लामी, धनकुमार दर्लामी, विरेन्द्र दर्लामी, हेम दर्लामी र जितबहादुर दर्लामीको परिवार विस्थापित भएका हुन् । उनीहरु बस्ती नै जोखिममा परेपछि रातको समय छिमेकी र आफन्तकहाँ गएर बास बसिरहेको स्थानीय सामाजिक अगुवा अम्बिकाप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार यस क्षेत्रमा ठूलो क्षेत्रले पहिरोको रुप लिएको छ ।

पहिरोको जोखिमा परेका परिवारलाई रेडक्रस र गाउँपालिकासँगको समन्वयमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने प्रयास भइरहेको फालेलुङ ५ का वडाध्यक्ष भरत खपाङ्गीले जानकारी दिए ।

प्रकाशित : असार ३, २०७९ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?