कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीपहिरो प्रभावितलाई अझै सास्ती

वैकल्पिक व्यवस्थापनमा ढिलाइ, एक सयभन्दा बढी विस्थापित
रमेशचन्द्र अधिकारी

धनकुटा — मनसुन सुरु भइसक्दा पनि अघिल्लै वर्षका बाढीपहिरो प्रभावितलाई अझै वैकल्पिक व्यवस्थापन नगरिँदा जिल्लाका एक सय बढी विस्थापित परिवारको अवस्था जटिल बनेको छ । दुई वर्ष पहिले नै वैकल्पिक व्यवस्थापन गर्नुपर्ने बस्तीको पहिचान गरिएको थियो ।

बाढीपहिरो प्रभावितलाई अझै सास्ती

धनकुटा नगरपालिकासहित पाख्रीबास, महालक्ष्मी नगरपालिका तथा सहिदभूमि र साँगुरीगढी गाउँपालिकाका पहिरो प्रभावितको अझै व्यवस्थापन नहुँदा यस वर्ष मनसुनको सुरुवातमा नै उक्त बस्ती पुनः जोखिममा पर्दै गएका छन् । अधिकांश स्थानमा जमिनमा धाजा फाट्ने गरेका छन् । वर्षामा ती क्षेत्र उच्च जोखिममा छन् ।

साँगुरीगढी गाउॅपालिका–६ स्थित मझुवा र मुक्तेन गाउॅ उच्च जोखिममा छ । दुई वर्षअघि नै उक्त गाउँ पहिरोको चपेटामा परेको थियो । अहिले केही दिनदेखिको वर्षाले त्यहाँ थप जटिलता निम्तिएको स्थानीयले बताए । चार सय रोपनी क्षेत्रफलको जमिन भासिएपछि सिंगो गाउँ उच्च जोखिममा पर्दै आएको छ । केही परिवारलाई अघिल्लो वर्ष स्थानान्तर गरिए पनि आसपासका ६० परिवारको अवस्था जटिल रहेको स्थानीय दिपक मगरले बताए ।

आफूले स्थलगत रूपमा अवस्था नियालेर स्थानान्तरणका लागि थालनी गर्ने साँगुरीगढीका अध्यक्ष जितेन्द्र राईले बताए । ती परिवारलाई तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको उनले जनाए । उनले भने ‘सिंगो बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेकाले उपयुक्त स्थानको खोजिमा जुटेका छौं ।’ पहिरोकै कारण यस अघि दर्जन बढी परिवार त्यहाँबाट बसाइँ सरेर अन्यत्र गइसकेका छन् । मझुवाको साँचा खोलामा आएको बाढी र ठूलो भूभागमा पहिरो गए पछि आसपासका बस्ती जोखिममा परेका हुन् । स्थानीय अमृत मगरले आफ्नो १० मध्ये ९ रोपनी जग्गा पहिरो र खोलाले सकिएको बताए । ‘घरबार नै पहिरोले गुम्यो’, उनले भने, ‘सुरक्षित ठाउँ खोज्दै आफन्तको शरणमा बस्दै आएको छु ।’ उक्त खोलाको बाढीले बर्सेनि कटान गर्दै क्रमशः बस्तीसम्म आइपुगेको स्थानीय यमबहादुर मगरले बताए । पहिरोका कारण रवि–राँके–सडक खण्ड समेत जोखिममा छ ।

महालक्ष्मी नगरपालिका–४ डाँडाखर्कस्थित खारटोल दुई वर्षदेखि सुरु भएको धाँजा फाट्ने समस्याले ७ घर विस्थापित अवस्थामा छन् । स्थानीय थर्कबहादुर थापाका अनुसार घरगोठ चर्किएर बस्न नहुने भएपछि थाँतथलो छोडेर विस्थापित हुनुपर्ने अवस्थामा छौं । ती परिवारलाई अझै उद्धार गर्न नसकिएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुबराज रायाले बताए । वैकल्पिक व्यवस्थापन गरिने निर्णय अघिल्लै वर्ष गरिए पनि कार्यान्वयनमा ढिलाइ भएको छ । ‘यस वर्षको वर्षामा प्रभावित परिवारलाई वैकल्पिक रूपमा व्यवस्थापन गर्न प्रयास गरिने छ’, उनले भने, ‘विपद् व्यवस्थापन प्राधिकरणबाट बजेट आउनासाथ स्थानान्तरणको प्रक्रियामा जानेछौं ।’ प्रभावितलाई अघिल्लो वर्ष प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको थियो ।

धनकुटा नगरपालिका–८ को याक्ते गाउँको सिंगो बस्ती चारै तिर जमिनमा धाँजा फाटेर चिरिएको छ । त्यहाँका २४ परिवार पूर्णरूपमा विस्थापित छन् । अझै पनि वैकल्पिक व्यवस्थापन नगरिएको स्थानीयको गुनासो छ । नगर क्षेत्रका १ सय २ घर जोखिममा रहेकोबारे जिल्ला विपद् व्यवस्थापनमा पठाइएको भए पनि सीमित मात्र सिफारिसमा परेको धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापा बताउँछन् । धनकुटा–६ को फोकलेन्ड टापु टोल पनि उस्तै जोखिममा छ । वर्षा सुरु हुँदा चिन्ताले आफूहरूलाई राति निद्रासमेत नपर्ने स्थानीय सन्तवीर मोक्तानले बताए । पहिरोबाट विस्थापित पाख्रिबास नगरपालिका–१ बानियाँ गाउँमा १२ परिवारका लागि समेत अझै बैकल्पिक व्यवस्थापन हुन सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार गत वर्षको वर्षाले जिल्लामा १ सय ६६ घर क्षति पुगेको थियो । ९ जनाको मृत्यु भएको थियो । यस्तै महालक्ष्मी ७, सहिदभूमि ३२, पाख्रिबास ९, साँगुरीगढी २६ र धनकुटा नगरपालिका २४ परिवार पहिरोका कारण उच्च जोखिममा छन् । विपद्का घटनापछि राहत बाँड्नेभन्दा पूर्वसावधानी र प्रतिकार्य योजनामा चासो जानुपर्ने रेडक्रस धनकुटाका सभापति हरिकुमार राई बताउँछन् ।

जोखिमयुक्त संरचना हटाउन चासो गएन

राजमार्ग, विद्यालय र बस्तीसँगै जोखिमपूर्ण रूपमा ढल्न लागेको कंक्रिटको चौतारा महिनौंसम्म हटाइएको छैन । धनकुटा–६ स्थित ५२ ढोके दरबारअघिको उक्त भत्किएको चौतारामा अझै सर्वसाधारण बस्छन् । पहिरोले चौताराको आधा भाग भत्किएको महिनौं भएको छ । उक्त स्थानमा सर्वसाधारणको जमघट हुने गरेकाले कुनै पनि बेला मानवीय क्षति पुग्न सक्ने स्थानीय राजेश्वर श्रेष्ठ बताउँछन् । चौताराको तल्लो भाग राजमार्ग र अगाडिको भाग बजारको मुख्य आवतजावत गर्ने सडक छ । चौतारामा बनाइएको सिमेन्टको पिल्लरको आधा भाग भत्किएर लड्न सक्ने अवस्थामा रहेको उनले बताए । अन्य सार्वजनिक स्थलमा समेत यसप्रकारका जोखिमयुक्त संरचना रहेको स्थानीयको भनाइ छ ।

प्रकाशित : जेष्ठ २९, २०७९ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?