कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सवारी दुर्घटनामा दुई जनाको मृत्यु, पाँच घाइते

लक्ष्मी गौतम

पाँचथर — पाँचथर र इलाममा छुट्टाछुट्टै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।

पाँचथरको फालेलुङ गाउँपालिका–३ नाम्लुवास्थित भित्रि सडकखण्डमा पञ्चमुखीदेखि थोक्लिम्बातर्फ जाँदै गरेको प्र.१–०२–००३ त १८५४ नम्बरको ट्याक्टर अनियन्त्रित भइ सडकदेखि १० फिट तल खस्दा स्थानीय २२ वर्षीय सुरेश साँवाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मेची राजमार्गको झापा इलाम सडक खण्ड अन्तर्गत इलामको सूर्योदय नगरपालिका–७ सुकेपोखरीमा भएको जिप दुर्घटनामा झापाको बिर्तामोड नगरपालिका ३ निवासी ५७ वर्षीय ईश्वरीप्रसाद खरेलको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार गम्भीर अवस्थामा रहेका उनको झापाको बिएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बिर्तामोडदेखि फिक्कलतर्फ जाँदै गरेको प्रदेश न. १–०१–००१ च ९१९३ नम्बरको जिप साँझ ७ बजे अनियन्त्रित भई सडकदेखि एक सय मिटर तल खस्दा खरेलसहित ६ जना घाइते भएका थिए ।

दुर्घटनामा चालक झापा बिर्तामोड नगरपालिका–५ का ५० वर्षीय गणेश पराजुलीसहित जिपमा सवार विर्तामोड ४ का ४५ वर्षीय एकराज विष्ट, विर्तामोड ४ का ४५ वर्षीय डिल्ली बस्नेत, बिर्तामोड ३ का ४७ वर्षीय तसबहादुर प्रधान र बिर्तामोड–४ का ५३ वर्षीय सन्तोष श्रेष्ठको बिएन्डसी असपतालमा उपचार भइरहेको छ ।

प्रकाशित : जेष्ठ २८, २०७९ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?