कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६६

दिक्तेल बजार क्षेत्रको सडक अलपत्रै

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका निवर्तमान प्रमुख दीपनारायण रिजालले गत आर्थिक वर्ष नै दिक्तेल बजारको सडक ढलान पूरा गराउने वाचा गरेका थिए । तर यो आव सकिन लाग्दा पनि काम अपूरै छ । काम नगरी अलपत्र छोड्दा दिक्तेल बजार कुरूप मात्र होइन, यातायात नचल्दा स्थानीयको व्यापार व्यवसायमा पनि असर परेको छ । 

दिक्तेल बजार क्षेत्रको सडक अलपत्रै

दिक्तेलको राष्ट्रिय मानवअधिकार चोकदेखि त्रिवेणीसम्म सडक ढलानको काम सूर्य कन्स्ट्रक्सन विकास निर्माण सेवा जेबीले लिएको हो । ३ करोड ९३ लाख ४४ हजार रुपैयाँको लागत इस्टिमेट भए पनि करिब ४० प्रतिशत कममा २ करोड ७० लाख ४० हजार रुपैयाँमा ठेक्का पारेको हो । २०७८ मंसिर १० मा सक्ने गरी सम्झौता भएको सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढ्गुांका आयोजना प्रमुख तुलसीराम खर्बुजाले बताए ।

त्यसो त यो सडक ढलान निर्माण अवधि गत मंसिर १० मा सकिएको हो । त्यसपछि कोरोनाका कारण देखाउँदै चार महिनाको म्याद थपिएको थियो । यो अवधिमा पनि काम नसकिए पछि फेरि नगरपालिकाका निवर्तमान प्रमुख रिजालकै सिफारिसमा गत चैतसम्म तीन महिना थप गर्दा पनि सडक ढलान अपूरै छ । अहिलेसम्म ६५ प्रतिशत मात्र काम सकिएको आयोजना प्रमुख खर्बुजाले बताए । उनका अनुसार मूल्यांकनको आधारमा ९४ लाख ८९ हजार रुपैयाँ भुक्तानी भएको छ ।

बेलामा काम नसकेपछि निर्माण कम्पनीसँग ठेक्का तोडी कालो सूचीमा राख्न दुई महिनाअघि नै प्रक्रिया अघि बढाइएको खर्बुजाले बताए । उनका अनुसार निर्माण कम्पनीको धरौटी जफतका लागि सिरहास्थित सनराइज बैंकलाई पत्राचार गरिएको छ । उक्त बैंकले जमानतको सक्कल माग गरेकाले केही ढिलो हुन गएको उनको भनाइ छ । ‘निर्माण कम्पनीसँग ठेक्का तोडी कालो सूचीमा राख्न प्रक्रिया बढाइसकेका छौं,’ खर्बुजाले भने ।

निर्माण कम्पनीले म्याद गुजारेपछि हर्जना भने गत चैतदेखि नै तिर्नुपरेको छ । आगामी असारसम्मको हर्जानाबापत करिब १३ लाख रुपैयाँ कटाएर भुक्तानी गरिएको उनले जनाए । ‘चैतदेखि असारसम्मको हर्जाना करिब १३ लाख रुपैयाँ कटाएर दिएका छौं,’ उनले भने । निर्माण कम्पनीले पेटी ठेकेदारलाई काम जिम्मा दिएकाले यो समस्या आएको हो । सडक ढलान अलपत्रबारेमा प्रशासनले पनि पटकपटक ताकेता गरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए । ठेकेदारसँगै सम्बन्धित कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजना पनि जिम्मेवार हुने भएकाले दुवैलाई प्रशासनिक कारबाही गरिने उनले बताए । ढलानका लागि बजारको सडक भत्काइएकाले व्यापार नै चौपट भएको दिक्तेलस्थित व्यवसायी गुणराज सैंजूले गुनासो गरे । यातायातसमेत अवरुद्ध भएकाले बनाइएको ढल पनि पुर्ने तयारी गरिएको अर्का व्यवसायी नवराज जोशीले बताए । ‘वर्षा लाग्यो, निर्माण कार्य पनि भएको छैन,’ जोशीले भने, ‘ढलले गर्दा यातायात अवरुद्ध भएको छ, पुर्ने तयारी गरिँदै छ ।’ निर्माणमा संलग्न सूर्य कन्स्ट्रक्सन सम्बद्ध राजन किजुले भने आगामी असारसम्ममा काम सक्ने बताएका छन् । उनले भने, ‘भोलिबाटै श्रमिक र सामान झर्छ, अब काम धमाधम हुन्छ ।’

प्रकाशित : जेष्ठ २०, २०७९ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघमा गठबन्धन बदलिने बित्तिकै प्रदेश सरकारहरू फेरबदल भइहाल्ने अभ्यासबारे तपाईंको के टिप्पणी छ ?

×