कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ताप्लेजुङमा गठबन्धन कार्यकर्ताले युवकको हत्या गरेको एमालेद्वारा आरोप

आनन्द गौतम

ताप्लेजुङ — मिक्वाखोला गाउँपालिका १ खोक्लिङमा बुधबार राति मृत भेटिएका विमल कार्कीको सत्ता गठबन्धनका कार्यकर्ताहरूले हत्या गरेको नेकपा एमालेले आरोप लगाएको छ ।

एमालेले विज्ञप्ति निकाल्दै कार्की एमाले कार्यकर्ता भएको र गठबन्धनका २५/२६ जनाले उनको हत्या गरेको आरोपसमेत लगाएको छ । एमाले जिल्ला कमिटीका अध्यक्ष भुपेन्द्र थेवेद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाइएको हो ।

‘गठबन्धनका हतियारधारीहरूले बाटो ढुकेर, लखेटेर, घेरा हालेर, ढुङगा प्रहार गरेर घिसारेर, काटेर क्रुरतापूर्वक हत्या गरेको घटनाप्रति नेकपा एमाले घोर भर्त्सना गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

कार्कीको मृत्युबारे प्रहरी नायव उपरीक्षक कैलाश राईले अध्ययन भइरहेको बताएका छन् । ‘बाटोभन्दा तीन सय मिटर तल शव भेटिएको छ । लडेको र मृत्यु भएको अवस्थामा देखिएको छ । अनुसन्धानको पाटोबाट हेरिरहेका छौं । पोष्टमार्टमपछि केही तथ्य आउँछन्,’ उनले भने । स्थानीयहरूले केही देखेको हुनसक्ने भएकाले प्रहरीले केही स्थानीयलाई बोलाएर सोधपुछ गर्ने तयारी गरेको जनाएको छ ।

बधबार घर जान भनी दोभान बजारबाट हिँडेका कार्की राति मृत फेला परेका हुन् । उनी तेल्लावुङ कन्ट्रक्सनको जेसीभी मेसिनका चालक समेत थिए । उनको शव खोक्लिङको खोर्साने भन्ने स्थानमा फेला परेको थियो ।

प्रकाशित : वैशाख २९, २०७९ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?