कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गठबन्धनविरुद्ध बागी उम्मेदवार कायमै

विराटनगरमा पनि चुनावी तालमेल सकसमा
विनोद भण्डारी

विराटनगर — सत्ता गठबन्धन दल माओवादी केन्द्र र जनता समाजवादी पार्टीकै नेताले प्रमुख–उपप्रमुखमा बागी उम्मेदवारी दिएपछि विराटनगरको चुनावी तालमेल सकसमा परेको छ । 

गठबन्धनविरुद्ध बागी उम्मेदवार कायमै

चुनावी गठबन्धन र तालमेलमा चिसोपन आएको छ । यसको फाइदा एमालेलाई पुग्ने देखिएको छ । जसपाबाट प्रमुखमा उमेश यादव र उपप्रमुखमा माओवादी केन्द्रबाट महानगर कमिटी सचिव नमिता न्यौपाने उठेकी छन् । अघिल्लो निर्वाचनमा पनि जसपा र माओवादी केन्द्रबीच तालमेल हुँदा यादव प्रमुख र न्यौपाने उपप्रमुखकी उम्मेदवार थिइन् । यादवले १४ हजार ९ सय ५८ र न्यौपानेले ११ हजार ५ सय २४ मत ल्याएका थिए ।

सत्ता गठबन्धनले कांग्रेसलाई प्रमुख र जसपालाई उपप्रमुख भागबन्डा गरेर १९ वटै वडामा एक्लाएक्लै प्रतिस्पर्धा गरेका छन् । गठबन्धनबाट प्रमुखमा कांग्रेसका नागेश कोइराला र उपप्रमुखमा जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र छन् । बागीले चुनावी तालमेल प्रभावित भएपछि गठबन्धनका केन्द्र र जिल्लास्तरका नेताको दौडधुप बढेको छ । कांग्रेस नेता शेखर कोइरालाले माओवादीका विराटनगर सहइन्चार्ज भोगेन्द्र यादव र अध्यक्ष नवीन पौडेललाई निवासमा बोलाएर गठबन्धनलाई निःस्वार्थ सहयोग गर्न आग्रह गरेका छन् । कोइराला उम्मेदवारी मनोनयन अगाडि चुनावी तालमेलको विपक्षमा थिए । जसपाले उमेशलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । जसपा मोरङ अध्यक्ष राजकुमार यादवले बागी उम्मेदवारले चुनावी तालमेलमा प्रभाव परे पनि खासै ठूलो क्षति नहुने दाबी गरेका छन् । कांग्रेसको अहमताका कारण गठबन्धनका अरू दलका नेताले बागी उम्मेदवारी दिएको यादवको बुझाइ छ । ‘वडा तहमा पनि तालमेल गरेको भए यस्तो समस्या आउने थिएन,’ उनले भने । तर माओवादी केन्द्रले बागी उम्मेदवार न्यौपानेलाई कारबाही गरेको छैन ।

केन्द्रले प्रदेश १ मा बागी उम्मेदवार दिने र पार्टीको निर्देशन नमान्ने १४ जनालाई गरेको कारबाहीको सूचीमा न्यौपाने परेकी छैनन् । प्रदेश कमिटीका सचिव गणेश उप्रेतीले विराटनगर महानगर कमिटीले नमितालाई कारबाहीको माग नै नगरेको बताए ।

कांग्रेसको अहमताका कारण नमिताले बागी उम्मेदवार दिएको र उनी असन्तुष्ट माओवादी मतदाताका आधिकारिक उम्मेदवार पनि भएको उनले बताए । ‘विराटनगरमा कांग्रेस र जसपाले उम्मेदवारी मनोनयन गर्ने समयसम्म माओवादीको आवश्यकता नै ठानेन,’ उप्रेतीले भने, ‘नेता शेखरले गठबन्धन नै चाहेनन् ।’ उनका अनुसार मतदानका दिन माओवादीका कार्यकर्ताले गठबन्धन मै मतदान गर्नुपर्छ भन्ने बाध्यता विराटनगरको हकमा छैन ।

अघिल्लो निर्वाचनमा माओवादीले जितेको वडामा समेत कांग्रेसले सहयोग नगरेको उप्रेतीको गुनासो छ । महानगरको वडा ६ माओवादीले जितेको थियो । कांग्रेसको आन्तरिक किचलो तथा गठबन्धन दलका बागी उम्मेदवारले गर्दा बिग्रेको तालमेल र खटपटको फाइदा एमालेलाई हुने जिल्ला उपाध्यक्ष बाबुराम कार्कीको बुझाइ छ ।

प्रकाशित : वैशाख २३, २०७९ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?