१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

चिकित्सकको शंकास्पद मृत्यु प्रकरण : कारबाहीको माग गर्दै जुलुस

विराटनगर — शंकास्पद मृत्यु भएका चिकित्सक विजय यादव प्रकरणमा उच्च स्तरीय छानबिन समिति गठन गरिनुपर्ने, संलग्नलाई कारबाही र दोषीलाई सार्वजनिक गर्नुपर्ने मागसहित पीडित परिवार र आफन्तले शनिबार विराटनगरमा प्रदर्शन गरेका छन् । 

चिकित्सकको शंकास्पद मृत्यु प्रकरण : कारबाहीको माग गर्दै जुलुस

घटनाको साता दिन बित्दा पनि दोषीको पहिचान नभएकोमा परिवारजन आक्रोशित भई सडकमा उत्रेका हुन् । विराटनगरको रोडशेष चौकबाट सुरु भएको जुलुस महानगरपालिका परिक्रमा गर्दै जलजला मोडमा पुगेर कोणसभामा परिणत भएको थियो । उनीहरूले ‘घटना मोड्न पाइँदैन, दोषी छाड्न पाइँदैन, पीडितलाई न्याय देऊ, दोषीलाई सार्वजनिक गर र उच्च स्तरीय छानबिन समिति गठन गर’ उल्लेख गरिएका प्लेकार्ड बोकेका थिए ।

सप्तरीको भवानीपुर खुरुखुरीयाका चिकित्सक यादव तीन वर्षदेखि विराटनगरको नोबेल शिक्षण अस्पतालको हाडजोर्नी विभागमा कार्यरत थिए । उनी गत शनिबार बिहान अस्पतालदेखि करिब दुई सय मिटर पूर्वको डेरा घरको गेटमा मृत फेला परेका थिए । चिकित्सक विजय यादव न्याय संघर्ष समितिले शनिबार नै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ज्ञापन पत्र पनि बुझाएको छ । समितिका संयोजक हीरा यादवले उच्च स्तरीय छानबिन समिति गठन गरी दोषीलाई कारबाहीको घेरामा ल्यानुपर्ने माग राख्दै दाहाललाई ज्ञापनपत्र बुझाएको बताए ।

परिवार र आफन्तले योजनाबद्ध तरिकाले यादवको हत्या भएको दाबी गर्दै आएका छन् । यादवको मृत्यु स्वाभाविक नरही अन्यत्रै हत्या गरेपछि घटना लुकाउन शव बोकी डेराको गेटमा ल्याएर फालेको हुन सक्ने यादवको दाबी छ । २७ वर्षीय मृतक चिकित्सक यदुनन्दन यादवका एक्ला छोरा हुन् । उनले छोरालाई ९ वर्ष मलेसियामा मजदुरी गरेर बंगलादेशमा डाक्टर पढाएका थिए । घटनामा संलग्न भएको आशंकामा ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए । उनले पोस्टमार्टमको रिपोर्टलाई पनि आधार मानेर अनुसन्धान भइरहेको एवं वास्तविकता ठहर हुन थप केही समय लाग्ने बताए । प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्टमा शरीरको भित्री भागमा चोटपटक लागेको र रगत जमेको उल्लेख छ । ‘पीडित परिवारजनसँग कुनै पनि हालतमा अन्याय हुन दिँदैनौं,’ एसपी कोइरालाले भने ।


प्रकाशित : चैत्र २७, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?