कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

‘सडक मानव’ को अवस्था दयनीय

रमेशचन्द्र अधिकारी

धनकुटा — प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशस्तरीय मानव सेवा आश्रममा पालिकाले उद्धार गरेका करिब दुई सय सडक मानवले आश्रय लिइरहेका छन् । प्रदेश सरकारले सडक मानव व्यवस्थापनका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर समन्वयकारी भूमिका अभावमा धनकुटा नगरपालिकामा यत्रतत्र पीडादायी अवस्थामा सडक मानव भेटिन्छन् ।

धनकुटा नगरपालिका–९ गुठीटारमा दुई साता अगाडि एक वृद्धको बेवारिसे शव फेला पर्‍यो । स्थानीय महेन्द्र राईको रित्तो घरमा केही दिनदेखि बस्दै आएका करिब ६० वर्ष उमेरका उनी माग्दै गुजारा गर्ने गर्थे । तेह्रथुम जिल्लाका टंक ओझा नाम गरेका उनको घर परिवार र ठेगानाबारे थाहा हुन सकेको छैन । ओझा जस्तै सडकमा जीवन गुजारा गर्नेहरूको उद्धार हुन नसक्दा अलपत्र अवस्थामा नै मृत्यु हुने क्रम बढेको छ । पछिल्लो एक वर्षयता घरठेगाना पत्ता नलागेका ओझा जस्तै पाँच जनाको ज्यान गइसकेको छ ।

सडकपेटीमा बस्दै आएकाको अवस्था यति दयनीय छ कि भोजन र उपचारकै अभावमा ज्यान गुमाइरहेका छन् । धनकुटा–४, देब्रेबासस्थित सल्लेरीमा सडक छेउको यात्रु प्रतीक्षालयमा आश्रय लिइरहेका ५० वर्षीय चन्द्रबहादुर विश्वकर्माको केही महिनाअघि मृत्यु भयो । उनको मृत्यु हुनु केही पहिले पत्नीको समेत शव फेला परेको प्रहरीले जनायो । सडक मानवको ज्यान जानेक्रम बढेको धनकुटा प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुरज कार्की बताउँछन् । बिरामी भएको जानकारी पाउँदा उपचारका लागि अस्पताल लैजाने गरेको कार्कीले बताए । संरक्षण गृह व्यवस्थापनमा स्थानीय पालिका क्रियाशील हुन जरुरी रहेको उनी सुझाउँछन् ।

पछिल्लो समय थपिँदै गएका यस्ता सडक मानवको अवस्थाबारे जिल्लाका पालिका बेखबर छन् । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले उनीहरूको यकिन तथ्यांक आफूहरूसँग नभएको बताए । उनीहरूको अवस्थाबारे जानकारी लिने र व्यवस्थापन गर्ने निकाय छैन । बेवारिसे शवको अन्त्येष्टि भने नगरपालिका आफैंले गर्दै आएको छ । ‘उनीहरूलाई उद्धार गरेर व्यवस्थापन गर्ने संयन्त्र छैन,’ थापाले भने, ‘यसभन्दा पहिले पनि नगरपालिकाले चार बेवारिसे शवको दाहसंस्कार गरेको छ ।’

धनकुटाको लोक सेवा चोक तथा बजार क्षेत्रमा केही सडक मानव रहे पनि उनीहरूको व्यवस्थापन हुन सकेको छैन । अधिकांशलाई अन्य स्थानबाट सार्वजनिक गाडीमा राखेर पठाइदिने गरेको स्थानीय बताउँछन् । पर्यटकीयस्थल भेडेटार तथा हिले बजारमा पनि सडक मानव रहेको होटल एसोसिएन भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताए । सरकारले सडक मानव मुक्त बनाउने यसअघि नै घोषणा गरिसकेको छ ।

सरकारले सडक मानवमुक्त बनाउने यसअघि नै घोषणा गरिसकेको छ । यस्तै प्रदेश १ सरकारले पनि सडक मानवमुक्त गर्ने घोषणा गरेको छ । तर उनीहरूको उद्धारमा चासो हुन सकेको छैन । अढाई वर्ष पहिलेदेखि नै नीतिगत काम थालेको प्रदेश १ का सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताइन् ।

स्थानीय पालिकाको समन्वय प्रभावकारी हुन नसक्दा अभियान सोचेजस्तो नभएको उनको तर्क छ । मन्त्रालयले विराटनगरमा प्रदेशस्तरीय मानव सेवा आश्रम निर्माण गर्न १ करोड रुपैयाँ बजेट विनियोजन गरेको उनले जानकारी दिइन् ।

प्रकाशित : चैत्र १७, २०७८ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×