कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुल नबन्दा सडक बेकामे

दीपेन्द्र शाक्य

संखुवासभा — बरुण नदीमा पुल नबन्दा भोटखोला–२ च्याम्ताङसम्मको सडक प्रयोगविहीन बनेको छ । खाँदबारी किमाथांका सडकसमेत बेकामे भएका छन् । यो सडक खण्ड राष्ट्रिय गौरवको योजनामा पर्छ । 

झन्डै ५ वर्षदेखि सदरमुकाम खाँदबारीबाट भोटखोला–३ वरुण दोभानसम्म यातायात सञ्चालन हुँदै आएको छ । ‘वरुण दोभानदेखि च्याम्ताङसम्म ६४ किलोमिटर सडकको ट्रयाक खुलेको ५ वर्ष बित्यो,’ हटियाका होटल व्यवसायी कर्मा भोटेले भने, ‘गाउँमा सडक पुग्दा खुसी भएका थियौं, लामो समय बित्दा पनि वरुण नदीमा पक्की पुल नबन्दा सडक बेकामे भयो ।’

भोटखोला क्षेत्रमा आवश्यक पर्ने सबै सामग्रीहरू बरुण दोभानसम्म गाडीबाट ढुवानी गरिन्छ । त्यसपछि खच्चड र भरियालाई बोकाएर गाउँसम्म लैजानुपर्ने उनले गुनासो गरे । पुल नहुँदा बरुण पारिका सेम्बुङ, हटिया, हुङगुङ, च्याम्ताङ, चेपुवा, लिङ्म, छुम्सुर, रिदाक र किमाथांकासम्म स्थानीयले पैदल हिँड्नुपर्छ ।

भोटेले भने, ‘एक किलो सामान बोकाएर लैजाँदा २५ रुपैयाँसम्म लाग्छ, भरियालाई बरुण दोभानबाट किमाथांका सामान पुर्‍याउन ३ दिन लाग्छ ।’ घर छेउमै सडक भए पनि खाँदबारीबाट घर आइपुग्न २ दिन लाग्ने गरेको भोटखोला– २ च्याम्ताङका डेण्डि भोटेले बताए । उत्तर दक्षिण कोसी सडक योजनाले दूई बर्ष भित्र निर्माण सक्ने गरी पुलको ठेक्का निकालिसकेको छ ।

योजना प्रमुख दिपेश रजकले दुई बर्षभित्र पुल निर्माण गर्ने लक्ष्य रहेको बताए । उनले भने, ‘पुलको ठेक्का लगाइसकेका छौं, समयमै निर्माण सम्पन्न हुन्छ ।’ १३ करोड ८० लाख रुपैयाँ भन्दा बढी लागतमा पुल बन्न लागेको उनले बताए । जोगबनी खाँदबारी किमाथांका सडक मार्ग १४ किलोमिटर ट्रयाक खोल्ने बित्तिकै तिव्वतसँग जोडिन्छ । चट्टानी पहरा भएको क्षेत्रमा सेनाले विस्फोट गरेर काम अघि बढाइसकेको छ ।

प्रकाशित : चैत्र १२, २०७८ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?