इलामको रोङमा लोपोन्मुख लेप्चा भाषामा पढाइ सुरु- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इलामको रोङमा लोपोन्मुख लेप्चा भाषामा पढाइ सुरु

विप्लव भट्टराईं

इलाम — लोपोन्मुख लाप्चा जातिको भाषा संरक्षण गर्न रोङ गाउँपालिकामा लेप्चा भाषाको पाठ्यक्रम निर्माण गरेर पढाइ सुरु गरिएको छ । गाउँपालिकाको आधारभूत तहमा उक्त भाषामा पाठ्यक्रम तयार गरिएको हो ।

गाउँपालिकाले २ वर्षअघि कक्षा १ देखि ५ सम्मका लागि उक्त भाषामा तयार पारेको पाठ्यक्रम नेपालको पहिलो मानिएको छ । उक्त जातिको बसोबास इलामका केही पालिका र झापाको बुद्धशान्ति गाउँपालिकामा मात्र छ । रोङ गाउँपालिकाको नाम लाप्चाको मातृभाषा रोङबाट गरिएको हो । यो पालिकामा अन्यत्रभन्दा उक्त जातिको बसोबास बाक्लो छ । गाउँपालिकाले कक्षा १ को पाठ्यपुस्तक लेखन गरी पढाइ सुरु गरेको हो । उक्त भाषाको पाठ्यपुस्तक र स्थानीय पाठ्यक्रम संयुक्त रूपमा भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीले लोकार्पण गरेका हुन् ।

उनले रोङ भाषा संरक्षणका लागि पुस्तान्तरण गर्दै लैजान आवश्यक रहेको बताए । उनले मातृ भाषाको जगले नेपाली र अंग्रेजी भाषा बनाउन सहज हुने धारणा राखे । कार्यक्रममा पूर्व संविधासभा सदस्य टीकाराम सुब्बा लाप्चा र शकुन्तला लाप्चाले आफ्नो समुदाय एकै स्थानमा लामो समय बस्न नसक्दा कला संस्कृति लोप हुँदै गएको धारणा राखे । खोजकर्ता युद्धप्रसाद वैद्यले रोङ गाउँपालिकाले भाषाको पाठ्यक्रम बनाएर जीवन्त राख्ने महत्त्वपूर्ण काम गरेको बताए । लाप्चाको बाहुल्य रहेको रोङ ३ चिण्डेपानीस्थित शारदा आधारभूत विद्यालयमा लाप्चा भाषामा पढाइ सुरु भएको हो । त्यस विद्यालयमा लाप्चासहित भुजेल र अन्य समुदायका विद्यार्थीले समेत लाप्चा भाषा पठनपाठन गरिरहेका छन् ।

कक्षा २ र ३ को समेत पाठ्यपुस्तक लेखन र छपाइ भइरहेको गाउँपालिकाका अध्यक्ष शमशेर राईले बताए । ‘लोपोन्मुख जातिको भाषालाई उजागर गर्दै भाषा संरक्षणका लागि कक्षा १ देखि ५ सम्म रोङ भाषामा अध्यापन गराउन योजना हो,’ उनले भने, ‘यो जातिकाको बाहुल्य रहेका विद्यालयमा ऐच्छिक विषयका रूपमा लाप्चा भाषा अध्यापन हुने र कक्षा ४/५ को पाठ्यपुस्तक लेखन र छपाइ आगामी आवमा सम्पन्न गर्ने लक्ष्य छ ।’ इलामको रोङ गाउँपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाका विभिन्न वडाहरुमा लाप्चा समुदायको बसोबास छ । जनगणना २०६८ अनुसार लाप्चाको जनसंख्या ३ हजार ४ सय ४५ छ । यीमध्ये ३ हजार २ सय ६४ जना ग्रामीण र १ सय ८१ जना सहरी क्षेत्रमा बस्ने गरेको तथ्यांक छ ।

छिमेकी भारतको दार्जिलिङ, सिक्किम, कालेङबुङलगायत विभिन्न विद्यालयमा लाप्चा भाषाको पढाइ हुने भएकाले यिनै विद्यालयबाट पाठ्यक्रम तयार गर्नका लागि पाठ्य सामग्रीहरुसमेत संकलन गरेर ल्याइएको पालिकाले जनाएको छ । रोङ गाउँपालिकाले स्थानीय पाठ्यक्रमसमेत निर्माण गरेको छ । स्थानीय संस्कृति, जनजीवन, भूगोललगायतका पक्षलाई समेटेर तयार गरेको पाठ्यक्रम १ देखि ८ कक्षासम्म कार्यान्वयनमा ल्याएको छ । पालिकाले १, ४ र ६ को पाठ्यपुस्तक ‘हाम्रो रोङ गाउँपालिका’ लेखन गरी छपाइ सम्पन्न गरेको छ । पालिकामा ३० सामुदायिक र दुई संस्थागत विद्यालय छन् ।

प्रकाशित : चैत्र ११, २०७८ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्

इलाममा पहिरोबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, सबैको सनाखत

सख्त घाइते ३ जनालाई हेलिकप्टरमार्फत घोपा लगिँदै
मेची राजमार्ग अझै खुलेन
विप्लव भट्टराईं

इलाम — लगातारको वर्षापछिको पहिरोका कारण इलाममा मृत्यु हुनेको संख्या १३ पुगेको छ । जिल्लाको फाकफोकथुम गाउँपालिकामा एकै परिवारका ४ सहित ६ जनाको पहिरोले पुरिँदा ज्यान गएको छ । प्रहरीका अनुसार फाकफोकथुम ३ आम्चोकको सल्लेरीमा घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रनदत्ता थापा, १५ वर्षीया निशाना कटुवाल र १३ वर्षीय निश्चत कटुवालको ज्यान गएको हो ।

‘घरको भूइँतलामा सुतेका उनीहरुलाई पहिरोले पुर्दा ज्यान गएको थियो । माथिल्लो तलामा सुतेका समीक्षा र गोमा कटुवाल भने बच्न सफल भएका छन् । ‘पहिरोले घरलाई धक्का दिँदा माथिल्लो तलामा सुतेका २ जनालाई उछिट्याएर बाहिर फाल्दा बाँच्न सफल भएका हुन्,’ स्थानीय उद्धव लामिछानेले भने ।

माङसेवुङ गाउँपालिका ६ को पञ्चमी बजार नजिक पहिरोमा पुरिएकामध्ये २ जनाको शव निकालिएको छ । घरमै पहिरो झर्दा ५५ वर्षीय हरिप्रसाद राई र २७ वर्षीय कमला राईसहित ५ जना पुरिएका थिए । २ को शव भेटिएको र अन्य ३ जना सख्त घाइते अवस्थामा उद्धार गरिएको साहयक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले जानकारी दिए । घाइते भक्तकुमार राई, जनम राई र चन्द्र लिम्बुलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धरानको घोपा लाने तयारी भइरहेको उनले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सक्रियतामा सबै शव पहिरोबाट निकालिएको छ ।

यस्तै फाकफोक गाउँपालिकाकै १ नम्बर वडा ठिङ्गेपुरमा पहिरोले पुर्दा २ जनाको मृत्यु भएको छ । मंगलबार साँझ साडे ७ बजेतिर नरबहादुर शेर्माको भान्सामा रहेका ४ जनालाई पहिरोले पुरेको थियो । स्थानीयले तत्काल उद्धार गरेर २ जनालाई बचाए पनि ३० वर्षीया विना शेर्मा लावती र १४ वर्षीय आइतबार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ४० वर्षीय नरबहादुर र १८ वर्षीय खगेन्द्र शेर्मा सकुशल छन् ।

सूर्योदय नगरपालिका ३ जिलमा घरमा पहिरो खस्दा ३८ वर्षीया विष्णुमाया तामाङ र १७ वर्षीय विशाल तामाङको ज्यान गएको छ । सूर्योदय नगरपालिका ३ मेहेलबोटेमा राति गएको पहिरोले सुतेकै अवस्थामा ४९ वर्षीया नारायणीदेवी मोतेको मृत्यु भएको छ । अन्य ३ जनाको सकुशल उद्धार गरिएको छ ।

यस्तै देउमाई नगरपालिका २ बस्ने ४५ वर्षीय सरिता आचार्यलाई लुटिया खोलाले बगाउँदा ज्यान गएको छ । सोमबार साँझ ८ बजेदेखि आएको निरोधार झरीका कारण दर्जन बढी घर विस्थापित भएका छन् । थुप्रै पशु बगाएको र पुरिएको प्रहरीले जनाएको छ ।

मेची राजमार्ग अझै खुलेन

मेची राजमार्गअन्तर्गत इलामको देउमाई नगरपालिका १ स्थित देउमीखोपमा झरेका पहिरोका कारण अझै पनि यातायातका साधान चल्‍न सकेका छैनन् । करिब ५० मिटर क्षेत्रमा झरेको पहिरोका कारण पाँचथर ताप्लेजुङतर्फ जाने र त्यताबाट इलाम झापातर्फ झर्ने सवारी साधन रोकिएका हुन् । राजमार्ग खुलाउने प्रयास निरन्तर रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । वर्षाका कारण फिक्कल, इलाम नगरपालिकालगायत क्षेत्रमा झरेको पहिरो हटाइसकिएको छ ।

इलामबाट झापातर्फका सवारी साधन भने दिउँसोदेखि सञ्चालनमा छन् । अधिकांश ग्रामीण सडकमा क्षति पुगेको छ । अविरल वर्षाका कारण आएको बाढीले फाकफोकथुम र देउमाई नगरपालिका बीचमा रहेको देउमाई खोलाको पुल मंगलबार राति बगाएको थियो ।

प्रकाशित : कार्तिक ३, २०७८ १५:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×