कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१
लेटाङ घटना 

पाँच सदस्यीय छानबिन समिति गठन

कसैको उक्साहटमा घटना भएको प्रहरीको आशंका
विनोद भण्डारी

विराटनगर — प्रदेश १ प्रहरी कार्यालय विराटनगरले मोरङको लेटाङ घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा एक डिएसपी, एक प्रहरी निरीक्षकसहितको पाँच सदस्यीय समिति गठन गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी अरुणकुमार विसीले बताए ।

पाँच सदस्यीय छानबिन समिति गठन

समितिलाई १० दिनको म्याद दिइएको छ । विसीले भने, 'त्यस म्यादमा कार्यसम्पादन हुन नसके म्याद थप हुन सक्छ ।'

'जिल्ला प्रहरी कार्यालय मोरङले पनि अलग्गै अनुसन्धान गरिरहेको छ । गृह मन्त्रालयले पनि आफ्नो अनुसन्धान टोली परिचालन गर्ला,' बिसीले भने, 'यो समिति विशुद्ध प्रदेश प्रहरी कार्यालयको हो ।'

लेटाङ ५ खेरुवास्थित शिक्षा विकास माध्यामिक विद्यालयका यौन दुर्व्यवहार आरोपी शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडले आइतबार आक्रमण गर्दा महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । त्यसपछि भड्किएको हिंसा नियन्त्रण लिन मोरङ प्रशासनले सोमबारदेखि लगाएको कर्फ्यु बुधबारदेखि केही खुकुलो गरेको छ । पौडेलले कक्षा ६ मा अध्ययनरत १२ वर्षीय बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप छ ।

आक्रमणमा २५ प्रहरी र सातजना सर्वसाधारण घाइते भएका थिए । घटनामा संलग्न भएको आशंकामा मोरङ प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एसपी जर्नादन जिसीले बताए । 'अनुसन्धान जारी छ,' जिसीले भने, 'थप उपलब्धि केही हात लाग्न सकेको छैन ।'

प्रहरी स्रोतका अनुसार कसैको उक्साहटमा लेटाङ घटना भएको र त्यसमा लागूऔषध दुर्व्यसनी प्रयोग गरिएको आशंका छ । अंग्रेजी माध्यमबाट पढाई हुने शिक्षा विकास माध्यमिक विद्यालय लेटाङ नगर भरिकै उत्कृष्ट विद्यालय भएको पुष्टि भएको छ ।

प्रहरी स्रोतका अनुसार उक्त विद्यालयका कारण निजी विद्यालय विद्यार्थी अभावमा फस्टाउन नसकेको र राजनीतिक प्रतिशोधका कारण पनि घटनाले उग्ररुप लिएको हुन सक्ने आशंका गरिएको छ । स्रोतका अनुसार वडाध्यक्षहरुबीचको द्वन्द्वले पनि घटनामा मलजल गरेको आशंका गरिएको छ ।

'घटनास्थलमा अत्यधिक मात्रामा बोतलका सिसा फेला पर्नु र बोतलमा पेट्रोल हालेर प्रहार गरेको पाइएको छ,' स्रोतले भन्यो । प्रहरी श्रेष्ठको घाँटीमा चक्कु प्रहार गरेर हत्या गर्नु उक्साहटमा लागूऔषध प्रयोगकर्ता संलग्न भएको अनुमान गरिएको छ ।

प्रकाशित : चैत्र ९, २०७८ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

एघार महिनामा ४६ हजार ऋणी कालोसूचीमा पर्नुको मुख्य कारण के होला ?

×