कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

आठ सदस्यीय आइसफल डाक्टर आधार शिविर प्रस्थान

भानुभक्त निरौला

सोलुखुम्बु — विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहणका लागि बाटो बनाउन विशेषज्ञ आइसफल डाक्टरहरुको टोली आधार शिविर प्रस्थान गरेको छ । आरोहणको सिजन सुरु हुनै लाग्दा अनुभवी शेर्पा (आइसफल डाक्टर)हरुको टोली दुई वर्षपछि सगरमाथा आधार शिविर प्रस्थान गरेको हो ।

आठ सदस्यीय आइसफल डाक्टर आधार शिविर प्रस्थान

कारोनाले आरोहण ठप्प रहेको सगरमाथामा बाटो बनाउन आङसर्की शेर्पाको नेतृत्वमा ८ सदस्यीय टोली नाम्चेबाट हिँडेको हो । खुम्बु पासाङल्हमु गाउँपालिका–२ का शेर्पासँग सगरमाथा क्षेत्रमा बाटो बनाएको १७ वर्षको अनुभव छ ।

सन् २०२० मा कोरोनाले पर्यटन क्षेत्र ठप्प हुँदा बाटो बनाउने काम भएको थिएन । दुई वर्ष अगाडि बनाएको मार्ग हिउँले पुरिएकाले यो वर्ष बाटो बनाउन कठिन हुने अनुमान गरिएको छ । आइसफल डाक्टरहरुको टोलीलाई आवश्यक प्राविधिक उपकरणसहित सगरमाथा प्रदुषण नियन्त्रण समिति, एसपीसीसीले बिदाइ गरेको छ । उक्त टोलीले पाङबोचो गुम्बामा पूजा गरेर अहिले आधार शिविरतर्फ लागेको छ । ‘शेर्पा समुदायले देउताको रुपमा पुज्ने हिमाल आरोहणको शिलिशिलामा केही खराबी नहोस् भनेर बाटो बनाउनुअघि जहिल्यै पनि पाङबोचे गुम्बामा विशेष पूजा गर्छौँ,’ टोली नेता शेर्पाले भने ।

उक्त टोलीले बौद्ध परम्पराअनुसार हिमालको प्रार्थना र पूजा गरेर मात्रै बाटो बनाउने काम सुरु गर्छ । ‘लामालाई साइत हेराएपछि सोही साइतको समयमा बाटो बनाउने काम सुरु गर्छौं, ’ उनले भने । हिमालमा बाटो बनाउने कामलाई अत्यन्तै जोखिमपूर्ण मानिन्छ । उनीहरुको टोलीले दोश्रो आधार शिविरसम्म डोरी टाग्ने र अप्ठ्यारो ठाउँमा भऱ्याङ हाल्ने काम गर्छ । सोही बाटोमा आरोहीहरुले सहजताका साथ आरोहण गर्छन् ।

सगरमाथाको दोश्रो आधार शिविरसम्म बाटो बनाउन २० दिनको समय लाग्ने समितिका उपाध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । ‘अबको २० –२२ दिनमा सगरमाथामा बाटो तयार हुन्छ,’ उनले कान्तिपुरसँग भने । सगरमाथा क्षेत्रमा बाटो बनाउने र सरसफाइको काम सगरमाथा प्रदुषण नियन्त्रण समितिले गर्दै आएको छ । सो बापत समितिले आरोहणदलमा आउने प्रत्येक विदेशी नागरिकसँग ६ सय अमेरिकी डलर लिन्छ ।

‘हामीले बाटो बनाउने र सरसफाइ गर्ने सबै काम गर्छौँ,’ उपाध्यक्ष शेर्पाले भने, ‘पर्यटन मन्त्रालयसँगको सम्भौतामा सबै गरिरहेका हौँ, हाम्रो आम्दानीको मुख्य स्रोत नै प्रति विदेशी पर्यटक ६ सय डलर हो ।’ समितिले नेपाली आरोहीबाट भने शुल्क लिने गरेको छैन । कोभिड महामारी मत्थर भएसँगै विदेशी पर्यटक घुम्न र हिमाल आरोहणका लागि नेपाल आउने क्रम सुरु भएको छ । अबको दुई साता पछि भने खुम्बु क्षेत्रमा ओरोही पनि आउन थाल्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

प्रकाशित : चैत्र ३, २०७८ ११:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?