कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

मनमोहन विश्वविद्यालय विद्यार्थी भर्ना अभियानमा

रमेशचन्द्र अधिकारी

धनकुटा — प्रदेश १ सरकारले स्वायत्त कानुन निर्माण गरेर सञ्चालनमा ल्याएको मनमोहन प्राविधिक विश्वविद्यालयले १० वर्षे कार्ययोजना सार्वजनिक गरेको छ । एक दशकभित्र २ हजार ८ सय ३१ दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने कार्ययोजनामा छ । मोरङको बुढीगंगा–४ स्थित उक्त विश्वविद्यालयले सोमबार धनकुटामा स्नातक तहको विद्यार्थी भर्ना अभियान २०७८/७९ को सन्दर्भमा अन्तरक्रिया गर्दै उक्त जानकारी दिएको हो ।

मनमोहन विश्वविद्यालय विद्यार्थी भर्ना अभियानमा

स्नातक, स्नातकोत्तर र विद्यावारिधि गरी २८ विषय सञ्चालन गर्ने योजना छ । प्रदेश सरकारले स्वायत्त कानुन निर्माण गरी विश्वविद्यालयको स्थापना गरेको डिन डा. प्रचण्डमान श्रेष्ठले बताए । दुई वर्षअघि नै कानुन निर्माण भएको भए पनि आवश्यक नियमावली र निर्देशिका बनाउनु बाँकी भएकाले सञ्चालनका लागि समय लागेको उनको भनाइ छ । प्राविधिक शिक्षालाई स्तरीय, वैज्ञानिक तथा जीवनोपयोगी बनाउने उद्देश्यले विश्वविद्यालयले काम गरिरहेको इन्जिनियर नरेन्द्रकुमार डाँगीले कार्यक्रममा सुनाए । उनले भने ‘युवालाई प्राविधिक सीपमा अग्रसर गराउँदै शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्नुपर्ने अहिलेको आवश्यकता पूर्तिका लागि विश्वविद्यालयको कार्ययोजना छ ।’

न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिन विश्वविद्यालय लागि परेको अर्का इन्जिनियर युवराज चौधरीले बताए । विश्वविद्यालयले स्कुल अफ इन्जिनियरिङअन्तर्गत स्नातक तहको सिभिल इन्जिनियरिङ र इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्समा भर्ना खुलाएको छ । प्रत्येक संकायमा ४८ जनाको सिट स्वीकृति लिइएको भए पनि यो वर्ष २४ कोटामा भर्ना लिइने भएको छ । विश्वविद्यालयले प्रदेश १ का लागि मात्र महिला १, लक्षित वर्ग २ र दलित वर्ग १ गरी ४ वटा कोटा छुट्याएको छ । २४ सिटमध्ये विभिन्न कोटासहित १५ कोटा आरक्षित र ९ कोटा खुल्ला भएको जानकारी अधिकृत सुजन भुर्तेलले दिए ।

प्रकाशित : फाल्गुन २४, २०७८ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×