निर्वाचनबाट भाग्न गठबन्धनले बहाना गर्दैछ : पोखरेल

रमेशचन्द्र अधिकारी

धनकुटा — नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन नेतृत्वको सरकार निर्वाचनबाट भाग्न खोजेको आरोप लगाएका छन् । उनले निर्वाचनबाट भाग्न सरकारले बहानाबाजी गरेको भन्दै कानुनसम्मत रुपमा निर्वाचन गराउनु पर्नेमा जोड दिए ।

निर्वाचनबाट भाग्न गठबन्धनले बहाना गर्दैछ : पोखरेल

प्रेस चौतारी नेपाल धनकुटाले आइतबार आयोजना गरेको पत्रकार भेलामा नेता पोखरेलले यस्तो बताएका हुन् । प्रधानन्यायाधीशविरुद्ध महाअभियोग तथा एमसीसी लगायतका बहानाबाजीमा सरकारले निर्वाचन नगराउने प्रपञ्च गरेको उनको भनाइ छ ।

यस्तै, गठबन्धन र एमालेबीच हुने निर्वाचन आफुहरुलाई फलामको च्युरा सावित नभएर दहीच्युरा हुने उनले दाबी गरेका छन् । ‘गठबन्धन दलले निर्वाचनमा एमालेलाई फलामको च्युरा चखाउने भन्दै हिँडेका भए आगामी निर्वाचन दही च्युरा हुनेछ’, उनले भने, ‘गठबन्धन दल एमालेसँग निर्वाचनमा भिड्न डराएर बहानाबाजी गर्दैछन् ।’

फरक प्रसंगमा महासचिव पोखरेलले एमाले नेतृत्वको सरकार हुँदा ४ प्रतिशतमा सिमित रहेको मूल्यवृद्धि वर्तमान सरकारको पालमा ७ दशमलव १ प्रतिशतमा वृद्धि भइसकेको बताए ।

अहिले आर्थिक अवस्था मौद्रिक संकुचनको अवस्थामा रहेको भन्दै उनले आर्थिक क्रियाकलाप ठप्प रहेको र रेमिटेन्स घट्दो तथा हुण्डी, कालोबजारी बढ्दो रुपमा रहेको भन्दै सरकारको टिप्पणी गरेका थिए ।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालप्रति उनले व्यंग्य गर्दै भने, ‘छेपारोले कुरा बुझ्ने भए प्रचण्डको प्रवृत्ति देखेर छेपारो नै लाज मान्थ्यो होला ।’ यस्तै, प्रतिनिधिसभाका सभामुखले गलत बाटो छोड्नु पर्ने भन्दै विधिको बाटो समात्न नसके बाटो छोड्नु पर्ने उनको भनाई थियो ।

पोखरेलले प्रदेश नं. १ को राजधानी नामाकरण साझा पहिचानको आधारमा हुनुपर्ने जोड दिए । उनले ऐतिहासिकताको आधारमा कोसी प्रदेश उपयुक्त हुने प्रस्ताव गरेका थिए ।

प्रकाशित : फाल्गुन २२, २०७८ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?