२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्कुल गएकी बालिकाको शव तीन दिनपछि जंगलमा

देवनायारण साह

मोरङ — विद्यालयमा पढ्न गएकी एक बालिकाको शव तीन दिनपछि प्रहरीले सामुदायिक वनमा गाडेको अवस्थामा शुक्रबार बरामद गरेको छ ।

लेटाङ नगरपालिका ८ ज्यामिरे घर भई जाँते माध्यमिक विद्यालयमा पढन गएकी अजय राईकी १२ वर्षीया छोरी करुणा राईको शव वनमा गाडेको अवस्थामा प्रहरीले बरामद गरेको हो । उनको हत्या गरेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।

जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका करुणा बुधबार विद्यालयबाट फर्केर घर नआएपछि परिवारजनले इलाका प्रहरी लेटाङमा खोजी गरिदिन उजुरी दिएका थिए ।

प्रहरीले खोजी गर्ने क्रममा लेटाङ नगरपालिका ८ स्थित शिवशक्ति सामुदायिक वनभित्र खोल्सीमा ढंगाले पुरिएको अवस्थामा बालिकाको शव बरामद गरेको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी डिएसपी मञ्जिल मुकारुङले बताए ।

विद्यालयमा बिदा भएपछि जाँते–ज्यामिरे सडकबाट घर फर्किने क्रममा लेटाङ ८ सिरान टोलसम्म करुणालाई देखेको स्थानीयको भनाइ छ । सिरान टोलदेखि एक किलोमिटर उत्तर दीपक गिरीको घर नजिकै बालिकाको विद्यालय पोसाक जलाएको देखेपछि परिवारजन लगायत स्थानीयले प्रहरीलाई सूचना दिएको स्थानीय रामकुमारी राईले बताइन् ।

प्रहरीले विद्यालय पोसाक जलाएको स्थलगत अवलोकनपछि गिरीलाई बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको राईले बताइन् । प्रहरीले गिरीलगायत चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि शुक्रबार बिहान उक्त सामुदायिक वनको बीचमा पानी बग्ने खोल्सीमा ढुंगाले पुरिएको ठाउँबाट बालिकाको शव बरामद गरेको उनले सुनाइन् ।

बालिकाको शव नांगो अवस्थामा बरामद भएकोले बलत्कार गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । डिएसपी मुकारुङले शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको र पोष्टमार्टम रिपोर्ट आएपछि घटनाको सत्यतथ्य उजागर हुने बताए । उनले केही व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाको बारेमा अनुसन्धान भइरहेको र चाँडै घटनामा संलग्न व्यक्तिलगायत सत्यतथ्य सार्वजनिक गर्ने बताए ।

शव बरामद भएपछि स्थानीयवासी र विद्यालयका छात्रछात्राहरू आक्रोशित भएर नाराबाजी गर्न थालेपछि केहीबेर अवस्था तनाबग्रस्त भएको थियो । प्रहरीले समयमा पोष्टमार्टम नगरिए तथ्य, प्रमाण नष्ट हुने भन्दै सम्झाइ बुझाइ गरेपछि मात्रै शव पोष्टमार्टमका लागि लग्न दिएका थिए । स्थानीयले उक्त क्षेत्रमा प्रहरी चौकीको माग गर्दै आए पनि सुनुवाइ नहुँदा पटक पटक घटना हुँदै आएको स्थानीयको गुनासो छ ।

लेटाङ नगर प्रमुख शंकर राईले घटनामा संलग्नहरुलाई तत्काल कानुनी दायरामा ल्याई कडा सजायको माग गरेका छन् । उनले उक्त क्षेत्रमा प्रहरी चौकी स्थापन गर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

प्रकाशित : फाल्गुन १३, २०७८ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?