२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सांस्कृतिक वेशभूषा जोगाउन पहल

सामग्री जुटाउन वल्लो किरातदेखि पल्लो किरातसम्म
सुम्निमा चाम्लिङ

धरान — ओखलढुंगाका रामकर वाम्बुले राई कुनै समय लाहुरे बन्ने सपना देख्थे । लाहुरे परिवारमा हुर्केका उनले सपना देख्नु नौलो थिएन । एकपल्ट भर्तीका लागि प्रयास नगरेको पनि होइनन् । तर सपना अधुरै रह्यो । त्यसपछि उनी पुर्खाको संस्कृति जोगाउने अभियानमा जुटे ।

विद्यार्थी जीवनदेखि नै उनमा पहिचानप्रति प्रेम थियो । कक्षा आठमा पढ्दै गर्दा किरात राई विद्यार्थी संघमा आबद्ध भएदेखि आस्था मौलाउँदै गयो । हाल उनी किरात राई सांस्कृतिक कलाकार संघ केन्द्रीय अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै जातीय संस्कृतिको संरक्षणमा अघि सरेका छन् ।

पूर्वी पहाडमा बसोबास गर्ने आदिवासी जनजाति राई समुदायको बेग्लै भाषा, संस्कृति र छुट्टै पहिचान छ । एक दशकअघिदेखि भने मौलिक पहिरन ओझेलमा पर्दै गयो । त्यसताका.दोर्पध्वज राई, शुभचन्द्र राई, अमर दुमी र रामकरले मौलिक वेशभूषा जर्गेनाका लागि दशकअघि धरानमा ‘चोमोलुङमा कलेक्सन’ स्थापना गरे ।

वेशभूषामा एकरूपता ल्याउन र सहज तरिकाले एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले चोमोलुङमा कलेक्सन सुरु गरेको रामकर बताउँछन् । पूर्वी पहाडी भूभाग (वल्लो किरात, माझ किरात र पल्लो किरात) मा पाइने कच्चापदार्थहरू सिस्नोको अल्लो, खाडीको दौरा सुरुवाल संकलन गरी बिक्रीवितरण गर्छन् । चौबन्दी, फरिया, गरगहना, झ्याप्टा, ढोल, वाम्बु (चिन्डो), बाँसका सामानअन्तर्गत कोङकोङमा (बिनायो), रिङमाकुङ (मुर्चुङगा) लगायत सामान राखिएका छन् ।

राई जातिको वेशभूषा र सामग्रीका लागि चोमोलुङमा कलेक्सन प्रदेश १ मा लोकप्रिय बनेको छ । उनी सामग्री जुटाउन वल्लो किरातदेखिपल्लो किरातसम्म पुग्ने गर्छन् । त्यति मात्र होइन, राई जातिको जन्मदेखि विवाह, मृत्यु संस्कारसम्म प्रयोग हुने वाबु (चिन्डो) नेपालको पूर्वी पहाडदेखि चीनबाट समेत आयात गर्नुपर्ने हुन्छ । उनलाई मागअनुसार उपलब्ध गराउन मुस्किल छ ।

‘व्यापारभन्दा पनि पूर्वी भेगमा रहेका किरात समुदायलाई वेशभूषामा दुःख नहोस् भन्ने उद्देश्य हो,’ उनले भने । लोपोन्मुख सांस्कृतिक सामानहरूको संरक्षण, प्रवर्द्धन र बजारीकरणमा लागेको उनले बताए । आधुनिकताले ओझेलमा पर्दै गएको मौलिक वेशभूषा केही वर्षयता भने प्रयोग बढ्दो क्रममा छ । उँभौली र उँधौली पर्वमा मात्र होइन विवाहलगायत अन्य समारोहमा पनि वेशभूषामा सजिएको देखिन्छन् । जातीय मौलिक सामग्रीहरू पछिल्लो समय उपहारको रूपमा पनि प्रयोग हुन थालेको छ । उनको पसलमा सामग्री खरिदका लागि गैरकिरातीहरूसमेत आउने गरेका छन् । दशकअघि भन्दा अहिले समुदायमा सांस्कृतिक चेतनासमेत बढेको उनको भनाइ छ । चिन्डोलाई आधुनिकतामा ढालेर अहिले ट्रफी बनाउने गरेका छन् ।

प्रकाशित : फाल्गुन १२, २०७८ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?