कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७२

जोगबनीमा मौलाउँदो लागूऔषध

विनोद भण्डारीे

विराटनगर — महानगरको सीमावर्ती क्षेत्रका बासिन्दाले बिहारका उपमुख्यमन्त्री तारकेश्वर प्रसादसमक्ष जोगवनी बजारलाई लागूऔषधको कारोबार मुक्त बजार बनाउन आग्रह गरेका छन् । जोगबनी बजारमा खुलेआम पाइने लागूऔषधका कारण नेपाली युवायुवती कुलतको सिकार भएको भन्दै यस्तो आग्रह गरेका हुन् ।

बिहारमा भारतीय जनता पार्टीका नेतासमेत रहेका उपमुख्यमन्त्री प्रसादलाई कांग्रेस प्रदेश सदस्य राजेशकुमार गुप्ताले आफ्नै घरमा बोलाएर जोगबनीमा खुलेआम बिक्री हुने लागूऔषधमा युवा फसेकाले यसको बिक्री नियन्त्रण गर्न आग्रह गरेका हुन् । उपमुख्यमन्त्री प्रसादले जोगबनीमा लागूऔषध बिक्री वितरणमा स्थानीय प्रशासनलाई कडाइ गर्न निर्देशन दिने आश्वासन दिँदै नेपालबाट पनि भारत भित्रिने मदिरा नियन्त्रण गर्न सीमावासीलाई आग्रह गरेको गुप्ताले बताए ।

‘हामीले जोगबनी बजारमा लागूऔषध नियन्त्रण गर्न आग्रह गर्‍यौं,’ गुप्ताले भने, ‘त्यसको बदलामा उपमुख्यमन्त्री प्रसादले लागूऔषध नियन्त्रण गर्ने र नेपालतर्फबाट भित्रिने मदिरामा पनि नियन्त्रण गर्न आग्रह गरे ।’ इलाका प्रहरी कार्यालय रानी विराटनगरले लागूऔषध ओसारपसार गर्ने दैनिक सरदर ८ जना किशोरकिशोरीलाई पक्राउ गर्दै आएको छ । उक्त कार्यालयको हिरासतमा बिहीबार रहेका ३९ जनामध्ये लागूऔषधका ३२ जना रहेको प्रहरी निरीक्षक प्रकाश राउतले बताए । लागूऔषध खाएर हिँड्ने दैनिक हजारभन्दा बढी भेट्टिने बताउँदै उनले भने, ‘ओसारपसार गर्ने पनि दैनिक सरदर ८ जना नियन्त्रणमा पर्दै आएका छन् ।’

लागूऔषध ओसारपसार गर्ने र सेवनकर्ता दैनिक पक्राउ पर्छन् । प्रहरी निरीक्षक राउतले भने, ‘कहिलेकाहीं त थुन्ने ठाउँसमेत हुँदैन । सीमावर्ती जोगबनी बजारबाट लागूऔषध सेवन गरेर फर्कने र बोकेर आउनेको संख्या दिनहुँ बढ्दो छ । यसले जोगबनी नाकापूर्व क्षेत्रका लागि लागूऔषधको ट्रान्जिट प्वाइन्ट झैं भएको निरीक्षक राउतको बुझाइ छ । उनका अनुसार यो नाकाबाट पारिपट्टि गएर खाएरमात्र आउने, थोरै खाएर केही बोकेर आउने र नखाई बोकेरमात्र आउने तीन थरीका लागूऔषधका गिरोह फेला पर्ने गरेका छन् ।

प्रायः लागूऔषध दुर्व्यसनी, कारोबारमा किशोरकिशोरी छन् । खासगरी धरान, इटहरी, धनकुटा, विराटचौक, बेलबारी, पथरी र विराटनगरका किशोरकिशोरी बढी भएको पाइएको निरौलाले बताए । संलग्नमध्ये अधिकांश धनाढ्य परिवारका छन् । उनले भने, ‘कोही परिवारबाटै टाढा रहेका र केही आर्थिक विपन्न परिवारका पनि छन् ।’ तीन महिनासम्म थुनामा राख्दा अधिकांशका परिवार भेट्न पनि नआउने, केही धनाढ्य परिवारकाले अदालतको फैसलापछि धरौटी राखेर छुटाएर लैजाने गरेको उल्लेख गर्दै राउते भने, ‘केहीका परिवारजनले त सुध्रिएन भन्दै माया मारेर त्यसै छोडिदिने गरेका छन् ।’

मोरङ कारागारमा बिहीबारसम्म रहेका ९ सय ७० कैदी बन्दीमध्ये २ सयभन्दा बढी लागूऔषधका छन् । कारागार स्रोतका अनुसार जिल्ला अदालतले दैनिक सरदर ३ जना लागूऔषध मुद्दाका थुनुवा कारागार पठाउने गरेको छ । जिल्ला अदालत मोरङमा पनि लागूऔषधसम्बन्धी मुद्दा हरेक वर्ष बढ्दो छ ।

अदालत स्रोतका अनुसार बर्सेनि दुई सयभन्दा बढी दर्ता हुने गरेको छ । अदालतले लागूऔषध मुद्दामा कारागार पठाएका कैदी थुनुवामध्ये प्रायः १८ देखि २५ वर्षसम्मका छन् । अधिवक्ता कविता बस्नेतले भनिन्, ‘लागूऔषध कारोबारमा किशोरकिशोरी बढी संलग्न हुनुले भोलिको समाजले कस्तो पुस्ता पाउँछ भन्ने प्रस्ट्याउँछ ।’

प्रकाशित : फाल्गुन ८, २०७८ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?