तीन कारोबारीको हत्याकाण्डमा नयाँ मोड- प्रदेश १ - कान्तिपुर समाचार

तीन कारोबारीको हत्याकाण्डमा नयाँ मोड

निर्माण ठेकेदार चौधरीको हत्या ‘अप्रत्यासित’
जितेन्द्र साह

विराटनगर — ललिपुरमा एक र मोरङमा भएको दुई कारोबारीको हत्याकाण्डले नयाँ मोड लिएको छ । हत्या गरिएकामध्ये निर्माण ठेकेदार सप्तरी शम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भुकुमार चौधरीको जग्गा किनबेचको कमिसन विवादमा संलग्नता नरहेको प्रहरी अनुसन्धानमा खुलेको छ । उनको हत्या ‘अप्रत्यासित’ भएको प्रहरीले जनाएको छ ।

ललितपुर गोदावरी नगरपालिका–१२, ठेचो चरङखेलस्थित एक गोदाम घर परिसरसभित्र २८ मंसिरमा काठमाडौं–८, गोठाटार बस्ने तेह्रथुम सक्रान्ति–२ का ६३ वर्षीय मोहन लिम्बुको हत्या भएको थियो । यस पछि मोरङको धनपालथान गाउँपालिका–७ स्थित सुनसान नहर छेउमा ५ पुसमा भक्तपुरको लोकन्थली बस्ने सुनसरी धरान–३ का ४८ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको र ७ पुसमा काठमाडौंको क्षेत्रपाटी बस्ने सप्तरीका चौधरीको हत्या भयो ।

हत्याका मुख्य योजनाकार काठमाडौं बल्खु बस्ने सिरहा नगरपालिका–२१ का ३१ वर्षीय अनीलकुमार मण्डल र मुख्य सहयोगी अमित साह भनेर चिनिने मोरङको जहदा गाउँपालिका–४, सिसवनी टोलका २९ वर्षीय दिनानाथ सोनारसहित तीन जनालाई २० माघमा र अन्य दुईलाई २१ माघमा प्रहरीले पक्राउ गरिसकेको छ ।

मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जीसीका अनुसार ललितपुर हरिसिद्धिको अर्बौं रुपैयाँ मूल्य भएको २५ रोपनी जग्गालाई किनबेच गरेर आउने कमिसनलाई लिएर मण्डलको लिम्बू र श्रेष्ठसँग मात्र विवाद थियो । जग्गाधनीले नेपाल–बंगलादेश बैंकमा उक्त जग्गा धित्तो राखेर २५ करोड निकालेका थिए । उक्त जग्गा बैंकबाट फुकुवा गरिदिने र यस बापत आफूहरुलाई डेढ करोड रुपैयाँ कमिसन दिनुपर्ने मण्डलले जग्गावाला पक्षसँग लिखित सहमति र बैना कागज गराएको उनले बताए ।

आफूसँग पार्टी छ भन्दै मण्डलले उक्त जग्गा लिने भन्दै मध्यस्थकर्ता मार्फत ४५ करोड रुपैयाँको बैना कागत समेत गरेको देखिएको प्रहरीले जनाएको छ । धित्तो पास गरेर ब्याजमा पैसा मिलाइ दिने भन्दै सर्भिस चार्ज भनेर जग्गाका मध्यस्थकर्तासँग मण्डलले १८ लाख रुपैयाँ लिएको प्रहरीले जनाएको छ ।

उनले यो अनुरुप लगानीकर्ता भरत खड्कासँग सम्पर्क गरेर जग्गावाला पक्षलाई विश्वास दिलाउन १० असोजमा ६ करोड रुपैयाँको चेक समेत उपलब्ध गराएका छन् । मण्डलले दोस्रो पटक खड्का र शम्भु चौधरीलाई संयुक्त लगानीकर्ता बनाएर २ पुसमा ५५ करोड रुपैयाँको बैना कागजात बनाएको अनुसन्धानमा खुलेको छ । चौधरीको हत्याको पाँच दिन अगाडी लगानीकर्ता र जग्गावाला पक्षबीच पुन: सम्झौता भएको देखिन्छ ।

रकम दिनेको नाउँमा जग्गा राख्ने र एक वर्षभित्र फिर्ता गर्ने सम्झौता पत्रमा उल्लेख भएको प्रहरीले जनाएको छ । मण्डललाई पाखा लगाएर लिम्बू र श्रेष्ठले जग्गावालासँग आफैं डिल गर्न थालेपछि यो असन्तुष्टि बढ्दै गएर आपराधिक मोड लिएको प्रहरीको अनुसन्धानमा देखिन्छ ।

‘लिम्बुको नेतृत्वमा श्रेष्ठले जग्गावालासँग सोझो सम्पर्क गर्न खोजेपछि मण्डलले माइनस भएको महसुस गरे,’एसपी जीसीले भने,‘जग्गा देखाएकोमा आफूलाई बढी कमिसन दिनुपर्नेमा उल्टै पाखा लगाउन खोजेकोमा मण्डल चिढिएका थिए ।’ प्रहरी अनुसन्धान अनुसार पूर्वयोजना अनुरुप मण्डल समूहले ललितपुरमा लिम्बूको हत्या गरेपछि भारतीय लगानीकर्ताहरुलाई भेटाउने र राजमार्ग छेउछाउमा सम्भावना बोकेका जग्गा पनि देखाउने बहानामा श्रेष्ठलाई मात्र लिएर २९ मंसिरमा विराटनगर आउन खोजेका थिए । श्रेष्ठले पछि कारोबारी सहयोगी चौधरीलाई यो यात्रामा सामेल गराएको प्रहरीले जनाएको छ ।

‘दाङ–लमही सडक खण्डको ठेक्का पाएका चौधरी ठूलो रकमको खोजीमा थिए, त्यसैले उनी श्रेष्ठ र मण्डलसँग विराटनगर आए,’एसपी जीसीले भने,‘चौधरीलाई मण्डल, लिम्बू र श्रेष्ठबीचको कमिसन विवादबारे थाहा थिएन ।’१२ कक्षाको पढाइ सकिए लगतैदेखि काठमाडौं छिरेका मण्डलको सबैभन्दा पहिले श्रेष्ठसँग र श्रेष्ठ मार्फत चौधरी र लिम्बूसँग चिनजान भएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धान अनुसार योजना अनुरुप ललितपुरमा लिम्बू र मोरङमा श्रेष्ठको हत्या गरेपछि मण्डल काठमाडौं फर्के भने चौधरी विराटनगरमा थिए । प्रहरीका अनुसार उनी यहाँका निर्माण ठेकेदार र व्यवसायीहरुसँग चिनजान एवं भेटघाटमा व्यस्त थिए । चौधरीले पूर्वमा आफ्नो व्यापार विस्तारको सम्भावनाको बारेमा पनि अध्ययन गर्न आएको प्रहरीले जनाएको छ ।

‘सुरुमा चौधरीको हत्या गर्ने योजना नभएको मण्डलले प्रहरीमा बयानमा दिएका छन्, विराटनगरमा श्रेष्ठसँग अन्तिम पटक चौधरीले नै देखेको हुनाले कतैबाट कुरा खुल्यो वा शव भेटियो भने उनले आफ्नो नाम भनिदिएमा पोल खुल्छ कि भन्ने मण्डललाई लाग्यो,’एसपी जीसीले भने,‘रातभर मनमा कुरा खेलाएर भोलिपल्ट बिहान विमानबाट विराटनगर आए, यस पछि श्रेष्ठलाई जस्तै चौधरीलाई पनि भारतीय लगानीकर्तालाई भेटाउने र जग्गा पनि हेर्ने भनेर लगि हत्या गरे ।’ साँझपख एकान्त ठाउँमा पुर्‍याएपछि शंका लागेर फर्कन खोजेको चौधरीलाई वरिपरिबाट च्यापी घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धान अनुसार कारोबारको क्रममा कागजात र लुगाफाटा बोकेर धेरै दिनसम्म बाहिर हिंडिराख्ने हुनाले लिम्बू, श्रेष्ठ र चौधरीको गतिविधिबारे परिवारजनलाई केही हेक्का हुँदैन्थ्यो । शवहरु फेला परेपछि प्रहीले सम्पर्क गरे पछि मात्र परिवारजनले थाहा पाएका थिए ।

अहिलेसम्मको अनुसन्धानमा लिम्बू र श्रेष्ठको हत्याको कारणमा जग्गाबाट आउने कमिसन विवाद नै मुख्य कारण देखिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । ‘मण्डलको उनीहरुसँग जग्गा कारोबारकै क्रममा काठमाडौं चिनजान भएको हुनाले हत्या हुनुमा विगतको रिसीईबीको सम्भावना छैन,’उनले भने । प्रहरीले यो हत्या प्रकरणको अनुसन्धान थालेको बुधबार १३ दिन भइसकेको छ ।

‘ठ्याक्कै मुद्दा बुझाइ हाल्ने बेला भएको छैन, २५ दिनको म्याद भएकोले केही समय छ,’अनुसन्धान अधिकृत डीएसपी मञ्जिल मुकारुङले भने,‘निरन्तर जारी अनुसन्धानबाट हत्याकाण्डको विविध पाटो पनि खुल्दैछ ।’ अनुसन्धान पछिको अनुगमनले सत्यताको नजिक पुग्न थप मद्दत पुग्ने उनले बताए ।

हाल सम्मको अनुसन्धान अनुसार मण्डलले मध्यस्थकर्ताहरु मार्फत किनबेचका लागि हात हालेको २५ रोपनी जग्गाको विवादले आपसमा अविश्वास उत्पन्न भएको प्रहरी अनुसन्धानमा देखिएको छ । ‘रकम जुटाउनमा भरपुर सहयोग हुने विश्वासमा मण्डलले लिम्बुलाई सम्पर्क गरेका थिए,’उनले भने,‘कमिसन वापतको डेढ करोड रुपैयाँ दामासाहीले बाड्ने सहमति भएको थियो तर लिम्बूले श्रेष्ठको सहयोगले जग्गा पक्षधरसँग सोझै सम्पर्क गरेर ५० प्रतिशत कमिसन आफूले र बाँकी अन्यलाई दिने सर्त राखे पछि मण्डल आक्रोशित थिए ।’

प्रहरी अनुसन्धान अनुसार अनलाइन व्यापारको आडमा लिम्बू र श्रेष्ठलाई मार्नलाई मण्डलले कात्तिकमा भाडामा गोदाम घर लिएका थिए । सुरुमा जहदाका सोनार मार्फत भारतबाट चार अपराधी ल्याएको तर उनीहरु काठमाडौं पुगे पनि हत्या नगरी फर्केको प्रहरीले जनाएको छ ।

‘रकम लेनदेनको कुरा नमिलेर वा फसाउलान् भनेर मण्डलको नियत माथि शंका लागेर भारतीय समूह फर्केका हुनसक्छन्,’डीएसपी मुकारुङले भने,‘त्यसपछि मण्डल र सोनारले हत्याका लागि नयाँ समूह बनाए ।’

प्रकाशित : फाल्गुन ४, २०७८ १३:०६
प्रतिक्रिया
पठाउनुहोस्

पौरखी ‘तरकारी बाजे’

जितेन्द्र साह

विराटनगर — सेतो ह्याट, रातो गलबन्दी र सेतो ज्याकेटमा चिटिक्क परेर पसलमा पुरानो क्यासेट प्लेयरबाट मधुर नेपाली र हिन्दी गीत सुन्दै ग्राहक कुरिरहेका हुन्छन्, विराटनगर देवकोटा चोकका पुरानो तरकारी विक्रेता ६० वर्षीय कृष्णबहादुर राई ।

उहिलेदेखिको उनको यो पहिरन, संगीतप्रतिको प्रेम र कामप्रतिको समर्पणले जोकोहीलाई पनि आकर्षित गर्छ । राईको श्रम र जोसले अरूलाई पनि प्रेरित गरिरहेको हुन्छ । ‘मैले देखे–चिनेदेखि उहाँ यस्तै हुनुहुन्छ, भर्खरका भन्दा बढी फूर्ति छ,’ स्थानीय ५८ वर्षीय ज्योति भट्टराई भन्छन् ।

बुढो भइयो भन्दै आराम गरेर बस्दा रोग निम्तिने हुनाले श्रम गर्न छाड्न नहुने राई बताउँछन् । ‘श्रम गरेर बाँच्नेलाई बुढ्यौलीको अनुभूति हुन्न,’ उनी भन्छन् । कुहिरोले ढाक्ने यो जाडोयाममा पनि बिहानै पसल खोलिसकेका हुन्छन् । ‘राति ११ बजे सुतेर बिहान ४ बजे उठिसक्छु,’ राई भन्छन्, ‘हातमुख जोर्नलाई पनि तरकारी नबेची हुन्न ।’

तरकारी बेचेरै गुजारा गरिरहेका राईलाई सटरमा व्यवसाय गर्दा खर्च बढेर कठिन भएको छ । भाडा तिर्न र घर खर्च जुटाउन उनले दिनहुँ हरिया ताजा तरकारीसँगै पसलमा अन्डा र फास्टफुड पनि राखेका छन् । पुर्ख्यौली थलो धनकुटाको पाख्रिबास भएका राई विराटनगरमै जन्मे हुर्केका हुन् । पिता चन्द्रबहादुर र आमा थुप्री राई उहिले विराटनगर झरेका थिए । कक्षा–७ सम्म मात्र पढेका कृष्णबहादुरको मधेसको जीवन संघर्षपूर्ण छ । पछि उनले यहीं तरकारी बेच्न सुरु गरे ।

राईले तरकारी बेच्न थालेको पनि दुई दशक भयो । ‘म सडकछेउमा गुम्तीमा तरकारी राखेर बेच्थेँ, त्यतिखेर यो चोकमा मेरोबाहेक कसैको पनि तरकारी पसल थिएन,’ उनी सम्झन्छन्, ‘अहिले त फुटपाथभरि जताततै तरकारी पसल छन्, कोरोना कहरमा तरकारी बेच्नेहरू धेरै बढे ।’ सार्वजनिक स्थलमा गुम्ती राख्ने ठाउँ नभएपछि उनले १२ वर्षदेखि चोकमा सटर भाडामा लिएर व्यवसाय गरिरहेका छन् । राईले तरकारी व्यवसाय गरेरै दुई छोरीलाई पढाएर बिहेबारीसमेत गराइसके । थोरथोर बचतले सानो घर बनाएर पत्नीसँग बस्छन् ।

पहिरन र सफाइमा सम्झौता नगर्ने कृष्णबहादुरको रेडियोसँग जोडिएको अनुभव गजबको छ । ‘ऊबेलामा रेडियो र क्यासेट प्लेयर राख्नु सान मानिथ्यो, सबैसँग हुँदैन्थ्यो, सहजै सुन्न पाइँदैन्थ्यो,’ उनी भन्छन्, ‘रेडियो र क्यासेट प्लेयर दिने सहमति भएपछि मात्र बिहेको कुरा अघि बढ्थ्यो ।’ कृष्णबहादुरले पनि एक/एक सुको जोडेर किनेको क्यासेट प्लेयरलाई जतनका साथ राखेका छन् ।

‘पुराना हिन्दी/नेपाली चलचित्रका गीत भएका थुप्रै क्यासेट थिए, काम नलाग्ने भएपछि पोहोरको वर्ष फालिदिएँ,’ उनी भन्छन्, ‘अहिले यही क्यासेट प्लेयरमा रेडियो एफएमबाट आउने गीत, समाचार र कुराकानी सुन्छु ।’

प्रकाशित : माघ १८, २०७८ १२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×