१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

जसले सुपारीको सुप्लोबाट थाल-कचौरा बनाउने कारखानाको जग बसाए

पर्वत पोर्तेल

काँकडभिट्टा — देहाती गाउँ बुद्धशान्तिका किसानबाट संकलित सुपारी प्रशोधन गर्दै थिए, ७४ वर्षका नारायणप्रसाद रिजाल । सुपारी प्रशोधन गरी बजार पठाउने र त्यहाँबाट प्राप्त थोरै आम्दानीले उनी खुसी थिए । 

जसले सुपारीको सुप्लोबाट थाल-कचौरा बनाउने कारखानाको जग बसाए

यही सिलसिलामा एक दिन उनले सुपारी खेती विकास संस्थामार्फत दक्षिण भारतको अवलोकन भ्रमणमा जाने मौका पाए । दक्षिण भारतमा पहिलो पटक देखे सुपारीको सुप्लो (पात) बाट बनेका थाल-कचौरा । किसानसहितको टोली नेपाली सुपारीको बजार खोज्दै र दक्षिण भारतले सुपारीबाट गरेको तरक्की अध्ययन गर्न पुग्दा रिजालको ध्यान भने सुप्लोबाट बनेका सामानतिरै मोडियो ।

‘त्यो देखेपछि मेरो ध्यान अन्त गएन’, रिजालले सुनाए, ‘सुप्लोबाट बनेका सामानहरूप्रति मेरो ध्यान केन्द्रित भयो ।’ दक्षिण भारतमा देखेको कुराले उनलाई आफ्नो गाउँमै पनि प्रयोग गर्ने हुटहुटी भयो । अन्ततः १२ लाख भारतीय रुपैयाँ खर्चिएर २०७२ मा थाल–कचौरा बनाउने मेसिन भित्र्याए ।

सुरुका दिनमा सुप्लोको थाल-कचौरा बेच्न उनलाई सकस भयो । उत्पादन सुरु गरे तर उपभोक्ताले किन्न मानेनन् । बरु ‘टपरे रिजाल’ भन्दै खिसीट्यूरी गरे । तर पनि उनले हरेस खाएनन् । लोडसेडिङको चर्को समस्याले उनी थप आजित थिए । मेसिन चलाउन खोजेपछि बत्ती जान्थ्यो’, उनी भन्छन्,‘जेनेरेटर जडान गरेपछि बल्ल समस्याबाट मुक्ति मिल्यो ।’ विद्युतीय समस्याबाट त मुक्ति मिल्यो तर उत्पादित थाल-कचौरा नबिक्ने अर्को समस्या थपियो ।

लगानी उठाउन प्रतिथाल ८ रुपैयाँ र प्रतिकचौरा ५ रुपैयाँमा बेच्नुपर्ने बाध्यता थियो । तर, उपभोक्ताले महँगो भएको भन्दै किन्नै मानेनन् । धेरै त सुपारीको पातबाट पनि थाल कचौरा बन्छ र ! भन्दै छक्क पर्थे । २ वर्षसम्म उत्पादन बिकेन । लगानी मात्रै खेर गयो । ‘उपभोक्ताहरू हेर्दा राम्रो छ भन्थे तर किन्नचाहिँ पटक्कै मान्दैनथे’, उनी थप्छन्,‘उपभोक्ताबाट विश्वास आर्जन गर्नै ३,४ वर्ष लाग्यो ।’

सुप्लोबाट थाल कचौराको अथाह सम्भावना देखेपछि अहिले झापाका केही व्यापारी र किसानले मेसिन झिकाएर उत्पादन गरिरहेका छन्। रिजालको पनि दुई ठाउँमा यसैको उद्योग छ ।

आन्तरिक बजारमा त उत्पादन खपत भएकै छ, तेस्रो देशमा समेत सुप्लोबाट बनेका थाल-कचौराहरू निर्यात भइरहेको छ । जापान, अस्ट्रेलिया, जर्मनी आदि देशमा सुप्लोको थाल-कचौराको माग धेरै रहेको उनी बताउँछन्। ‘अहिले धेरैले डलर कमाइरहेका छन्’, रिजाल थप्छन्, ‘मेरो उत्पादन पनि विदेशबाट माग भएको थियो तर मैले पठाउन सकिनँ ।’

‘सुप्लोबाट थाल–कचौरा बनाउने मेसिन पहिलो पटक भित्र्याउने मान्छे म नै हो’, उनले दाबी गरे, ‘त्यसअघि नेपालमा यो मेसिनै थिएन ।’

मेसिनको सहयोगबाट सुप्लोको थाल-कचौरा बन्न थालेपछि विगत्‌मा बेकारमा खेर जाने सुप्लोबाट थाल-कचौरा बन्ने भएकाले पनि तिनको बिक्रीबाट किसानहरू लाभान्वित छन् । कारखानाले प्रतिगोटा ३ रुपैयाँका दरले सुप्लो किन्दै आएका छन् । धेरै ठूलो सुपारी बगान भएका किसानको त मुख्य आयको माध्यम नै यहि बनेको छ ।

‘सुपारी बहुउपयोगी उत्पादन हो’, उनी भन्छन्, ‘यसको पातदेखि दानासम्म बिक्री हुन्छ ।’ चैतदेखि जेठसम्मका तीन महिनामा सुपारीको सुप्लो संकलन गर्नुपर्ने हुन्छ । संकलित सुप्लोले १२ महिनासम्म उत्पादन धान्छ । अथाह सम्भावना देखेपछि अहिले झापाका केही व्यापारी र किसानले मेसिन झिकाएर थाल-कचौरा उत्पादन गरिरहेका छन् ।

प्रकाशित : फाल्गुन १, २०७८ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?