कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भोटखोलामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्न माग

दीपेन्द्र शाक्य

संखुवासभा — दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जाने सडक हिमपातले अवरुद्ध पारेपछि स्थानीयले हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्न माग गरेका छन् । हिमपातका कारण माघ १९ गतेदेखि भोटखोला जाने सडक अवरुद्ध भएकाले उनीहरूले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्न माग गरेका हुन् । 

भोटखोलामा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गर्न माग

निमित्त प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेका अनुसार हिमपातले सडक अवरुद्ध भएपछि भोटखोलाका किमाथांका, रिदाक, छुम्सुर, थुदामलगायत गाउँमा खाद्यान्न अभाव भएको छ । ४ फिटसम्म हिउँ परेकाले सडक अवरुद्ध भएको छ ।

भोटखोला–१ को किमाथांकामा १ सय १६ घर, वडा नम्बर २ को थुदामका १६ घर, रिदाकका ७७ घर र छुम्सुरका २२ घरपरिवारका लागि खाद्यान्न संकट भएको उनले बताए । घाम नलागेकाले हिउँ पग्लिन पाएको छैन, भोटेले भने, सबै घरभित्रै थुनिएका छन् ।

खाद्यान्न संकट भएका २ सय ३१ घरपरिवारका लागि तत्काल खाद्यान्न उपलब्ध गराउन जिल्ला प्रशासन र गृह मन्त्रालयमा समेत पत्राचार गरिसकेको भोटेले बताए । ‘हिमपातले जनजीवन कष्टकर भएको छ,’ उनले भने, ‘पैदल मार्गबाट तत्काल खाद्यान्न ढुवानी गर्न सकिँदैन ।’ गाउँपालिकाले एक महिनाका लागि चामल, पिठो, तेल, दाललगायत खाद्य सामग्री हेलिकप्टरबाट ढुवानीका लागि आग्रह गरेको हो । लगातारको हिमपातले सदरमुकाम खाँदबारी आउन र चीनतर्फ जाने दुवै सडक अवरुद्ध भएको छ ।

हिमपातले स्थानीयले लगाएको अन्नबालीसमेत पुरिएको छ । भोटखोला क्षेत्रमा हिउँ पर्ने क्रम अझै रोकिएको छैन । कोरोना संक्रमण फैलन सक्ने भन्दै चीनले किमाथांका नाका प्रवेश गर्ने चीनको देन्दाङ र चाँगा बजार २ वर्षदेखि नेपालीका लागि बन्द गरेको छ ।

किमाथांका सदरमुकाम खाँदबारीबाट ४ दिनको पैदल दुरीमा पर्छ । खाद्यान्न समस्या भएका गाउँको विवरण र घरपरिवार संख्याका आधारमा खाद्यान्न ढुवानी गर्न उनीहरूको माग छ । भौगोलिक रुपमा धेरै विकट रहेको भोटखोलामा सञ्चार र यातायातका साधनको पहुँच अझै पनि पुगेको छैन ।

प्रकाशित : माघ २६, २०७८ ११:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?