२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अतिक्रमणमा सार्वजानिक बाटोहरू

शाहीमान राई

भोजपुर — पछिल्लो समय सार्वजानिक बाटोहरू अतिक्रमणमा पर्ने क्रम बढेको छ । बाटो छेउछाउका बासिन्दा र कतिपय सरकारी कार्यालयले नै सार्वजानिक बाटो मास्न थालेका हुन् ।

भोजपुरका अधिकांश ठाउँमा नापी नक्सामा कायम रहेका सार्वजनिक बाटोहरू कब्जा गरी घर बनाउने क्रम बढे पनि स्थानीय प्रशासन, स्थानीय सरकारले संरक्षणका निम्ति चासो दिएका छैनन् ।

सदरमुकामस्थित भोजपुर नगरपालिका वडा नं ७ र १२ को सिमानासँगै नापी नक्सामा रहेको सार्वजनिक बाटो अतिक्रमणमा परेको छ । डाँडागाउँस्थित नापी कार्यालयको बीचमा रहेको सार्वजानिक बाटो बन्द गर्ने प्रयास गरे पनि सरोकारवाला सर्वसाधारणको दबाबपछि नापी कार्यालयले तीन फिटको सार्वजानिक बाटो कायम गर्ने भएको छ ।

आफ्नो जग्गा संरक्षणका निम्ति पर्खाल र घेराबारा लगाउँदा सार्वजनिक बाटो कायम गरेपछि सरोकारवाला खुसी भएका छन् । तर वर्षौंदेखि नापी नक्सामा कायम भई सर्वसाधारण हिँड्ने गरेको भोजपुर र टक्सारको सिमानामा कायम रहेको सार्वजनिक बाटो अतिक्रमणमा परेको भोजपुर डाँडागाउँ पोखरे टोल विकास समितिका अध्यक्ष राजन राईले गुनासो गरे ।

सोही टोलका बासिन्दा गणेश तिमिल्सिना अतिक्रमणमा परेको सार्वजनिक बाटो सरोकारवालाले हिँड्न पाउने गरी नगरपालिकाले खुलाउनु पर्ने र पुनःनिर्माण गर्नुपर्ने माग गर्छन् ।

भोजपुर नगरपालिका –१२ का वडाध्यक्ष कुमार श्रेष्ठले आफ्नो सिमानामा रहेको सार्वजनिक बाटो एक इन्च पनि अतिक्रमण गर्न नदिने बताएका छन् । तर उनकै वडाका बासिन्दाले घर बनाउँदा सिमानाको घोडेटो बाटो कब्जा गरेपछि सार्वजानिक बाटो बन्द भएको छ । सार्वजनिक बाटो अतिक्रमण गरी बनाइएका घरहरू भोजपुर नगरपालिकाले शूल्क असुलेर पास गरेका छन् ।

घर बनाउन लागेका अन्य व्याक्तिले समेत अरुले जस्तै अतिक्रमण गरी घर बनाउन पाउनुपर्ने माग गर्दै सार्वजनिक बाटो अतिक्रमण गरेका छन् । भोजपुर र टक्सारको सँध सिमानामा पर्ने कोष तथा लेखा नियन्त्रण कार्यालय, मालपोत, सरकारी वकिल र नापी कार्यालयसँगै रहेको सार्वजानिक बाटो अतिक्रमणमा परेको हो । आसपासको जग्गा प्लटिङ गर्ने जग्गा दलालले घडेरीसँगै बिक्री गरेकाले सार्वजानिक बाटो मिचेर घर बनाउने गरेका हुन् ।

सार्वजानिक बाटो अतिक्रमण रोक्न गत वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । अख्तियारले चासो देखाएपछि सार्वजानिक बाटो कायम गर्ने प्रतिवद्धतासहित नापी कार्यालयले प्रतिवेदन पठाए पनि भोजपुर नगरपालिकाले चासो दिएन । त्यससँगै नक्सामा भएको बाटो व्यावहारिक रुपमा अतिक्रमणमै रहेकोले डाँडागाउँ टोल सुधार समिति, पोखरे डाँडागाउँ टोल सुधार समिति लगायत सरोकारवालाले यथाशीघ्र सार्वजनिक बाटो कायम गर्न माग गर्दै आएका छन् ।

देवानी संहिता २०७५ को दफा ३०६ मा सरकारी, सार्वजानिक तथा सामुदायिक जग्गा कसैले पनि कब्जा गर्न र घर निर्माण गर्न नहुने व्यावस्था छ । सार्वजनिक जग्गा कब्जा गरी घर बनाउनेमाथि नगद जरीवानासहित कानुनी कारबाही हुने व्यावस्था छ । परापूर्वकालदेखि सर्वसाधारण हिँडडुल गर्दै आएको नापी नक्सामा कायम भएको सार्वजानिक बाटो संरक्षणका निम्ति रकम विनियोजन गर्ने पहल गरे पनि जग्गा दलालको दबाबका कारण सफल हुन नसकेको भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जय बहादुर तामाङले बताए ।

उक्त सार्वजानिक बाटो कायम भए नापी कार्यालय, मालपोत, सरकारी वकिल र कोष तथा लेखा नियन्त्रण कार्यालयमा प्रवेश मार्ग निर्माण गर्न सम्भव हुने समाजसेवी सिर्जना राईले बताइन् । चार वटा सरकारी कार्यालय वरिपरी मोटरेबल बाटो नहुँदा सेवाग्रहीलाई प्रवेश गर्न निकै कठिनाइ छ । सार्वजानिक बाटो संरक्षणका निम्ति सकारात्मक प्रयास गरेको नापी कार्यालय प्रमुख नापी अधिकृत देवकुमार बस्नेतले बताए । पछिल्लो समय सडक विस्तारसँगै सदरमुकाम लगायत विभिन्न स्थानमा सार्वजनिक बाटो, मठ मन्दिर, पाटीपौवा, पोखरी, खेलमैदान लगायत सार्वजनिक महत्वपूर्ण स्थलहरू अतिक्रमणको चपेटामा परेका छन् ।

प्रकाशित : माघ १५, २०७८ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?