कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

देवनारायण साह

मोरङ — प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा भएको छ । प्रदेशमा रिक्त हुन लागेको तीन सदस्यका लागि बुधबार हुने मतदानको तयारी पूरा भएको जिल्ला अदालत मोरङका मुख्य न्यायाधीश तथा निर्वाचन अधिकृत भरत लम्सालले बताए ।

प्रदेश १ मा राष्ट्रिय सभा निर्वाचनको तयारी पूरा

‘बिहान ९ बजेदेखि मतदान सुरु भएर दिउँसो ३ बजे समाप्त हुन्छ,’ उनले भने, ‘राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान गर्न आउने जनप्रतिनिधिहरुले नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र वा निर्वाचित भएको प्रमाणपत्र लिएर आउनु पर्छ ।’

मतदान गर्न आउनेले खोपको दुवै मात्रा लगाएको खोप कार्ड र मास्क लगाएर आउनुपर्ने व्यवस्था गरिएको लम्सालले बताए । उनले कोरोना संक्रमित भएका कोही मतदाता भए छुट्टै मतदानको व्यवस्था गरिएको सुनाए ।

मतदानका लागि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको छ । स्थानीय तहका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्षका लागि प्रदेश निर्वाचन कार्यालय परिसरमा र प्रदेश सांसदहरुका लागि बाली संरक्षण प्रयोगशालामा मतदान केन्द्र तोकिएको हो । मतदान सकिएपछि साँझ ४ बजेसम्ममा मतगणना सुरु गर्ने तयारीसमेत गरिएको लम्सालले बताए । यस प्रदेशको कुल मतभार ९ हजार ३१२ मा सत्तारुढ गठबन्धन दलको ५० जना प्रदेश सांसद र स्थानीय तहका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष १२६ गरी कुल ४ हजार ६६८ मतभार रहेको छ ।

एमालेको प्रदेश सांसद ४१ र स्थानीय तहका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष १४२ गरी कुल मतभार ४ हजार ५२४ रहेको छ । प्रदेश सांसदमध्ये गुलेफुन खातुन उच्च अदालत विराटनगरले किर्ते कागजात मुद्दामा दोषी ठहर गरेदेखि फरार छन् । उनलाई एमालेले ल्याएर मतदान गर्ने तयारी गरेको छ भने जिल्ला प्रहरी कार्यालय मोरङले समात्ने दाउमा रहेको छ ।

यस्तै, राप्रपाकी १ प्रदेश सांसद र स्थानीय तहका प्रमुख/अध्यक्ष/उपप्रमुख/उपाध्यक्ष ४ जना गरी कुल मतभार १२० रहेको छ । यस प्रदेशबाट राष्ट्रिय सभा सदस्य महिलातर्फकी नयनकला ओझा, अपांगतर्फका अगम सिंह बान्तवा र अन्यतर्फका परशुराम मेघी गुरूङको पदावधि सकिन लागेकाले उनीहरूको ठाउँमा राष्ट्रिय सभा सदस्य निर्वाचित गराउन मतदान हुन लागेको हो ।

राष्ट्रिय सभामा तीन सदस्यका लागि भइरहेको निर्वाचनमा प्रदेश १ मा सत्तारुढ गठबन्धन, एमाले र राप्रपाले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गराएका हुन् । सत्तारूढ गठबन्धन दलबाट जनता समाजवादी पार्टीले अल्पसंख्यक/अपांगमा भोजपुरका हेमराज राई थुलुङ, अन्यतर्फ कांग्रेसले झापाका गोपाल बस्नेत र महिलातर्फ नेकपा (एकीकृत समाजवादी)ले भोजपुरकी जयन्ती राई उम्मेदवार छन् ।

यस्तै, एमालेबाट अन्यमा मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अल्पसंख्यक/अपांगमा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पा उम्मेदवार हुन् । राप्रपाका रन्जु प्याकुरेलले महिलामा र अमरबहादुर विष्टले अन्य सदस्यका लागि उम्मेदवार छन् । राप्रपाले आफ्नो उम्मेदवारलाई मात्रै मतदानको निर्णय गरेको छ ।

प्रकाशित : माघ ११, २०७८ १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?