कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बजार छ, सीप सिक्ने छैनन्

कुम्भराज राई

ओखलढुंगा — एक वर्षअघि माटोको भाँडा बनाउने उद्योग खोलेका मोलुङ गाउँपालिका २ ढुस्केका प्रजित राई त्यसको दर्ता प्रक्रियामा छन् । कोरोना कहरले भाँडा बनाउन र बेच्न समस्या भयो । बीचको अवधिमा उत्पादित भाँडा बिक्रीमा खासै समस्या भएन । बजारमा माग बढिरहेको छ ।

उनको उद्योगमा खोटाङ दिक्तेल घर भएका तिलबहादुर श्रेष्ठ र दुर्गाबहादुर श्रेष्ठ दाजुभाइ कामदार छन् । सोलुखुम्बु, खोटाङ र ओखलढुंगामा माटोको भाँडो बनाउने यिनै श्रेष्ठ परिवार मात्रै हुन् । ‘तीन पुस्ता भयो हामीसहित माटोको भाँडा बनाउने ।’ दुर्गाबहादुरले भने, ‘तर हामी अन्तिम पुस्ता हौँ । हाम्रो छोरा नाति कसैले यो सीप सिकेका छैनन् । सिक्न पनि चाहँदैनन् ।’

नजिक कतै पनि उपयुक्त माटो नभेटिएपछि उनले काठमाडौंबाट ढुवानी गरेर भाँडा बनाइरहेका छन् । एक ट्रक माटो ल्याउँदा माटो र ढुवानीको मूल्य एक लाखभन्दा बढी पर्छ । उनीहरूले घैंटो, गमला, दियो, धुपौरो, खुत्रुके, पैंनी, नानी, पाचा, ठेका, लोहोटा जस्ता दर्जनौं किसिमका भाँडा बनाइरहेका छन् । सोलुखुम्बु र ओखलढुंगाका ग्राहकले गरेको माग धान्न नसकेको तिलबहादुर श्रेष्ठले बताए । ‘माग राम्रै छ । हामीले बनाएको भाँडो पोल्न पनि भ्याएका छैनौं,’ तिलबहादुरले भने, ‘यही सीपले हामीले परिवार धान्यौं । तर अचेल सीप सिकाइदिनुस् भनेर कोही आएको थाहा छैन ।’

मोलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकाको सिमानामा पर्ने लिपे खोलामा विगत पाँच महिनादेखि काठको सामग्री बनाइरहेका छन् किरणबहादुर विक । उमेरले ६३ वर्ष पुगेका किरणको घर जिल्लाकै लिखु गाउँपालिका ३ नर्मदेश्वर हो । चार पुस्तादेखि चँदारो पेसा अपनाउँदै आएका उनी रामेछाप, सिन्धुली, काभ्रे, सोलुखुम्बु र जिल्लाभित्रकै विभिन्न भेगमा पुग्छन् । काठको भाँडा बनाउनलाई ।

गत भदौदेखि लिपे खोलामा काठको पंखा र घुम्री भाँडी जोडेर बसेका उनलाई भ्याइनभ्याई छ । उनी ठेकी, कठुवा, हर्पे, दुधेरा, फुरु, टुकुनी लगायतका सामान बनाउँछन् । यी सामान बनाउन दार, रूख कटहर, खमारी वा सांधनको काठ चाहिन्छ । सबैभन्दा उत्तम दारलाई मानिन्छ । बनाएका सामग्रीमध्ये सबैभन्दा बढी माग कठुवाको छ । कठुवा जनजाति समुदायमा बिहे कार्यलगायत रक्सी बोक्ने काममा प्रयोग गरिन्छ । ‘कठुवा त सिंगापुर, बेलायत, अमेरिकासम्म पुग्ने गर्छ,’ किरण भन्छन्, ‘पहिले चँदारो पेसा गर्ने धेरै थिए । त्यसैले माग कम थियो । अहिले जिल्लामै तीन जना मात्रै छौं, माग पनि बढेको छ ।’ उनको साहिँला छोराले मात्र यो सीप सिकेका छन् । तिलकबहादुर र दुर्गाकै झैं अब चँदारो सीप सिक्ने पुस्ता सकिने डर छ । जिल्लामा घरेलु तथा साना उद्योग विकास समिति, सीप विकास कार्यालयलगायत सरकारी कार्यालयले सीपका काम सिकाउँछन् ।

प्रकाशित : माघ ९, २०७८ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?