कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोमा ज्यान गुमाएका २९ जनाको परिवारलाई राहत

लक्ष्मी गौतम

पाँचथर — कात्तिकको पहिलो सातामा गएको बाढीपहिरोमा ज्यान गुमाएका पाँचथरका २९ जनाको परिवारलाई संघीय सरकारले राहत स्वरुप ४९ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

सरकारले जिल्ला प्रशासन कार्यालय पाँचथर मार्फत् ती परिवारलाई एकामुष्ट राहत रकम उपलब्ध गराएको हो । पहिरोमा ५ जना आफन्त गुमाएको एउटा परिवारलाई ७ लाख सहित २ जना गुमाएका ४ परिवारलाई २ लाख र १ जनाका दरले ज्यान गुमाएका २० परिवारलाई २ लाखका दरले राहत रकम उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

उनका अनुसार संघीय सरकार मन्त्रिपरिषद्‍को बैठकले बाढीपहिरोमा ज्यान गुमाउनेका परिवारलाई २ लाख र एकभन्दा धेरैको ज्यान गएको भए प्रतिव्यक्ति थप एक लाखका दरले राहत दिने निर्णय गरेको थियो ।

बाढीपहिरोमा परेर मिक्लाजोङ, फाल्गुनन्द र कुम्मायक गाउँपालिकासँगै फिदिम नगरपालिकाका ३१ जनाको ज्यान जानुका साथै मिक्लाजुङकै ३ जना बेपत्ता भएका थिए ।

बेपत्ता ३ र मृतक २ जनाको भने प्रक्रिया पुगेर कागजात आउन बाँकी रहेकाले भुक्तानी गर्न ढिलाइ भएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

बाढीपहिरोमा ५ सयभन्दा धेरै घर भत्किएका थिए भने सयौं विगाहा जमिनमा लगाइएको बालीनालीमा क्षति पुगेको थियो। यद्यपि बालीमा पुगेको क्षतिको यकिन विवरण भने अझै संकलन भइनसकेको कार्यालयले जनाएको छ ।

बाढीपहिरो लगत्तै स्थलगत भ्रमणमा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले मृतकका परिवारलाई राहत र पहिरो प्रभावितलाई क्षतिपुर्तिसँगै जोखिममा परेकाहरूलाई तत्काल पुनर्स्थापनाको व्यवस्था गर्ने आश्वासन दिएका थिए ।

प्रकाशित : माघ ५, २०७८ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?