कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बढी जनघनत्व भएको मोरङमा सबभन्दा कमलाई खोप

कोरोनाको तेस्रो कहरमा सबभन्दा बढी ४९ दशमलव ३९ प्रतिशत सक्रीय संक्रमित पनि यहीं नै
देवनारायण साह

मोरङ — प्रदेश १ को १४ वटा जिल्लामध्ये सबभन्दा बढी जनघनत्वका साथै प्रदेशको राजधानीसमेत रहेको मोरङमा सबभन्दा कमलाई खोप लगाइएको छ । कोरोनाको तेस्रो भेरिएन्टमा सबभन्दा बढी ४९ दशमलव ३९ प्रतिशत सक्रिय संक्रमित भएको मोरङमा ४५ दशमलव ७ प्रतिशतलाई मात्रै कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाइएको छ ।

बढी जनघनत्व भएको मोरङमा सबभन्दा कमलाई खोप

खोपको दुवै मात्रा बढी लगाइएका जिल्लामा संक्रमितको संख्या न्यून देखिएको हो ।

१४ जिल्लामध्ये सबभन्दा बढी ७७ दशमलव ९ प्रतिशतलाई दुवै मात्रा खोप लगाइएको संखुवासभामा ५ जना मात्रै संक्रमित रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकले जनाएको छ । ६९ दशमलव ८ प्रतिशत खोप लगाइएको ओखलढुंगामा २ जना मात्रै संक्रमित छन् । यसअघि पहिलो र दोस्रो भेरिएन्टमा कोरोनाको ‘हटस्पट’ भएको झापामा ६६ दशमलव ७ प्रतिशत खोप लगाइएकाले अहिले प्रदेशभरि रहेको संक्रमितको १४ दशमलव ४७ प्रतिशत अर्थात् ५३८ जना मात्रै सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

भारतसँग सिमाना जोडिएको, औद्योगिक क्षेत्र र अन्य जिल्लाबाट अध्ययनका लागि आउने विद्यार्थीहरूको ओहोरदोहोर नियमित भइरहेको मोरङमा बुधबारसम्ममा सक्रिय संक्रमितको संख्य १ हजार ८३७ पुगेको छ । प्रदेशभरिमा कुल सक्रिय संक्रमितको संख्या ३ हजार ७१९ रहेको मन्त्रालयको तथ्यांकले जनाएको छ ।

यस प्रदेशको कुल जनसंख्या ४९ लाख ९५ हजार १६२ मध्ये २२ प्रतिशत अर्थात् ११ लाख ८ हजार ६८५ जनसंख्या मोरङमा रहेको छ । प्रदेशभरि १८ वर्षमाथिका खोप लगाउने लक्षित जनसंख्या ३२ लाख ७५ हजार ८६६ मध्ये २२ प्रतिशत अर्थात् ७ लाख २७ हजार ८४ जनामध्ये दुवै मात्रा खोप ३ लाख ३२ हजार २४५ जनालाई मात्रै लगाइएको मन्त्रालयले जनाएको छ । मोरङमा बुधबारसम्म पहिलो मात्रा खोप ८५ प्रतिशत अर्थात् ६ लाख १७ हजार ७१९ जनालाई लगाइएको छ ।

प्रदेशभरि १२ देखि १७ वर्ष उमेर समूहका खोप लगाउने लक्षित जनसंख्या ४ लाख ६९४ जना रहेकोमध्ये मोरङमा १ लाख २५ हजार १५ जना छन् । जसमध्ये १ हजार ७३ जनालाई मात्रै पहिलो मात्रा खोप लगाइएको छ ।

खोप अभियानलाई तीव्रता दिने उद्देश्यले आइतबार विराटनगर आएका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले एक करोड डोज खोप भण्डारण रहेको र खोपको अभाव नभएको बताएका थिए । उनले तिथिमिति तोकेर कार्ययोजना बनाई खोप अभियानलाई तीव्रता दिन प्रदेश सरकारलाई आग्रह गरेका थिए । तर खोप अभावमा विराटनगरस्थित खोप केन्द्रहरूबाट खोप लगाउन गएका सर्वसाधारण रित्तै हात फर्किन बाध्य छन् । विराटनगर ४ की ३८ वर्षीया सुनिता रायले कञ्चनबारी खोप केन्द्रमा ४ घण्टा लाइन बसेपछि स्वास्थ्यकर्मीले खोप सकिएको भन्दै फर्काइदिएका थिए ।

यस्तै, सामाजिक विकासमन्त्री जयराम यादवको आफ्नै वडामा पनि खोप लगाउन गएका सर्वसाधारणले खोप अभावमा रित्तै फर्किएको गुनासो पोखे । स्वास्थ्य कार्यालय मोरङका प्रमुख सुरेश मेहताका अनुसार सरकारले समयमा खोप उपलब्ध नगराएकाले खोप लगाउनेको संख्या प्रदेशभरिमा नै सबभन्दा कम भएको जिल्लामा मोरङ परेको छ । ‘संघीय सरकारले पठाएको खोप प्रदेश सरकारले अन्य जिल्लामा वितरण गरे पनि मोरङलाई नदिएकाले यस्तो अवस्था सिर्जना भएको छ,’ उनले भने, ‘पुसमा खोप प्राप्त भएपछि पहिलो मात्रा खोप प्रदेशभर सबभन्दा बढी ८५ प्रतिशत लक्षित जनसंख्यामा लगाइसकेका छौं ।’ अहिले दिएको ५० हजार खोप धमाधम लगाइरहेकाले यसको प्रतिफल माघपछि मात्रै देखिने मेहताको भनाइ छ । उनले १२ देखि १७ वर्ष उमेर समूह र बुस्टर डोज प्रदान गर्नका लागि समेत सरकारले खोप उपलब्ध नगराइदिएको गुनासो पोखे ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले मोरङलाई प्राथमिकतामा राखेर खोप वितरण गरिनुपर्नेमा त्यसरी व्यवस्थापन गर्न नसकिएकाले यस्तो अवस्था सिर्जना भएको बताए । उनले अब खोपलाई व्यवस्थित तरिकाले समानुपातिक वितरण गरिने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए । ‘खोप अभावमा प्रदेशस्थित सुनसरी, मोरङ र झापा जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप सेवा प्रदान गर्न सकेका छैनौं,’ उनले भने, ‘खोप अभावका कारण प्रदेशमा बुस्टर डोज खोप लगाउनसमेत सुरुवात गर्न सकेका छैनौं ।’

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र विराटनगरको तथ्यांक अनुसार हालसम्ममा कोभिसिल्ड ७ लाख ४३ हजार ८९० आएकोमध्ये ५ लाख ८५ हजार १९० वितरण गरिएको र १ लाख ८५ हजार ७ सय मौजदात रहेको छ । भेरोसेल २८ लाख ५६ हजार ३४६, अस्ट्राजेनिका ५ लाख ८० हजार ८ सय र मोडर्ना २ लाख ३४ हजार आएकोमध्ये सबै वितरण भइसकेको आपूर्ति केन्द्रका खोप शाखा प्रमुख चन्द्रकान्त ठाकुरले बताए । दुई मात्रा लगाउने कूल ४४ लाख १५ हजार ३६ डोज खोप आएकोमध्ये ४२ लाख ५५ ३३६ डोज वितरण भइसकेको उनले सुनाए ।

जोनसन एन्ड जोनसन ५ लाख ८८ हजारमध्ये ४ लाख ६५ हजार ९५० वितरण भएको र १ लाख २२ हजार ५० बाँकी रहेको उनले बताए ।

सामाजिक विकास मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पोखरेलले खोप अभाव भएकाले खोप सेवा प्रभावकारी नभएको तर माघ ८ गतेसम्ममा संघीय सरकारले खोप पठाउने तयारी गरेको सूचना आएको बताए । उनले खोप आउनेबित्तिकै १२ देखि १७ वर्ष उमेर समूहका साथै बुस्टर डोज प्रदान गरिने बताए ।

प्रकाशित : माघ ५, २०७८ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?