कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोसी अस्पतालका थप ८ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

विराटनगर — कोसी अस्पतालमा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या थपिँदै छ । सोमबारको पीसीआर रिपोर्टमा ४ चिकित्सकसहित थप ८ स्वास्थ्यकर्मी संक्रमित देखिएको अस्पतालका सूचना अधिकारी मञ्जु यादवले बताइन् ।

कोसी अस्पतालका थप ८ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

यसअघि अस्पतालका ३ चिकित्सकसहित २७ मा संक्रमणको पुष्टि भइसकेको छ । उक्त अस्पतालमा १ सय ५ चिकित्सक, १ सय ४१ नर्सिङ स्टाफ र ६० प्राविधिकसहित ५ सय १६ कर्मचारी कार्यरत छन् । यहाँका न्युरो अस्पताल र नोबेल अस्पतालका चिकित्सक र कर्मचारी पनि संक्रमित बनेका छन् ।

पीसीआर प्रयोगशाला भएका, कोभिड–१९ का बिरामीको उपचारमा संलग्न र संलग्न नरहेका अन्य स्वास्थ्य संस्थामा समेत ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।

विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्र, विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत प्रदेशका ३१ अस्पतालले संक्रमितको उपचार गर्दै छ । चार सरकारीलगायत ९ बढी पीसीआर प्रयोगशाला प्रदेशमा सञ्चालित छ । निर्देशक बस्नेतले निर्देशनालयको सूचना व्यवस्थापन एकाइ हेर्ने कर्मचारीलाई यससम्बन्धी तथ्यांक संकलन गर्ने जिम्मेवारी दिएको बताए ।

‘तथ्यांक अपडेट गर्दै छन्, अस्पतालभित्रको वास्तविक संक्रमितको संख्या निकाल्दै छौं,’ उनले भने । दिनहुँ बिरामीको बढी चाप हुने सरकारी र निजी अस्पतालका स्वास्थ्यकर्मी एवं प्रयोगशालाकर्मी बढी संक्रमित भइरहेको निर्देशक बस्नेतले बताए । उनले प्रदेशभरका सबै अस्पतालहरूलाई संक्रमित चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको संख्या, उनीहरूको अवस्था र यसबाट सेवा प्रवाहमा पारेको असरबारे जानकारी दिन आग्रह गरेको बताए ।

प्रकाशित : माघ ४, २०७८ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?