कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिरिजंगा लिपिको नाम परिवर्तनप्रति असन्तुष्टि

सुनसरी — युमा साम्यो महासभामा आबद्ध याक्थुङ लिम्बू समुदायले परम्परागत सिरिजंगा लिपिमा थप अक्षरहरू थपेर किराँत लिपि नामकरण गर्न लागिएकामा सम्बन्धितले त्यसमा असन्तुष्टि जनाउँदै पूर्ववत् नाम नै राख्न माग गरेका छन् ।

सिरिजंगा लिपिको नाम परिवर्तनप्रति असन्तुष्टि

धरानमा आइतबार पत्रकार सम्मेलन गर्दै मुन्धुमविद् तथा युमा साम्यो महासभाका सल्लाहकारसमेत रहेका लालीगुराँस नगरपालिकाका प्रमुख अजुर्नबाबु माबुहाङले भने, ‘याक्थुङ चुम्लुङलगायत किराँतजन्य संघसंस्था भनिएकाबाट सहिद सिरिजंगाको त्याग र बलिदानले सुरुवात भएको किराँत सिरिजंगा लिपिका नाममा समायोजन तथा नामकरण गर्ने भन्ने निर्णयप्रति याक्थुङ–लिम्बूहरू घोर आपत्ति प्रकट गर्दछौं ।’

उनले सिरिजंगा लिपिका बारेमा विभिन्न अभिलेख, लिखत तथा अभ्यासहरूमा सिरिजंगाको सम्मान गर्दै उनकै नामबाट लिपिको नाम राख्न उपयुक्त र सर्वस्वीकार्य हुने भएकाले नामको अघि–पछि कुनै फुर्का र शब्दावली आवश्यक नरहेको बताए । उनले भने, ‘लिपिका अन्वेषक, प्रचारक तथा प्रवर्द्धक सहिद सिरिजंगाको योगदानलाई उच्च कदर गर्दै उनले चलाएको लिपिलाई सिरिजंगा लिपिबाहेक अरू कुनै नामले नामकरण गर्न अनुचित छ । किराँत लिपि नामकरण गर्दा उनको शहादतको अपमान हुन जान्छ ।’

माबुहांगले ‘किराँत सिरिजंगा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदन’ मा थपिएका स्वर र व्यञ्जन वर्णहरूप्रति असहमति जाहेर गर्दै भने, ‘ती अक्षरहरू लेखन तथा पठनपाठन प्रक्रियामा अनुपयुक्त मात्रै होइन, पूर्ण असान्दर्भिक छ । यसरी सिरिजंगाले दिएको बलिदानीपूर्ण उच्च योगदानको मर्म र भावनाविपरीत राख्न लागिएको किराँत सिरिजंगा नामकरण अनुपयुक्त हो ।’

इतिहासअनुसार याक्थुङ मुन्धुममा लिखित रूपमा प्रयोग भएको सिरिजंगा लिपिका प्रवर्तक सिरिजंगाको १८ औं शताब्दीको उत्तरार्द्धमा सिङ थेबे लिम्बू परिवारमा वर्तमान ताप्लेजुङ जिल्लाको सिनाम–तेल्लोकमा भएको थियो । स्थानीय जानकारका अनुसार सिरिजंगाको बाबु पारुजंगा र आमा पुःधाहाङ्मा थिए ।

प्रकाशित : माघ ३, २०७८ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?