कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वर्षाको पानी हिउँदमा पिउँदै

बोतलमा जम्मा गरेको पानी फारू गर्दा पनि हिउँदमा जेनतेन ३ महिना, अरु समय सास्ती

धनकुटा — बोतल आँगनभरि देख्दा सजावटका लागि राखिएको झैं लाग्छ । तर त्यसो भने होइन । खानेपानीको चरम समस्या भोग्दै आएका धनकुटाको साँगुरीगढी–५ र मोरङको केराबारी-१ सीमावर्ती थामडाँडाका स्थानीयले हिउँदका लागि जोहो गर्न वर्षाको पानी भर्न त्यसरी राखेका हुन् ।

वर्षाको पानी हिउँदमा पिउँदै

डेढ घण्टा टाढा टुनीबोट मुहानबाट बोकेर पानी ल्याउनु पर्ने बाध्यता यहाँका स्थानीयमा छ । टाढाको जरुवाबाट पानी ल्याउनु भन्दा वर्षाको पानीलाई बोतलमा भण्डारण गरी हिउँदभरि उपभोग गर्न सहज भएपछि स्थानीय त्यसतर्फ आकर्षित भएका हुन् ।

‘बोतलको पानी घाममा राख्दा शुद्धीकरण हुन्छ भन्ने सुनेर यसो गरेको हुँ,’ स्थानीय मोहन राईले भने, ‘केही वर्षदेखि यसरी नै पानीको जोहो गर्दै आएका छौं ।’ पानी राख्ने खाली बोतल केराबारी र डाँडाबजारबाट किनेर ल्याउने गरेको उनले बताए । त्यसमा भरेर राखिएको पानी सरसफाइ र सिँचाइको लागि पनि प्रयोग गर्दै आएका छन् । राईले बोतलमा पानी जम्मा गरेर प्रयोग गर्न थालेपछि अरुले पनि सिको गरेका हुन् । वर्षौंदेखि आफूहरूले भोग्दै आएको समस्या जनप्रतिनिधीलाई सुनाउँदै आए पनि खानेपानीको लागि सुनुवाइ नभएको स्थानीय सृजन राईले बताए ।

त्यस क्षेत्रका २ सय ४० परिवारले खानेपानीको चरम समस्या भोगेका छन् । पछिल्लो समय टुनीबोट मुहानबाट पानी ल्याएर जम्मा गर्ने ट्यांकी निर्माण गर्ने भनिए पनि ढिलाई भएको स्थानीयको भनाइ छ ।

स्थानीय ओखरघेरो र टुनीबोट मुहानको पानी जम्मा गरेर व्यवस्थित गर्न सकिए पानीको समस्या समाधान हुन सक्ने दावी स्थानीयको छ । बिहान सबेरैदेखि पानीको बन्दोबस्त गर्न आफुहरूलाई चिन्ता लाग्ने विमला मगर बताउँछिन् । ‘बोतलमा जम्मा गरेको पानी फारु गर्दा पनि हिउँदमा जेनतेन ३ महिना काम चलाउँछौं’, मगरले भनिन्, ‘अरु समय सास्ती खेप्नुपर्छ ।’

प्रकाशित : माघ २, २०७८ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?