कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चिकित्सा विद्यार्थीको आन्दोलन जारी, मत्थर पार्न नोबेलका प्रतिनिधि नेता गुहार्दै

मोरङ — अतिरिक्त शुल्क नबुझाएको भन्दै एमबीबीएसका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा पीडितले शुक्रबार पनि आन्दोलन जारी राखेका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठन अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा आन्दोलन जारी छ ।

चिकित्सा विद्यार्थीको आन्दोलन जारी, मत्थर पार्न नोबेलका प्रतिनिधि नेता गुहार्दै

पीडित विद्यार्थीले रिले अनशनसँगै प्रदर्शन, नाराबाजी गरेर दैनिक विरोध गर्दै आएका छन् ।

कलेज सञ्चालक सुनिल शर्माका दाइ खगेन्द्रप्रसाद न्यौपाने र कलेजका जनसम्पर्क अधिकृत नारायण दाहालले मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीसहितका मन्त्री, मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, जिल्ला प्रहरी मोरङ प्रमुख जनार्दन जिसीलगायत स्थानीय राजनीतिक दल र विद्यार्थी संगठनका नेतासँग आन्दोलन मत्थर पार्न अनौपचारिक वार्ता सुरु गरेका छन् ।

आन्दोलन मत्थर पार्नका लागि न्यौपाने र दाहालले आन्दोलनरत विद्यार्थी संगठनका नेताहरुलाई छुट्टाछुट्टै भेटेर आन्दोलनरत विद्यार्थी संगठनका नेताहरुले पैसा लिएर मिल्न खोजेको भ्रम छर्दै विभाजनको नीति अपनाएको बताइएको छ । आन्दोलनरत एक विद्यार्थी संगठनका नेताले न्यौपाने र शर्माले आफूसँग भेटेर आन्दोलनरत अन्य विद्यार्थी संगठनले पैसा लिएर मिल्न खोजेकोले चाँडै वार्ता गरेर आन्दोलन टुंग्याउन आफूलाई दबाब दिएको बताए ।

‘सुरुमा आन्दोलनरत विद्यार्थी संगठनबीच नै विभाजन ल्याएर आन्दोलन मत्थर पार्ने दुवै जनाको रणनीति बुझेपछि अभिभावक र विद्यार्थीको माग चाँडै पूरा नभए अबको आन्दोलन हिंसात्मक हुने चेतावनी दियौं,’ उनले भने, ‘त्यसपछि दुवै पक्ष विनम्रतापूर्वक वार्ताका लागि पहल गर्ने गरी अनौपचारिक वार्ता भयो ।’ आन्दोलनका क्रममा विद्यार्थी नेताहरुमाथि सुरक्षा गार्डद्वारा भएको आक्रमणको घटनाप्रति दुवै जनाले क्षमायाचना गरेको उनले सुनाए ।

अभिभावक र विद्यार्थीहरुले उठाएको मागहरुमध्ये होस्टलबाहेकका सबै माग पूरा गर्न न्यौपाने र दाहाल तयार रहेको तर आफूहरुले होस्टेल ऐच्छिक हुनैपर्ने अडान राखेको ती विद्यार्थी नेताले बताए । होस्टलमा कलेजका इन्टरनेसनल डाइरेक्टर निरञ्जन यादवको लगानी रहेकाले होस्टलमा विद्यार्थी अनिवार्य बस्नै पर्ने दुवै जनाको अडान देखिएको उनले सुनाए । इन्टरनेसनल डाइरेक्टर यादवले विद्यार्थी र अभिभावकलाई भेटेर एक वर्षका लागि भए पनि होस्टलमा बस्ने गरी फकाउन थालेको एक अभिभावकले बताए । तर अभिभावक, विद्यार्थी र आन्दोलनरत विद्यार्थी संगठनले कलेज प्रशासनले भारतीय, छात्रवृत्ति र अतिरिक्त शुल्क तिरेका विद्यार्थीको अनलाइन कक्षा स्थगित गरेर प्रजिअ दाहालको उपस्थितिमा वार्ता भएर सबै माग पूरा गर्ने लिखित सहमति हुनुपर्ने सुनाए ।

कलेजका जनसम्पर्क अधिकृत दाहालले अब चाँडै विद्यार्थीको माग सम्बोधन गरेर आन्दोलन अन्त्य हुने दाबी गरे । उनले विद्यार्थीको समस्या समाधानका लागि वार्ताको वातावरण बनाउन पहल गरिरहेको बताए । कलेजले चिकित्सा शिक्षा आयोगले तोकेभन्दा विपरीत पठनपाठन सुरु नै नगरी ४ लाख ८२ हजार अतिरिक्त शुल्क बुझाउन दबाब दिएपछि अभिभावक तथा विद्यार्थीले संघर्ष गर्दै आएका छन् । तर हालसम्म कुनै सुनुवाइ हुन सकेको छैन । चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि कुल ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार रुपैया अभिभावकले बुझाइसकेका छन् । तर कलेज सञ्चालक सुनिल शर्मा अतिरिक्त २० लाख शुल्क बुझाउने सम्झौतापत्रमा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडानमा रहेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङको निर्देशनमा पुस ११ गतेदेखि पठनपाठन सञ्चालन गरेको कलेज प्रशासनले अतिरिक्त शुल्क नबुझाएको भन्दै पुस १४ गतेदेखि पठनपाठनमा रोक लगाएको छ ।

कलेजमा रहेको एक सय विद्यार्थीको कोटामा भर्ना भएका ९६ विद्यार्थीमध्ये नौ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई पढाइरहेको तर आफूहरूलाई अतिरिक्त शुल्क नबुझाएको भन्दै कलेज प्रवेशमा नै रोक लगाएकाले आन्दोलनलाई निरन्तरता दिएको पीडित विद्यार्थीहरूले गुनासो पोखे ।

प्रकाशित : पुस ३०, २०७८ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?