प्रदेश १ मा ३ सय २४ संक्रमित थपिए, अस्पताल भर्ना हुनेको संख्या पनि बढ्यो

विराटनगर — प्रदेश १ मा शुक्रबार एकै दिन १ सय ७० पुरुषसहित ३ सय २४ जना संक्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये आधाभन्दा बढी विराटनगरका छन् । बुधबार र बिहीबार सार्वजनिक रिपोर्टमा ४ सय ८३ संक्रमितमध्ये २ सय ३३ जना (४८.२४) प्रतिशत विराटनगरकै थिए ।

प्रदेश १ मा ३ सय २४ संक्रमित थपिए, अस्पताल भर्ना हुनेको संख्या पनि बढ्यो

शुक्रबार थपिएकामध्ये १ सय ६४ विराटनगरका, बाँकी २२ मोरङका विभिन्न गाउँनगरका, ४५ झापाका, ६८ सुनसरीका, ७ जना प्रदेशका विभिन्न जिल्ला र १८ जना प्रदेश १ मा बस्ने बाहिरी जिल्लाका छन् । प्रदेशमा ७ सय ४३ को परीक्षण हुँदा ३ सय २४ (४३.६० प्रतिशत) संक्रमित देखिएका हुन् ।

मन्त्रालयका अनुसार शुक्रबार प्रदेशका विभिन्न अस्पतालमा उपचार गराइरहेका २९ संक्रमितमध्ये २ जना जेनरल बेडमा, १७ आईसीयूमा, ६ भेन्टिलेटरमा र ४ एचडीयू बेडमा छन् । यो संख्या बिहीबारसम्म १६ जनामा सिमित थियो । प्रदेशका विभिन्न अस्पतालहरूमा सबै खाले गरी संक्रमितका लागि ९ सय ८० बेडको व्यवस्था रहेको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा होम आइसोलेसनमा रहेकाको संख्या बढेर शुक्रबार १ हजार १ सय १४ पुगेको छ । बिहीबारसम्म यो संख्या ८ सय २२ थियो । यस्तै मन्त्रालयद्वारा शुक्रबार सार्वजनिक एन्टिजेन परीक्षणको रिपोर्टमा ३ सय ३ मध्ये ५५ जना संक्रमित देखिएका छन् । मन्त्रालयको बुधबार र बिहीबारको प्रतिवेदनमा प्रदेशभर ५ सय ७४ जनाको एन्टिजेन परीक्षण हुँदा ८१ संक्रमित देखिएका थिए ।

प्रकाशित : पुस ३०, २०७८ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?